माओवादी कार्यकर्ता हतियारसहित पक्राउ

माओवादी कार्यकर्ता हतियारसहित पक्राउ

मतदाताहरुलाई पैसा बाँड्दै गरेको आरोपमा रुकुम पश्चिमबाट नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु हतियारसहित पक्राउ परेका छन् ।

चौरजहारी नगरपालिका १०, खोलागाउँबाट गएराति पैसा बाँडेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रहेका वीरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात रोका छन् ।

निजहरुको साथबाट दुई थान खुकुरीसमेत बरामद भएको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।

माओवादी कार्यकर्ताले पैसा बाँडेको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइन्छ । प्रहरी चौकी सर्केनाबाट खटिएको टोलीले काँग्रेस कार्यकर्ताहरुले घरभित्र थुनेर राखेको अवस्थामा हतियारसहित माओवादी कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका थिए । घाइते भएकामा नेपाली काँग्रेसका डिल्ली केसी,लालवीर ओली र डायमन केसी हुन् । डिल्लीको टाउकोमा, बाँया हातमा र गोडामा चोट लागेको बताइएको छ ।

त्यसैगरी माओवादीका तुलसीराम बुढा र जुध्दबहादुर घर्ती पनि घाइते भएका छन् । उनीहरु दुवै जनाको टाउकोमा चोट लागेको छ ।

घाइते पाँचै जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू