रोल्पा,रुकुममा जनयुद्धकालिन झडपको पुनरावृत्ति,धमाधम पक्राउ

रोल्पा,रुकुममा जनयुद्धकालिन झडपको पुनरावृत्ति,धमाधम पक्राउ

रोल्पा र रूकुममा माओवादी कार्यकर्ताले काँग्रेसमाथि खुकुरी हान्ने क्रम दैनिक बढ्दै गएपछि गृहमन्त्री बालकृष्ण खाँडले चासो देखाएका छन् ।

गृहमन्त्रीको निर्देशनसङ्गै रोल्पा,रूकुम पूर्व र पश्चिमका विभिन्न घटनामा संलग्न माओवादी कार्यकर्ताहरू धमाधम पक्राउ परेका छन् ।

सोमबार राति रोल्पाको गंगादेव गाउँपालिका–५ मा भएको घटनाका बारेमा शुरूमा प्रहरीले उजुरी लिन नमाने पनि गृहमन्त्रीको निर्देशनपछि बल्ल उजुरी दर्ता भएको छ । जिल्लामा काँग्रेस कार्यकर्ताहरूमाथि दैनिक खुकुरी प्रहार हुन थालेपछि हिजो मंगलवार गृहमन्त्रीले नेपाली काँग्रेसका जिल्ला सभापतिहरूसँग घटनाको जानकारी लिएका थिए। गृहमन्त्रीको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरे अहिले घटना स्थलमा खटिएका छन् । प्रहरीले मंगलवार मात्रै खुकुरी प्रहारमा संलग्न एक व्यक्तिलाई सल्यानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गंगादेव गाउँपालिका–५ का २४ वर्षीय प्रकाश केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उनलाई सल्यानको थारमारेस्थित रोशन ग्यारेजबाट पक्राउ गरिएको हो ।

सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका –५ मा माओवादी केन्द्र निकट वाइसीएलका राजेन्द्र परियार,नवराज महर र पक्राउ परेका केसीको समूहले खुकुरी प्रहार गर्दा तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए। घाइतेमध्ये मनबहादुरको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ।

“माओवादी र एमालेबीच भएको झडपमा परी सोमबार मृत फेला परेकी रूकुम पूर्वको पुथाउत्तरगंगा वडा नम्बर ११ की एक महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडा अध्यक्ष जयकुमार बुढा, माओवादीबाट हालका उम्मेदवार कुमार सिंह र माओवादी कार्यकर्ता अर्जुन बुढालाई पक्राउ गरेको छ ।”

रूकुममा पनि धमाधम पक्राउ

गत वैशाख १९ गते माओवादी र एमालेबीच भएको झडपमा परी सोमबार मृत फेला परेकी रूकुम पूर्वको पुथाउत्तरगंगा वडा नम्बर ११ की एक महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडा अध्यक्ष जयकुमार बुढा, माओवादीबाट हालका उम्मेदवार कुमार सिंह र माओवादी कार्यकर्ता अर्जुन बुढालाई पक्राउ गरेको छ । सोही वडाको उपल्लो सेरास्थित जंगलमा ३९ वर्षिया जुनमाया बुढा मगरको शव फेला परेको थियो। उक्त घटनाको विषयमा नेकपा एमाले रूकुम पूर्वले विज्ञप्ती जारि गर्दै माओवादीले अपहरण गरेर बलात्कार गरी हत्या गरेको जनाएको थियो ।

यस्तै रूकुम पश्चिममा काँग्रेस कार्यकर्तालाई कुटपिट गर्न नपाएको भन्दै प्रहरी चौकी आक्रमण गर्ने नेकपा माओवादी केन्द्रका त्रिवेणी गाउँकमिटी रूकुम पश्चिमका अध्यक्ष गणेशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

गत बिहिबार झडप भएको र काँग्रेसका कार्यकर्ता ज्यान जोगाउन प्रहरी चौकी पुगेको बेला माओवादी कार्यकर्ताले त्रिवेणी गाउँपालिका–९ स्थित नुवाकोट प्रहरी चौकी तोडफोड गरेर काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए। यस बिषयमा गृह मन्त्रालयले प्रदेश कार्यालयबाट अनुगमन टोलीसमेत खटाएको थियो ।

यस्तै कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ताहरू आठबिसकोट नपा–१० का २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेमप्रकाश ओलीलाई पक्राउ गरेको छ।

टिप्पणीहरू