विद्यार्थीले अब वर्षभरि ३० दिन मात्र बिदा पाउने

विद्यार्थीले अब वर्षभरि ३० दिन मात्र बिदा पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र व्यवस्थापन गर्न अधिकतम ३० दिन मात्र बिदा दिने भएको छ । सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे, वर्षे र अन्य बिदा कटौती गरी अधिकतम ३० दिन बिदा दिन लागिएको हो ।

विद्यालयले एकैपटक वा पटक पटक गरी बिदा दिन सक्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेर शिक्षण संस्थामा हुने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ सहजीकरण गर्न आग्रह गरेको हो ।

केन्द्रले सबै विद्यालयमा एकरुपता ल्याउन साविकबमोजिम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्न भनेको छ । त्यसैगरी, शुक्रबारको दिन पनि ४ बजेसम्म पठनपाठन गराउन भनिएको छ । यसअघि शुक्रबार १ बजेसम्म विद्यालय सञ्चालन हुन्थ्यो ।राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७६ ले निर्दिष्ट गरेबमोजिमको पाठ्यघण्टा र कार्यघण्टा नघट्ने गरी कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई सुसूचितसमेत गराइएको छ । विद्यालयहरुले सोहीबमोजिम वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ । गत सोमबारको मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको भनिएको छ ।

टिप्पणीहरू