गठबन्धनका गलफत्ती र सम्भावनाका खेल

गठबन्धनका गलफत्ती र सम्भावनाका खेल

पाँचदलीय गठबन्धनभित्र पनि मुख्यतः तीन वटा दलबीचको हानाथापका कारण देशका सम्पूर्ण स्थानीय तहमा भनिएजस्तो गठबन्धन हुन सकेन । जहाँ–जहाँ गठबन्धन भएन, त्यहाँ–त्यहाँ पनि पाँचमध्येका दलहरु प्रायः एक्लैएक्लै चुनावमा छैनन् । तर, एमाले भने धेरैजसो ठाउँमा एक्लै भिड्दै छ ।

महानगर र उपमहानगर प्रमुख–उपप्रमुखको हकमा केन्द्रीय तहबाट टुंगिएका भागबण्डाबाहेक अन्यत्र कुरा नमिल्दा एमाले जति पातलिन्छ भन्ने अनुमान गरिएको थियो, परिणाम त्यसविपरित आउने अनुमान गरिएको छ । एमालेलाई परास्त गर्नका लागि त्यही पार्टीबाट विभाजित भएर आएको एकीकृत समाजवादीलाई दिइने भनिएको उम्मेदवारी धेरैजसो ठाउँमा कांग्रेस र माओवादीले बाँडिचुँडी लिएका छन् ।

उनीहरुले समाजवादीलाई ‘फड्के किनाराको साक्षी’ बनाएर एमाले हराउने उद्देश्य राखेको भनिए पनि कतिपय ठाउँमा ब्याक फायर हुने खतरा बढेको छ । समाजवादीतर्फ सनाखत गरेका पूर्वएमालेका जनप्रतिनिधिहरु जो–जो, जहाँ–जहाँ, जुन–जुन पदमा छन्, उनीहरुलाई उठाउने सहमति गठबन्धनका दलबीच निर्वाचनपूर्व बनेको बताइन्छ ।

तर, मनोनयन दर्ता गर्ने दिनसम्म पुग्दा समाजवादीतिर सनाखत भएका जनप्रतिनिधिले त्यसरी गठबन्धनको तर्फबाट उम्मेदवारी नपाएपछि गुनासो र सार्वजनिक आरोप–प्रत्यारोप सुन्न पाइन्छ । फलतः देशभरि गठबन्धनका नाममा कतै कांग्रेस–माओवादी, कतै समाजवादी–माओवादी, अनि धेरै ठाउँमा यी तीनै दल एक्लाएक्लै प्रतिस्पर्धा गर्दै छन् ।

गठबन्धनले समाजवादीलाई पोखरा र हेटौंडाको मेयर, काठमाडौं, इटहरी, बुटवल र तुलसीपुरको उपमेयर दिएको छ । ऊसँग अहिले पनि ६५–६६ स्थानीय तहमा मेयर, उपमेयर छन् । गठबन्धनमा पार्टी अध्यक्षको निर्वाचन क्षेत्र भनेर जम्माजम्मी काठमाडौंको शंकरापुरमा मेयर दिइएको छ । तर, मुख्य–मुख्य पालिकाका वडाहरुमा कहीँ पनि गठबन्धन हुन सकेन ।

देशभरि अहिले एमालेका २ सय ९४ पालिका प्रमुख छन् । गठबन्धन नै नभएको भए पनि एमालेको एउटा शक्ति बाहिरिएका कारण ऊ यसचोटिको परिणाममा पातलिने कुरा त भइहाल्यो । तर, कांग्रेस र माओवादीले कतिपय ठाउँमा इच्छा गरेबमोजिमका ‘खान्की’ नभेट्ने खतरा छ भनिन्छ ।

कारण हो, कांग्रेस र माओवादीको पेलानमा परेर उपत्यकाबाहिर कतिपय स्थानीय तहका समाजवादीहरु एमालेसँग गठबन्धन गरिरहेका छन् । ‘प्रतिगमन त केपी ओलीले काठमाडौंमा पो गरेको त, यहाँ गरेको छैन’ भन्दै कतिपय एमाले र समाजवादीको गला मिलिरहेको रमाइलो ठाउँठाउँमा देखिन्छ ।

यसका बाबजुद पनि कांग्रेसले निर्वाचन परिणाममा सुधार ल्याउने स्थिति छ । बिनासहमति उम्मदेवारी दिएर सहयात्रीहरुलाई बिच्क्याएको माओवादीले ‘ठूलो भाग’ खोज्दा ‘पोल्टा’ कै गुमाउने खतरा बढेको छ । यो निर्वाचनमा जसपाले परिणाम स्थीर राख्ने र ऊबाट विभाजित लोसपा निक्कै तल पर्ने सम्भावना छ ।

एकीकृत समाजवादीले महानगर र उपमहानगरमा गठबन्धनबाट पाएजति सीटमा मात्रै जित्यो भने पनि एमालेका निम्ति निक्कै ठूलो क्षति हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

टिप्पणीहरू