मतदातालाई देउवाको अपील : संविधानको रक्षा गर्न कांग्रेसलाई भोट दिनुस्

मतदातालाई देउवाको अपील : संविधानको रक्षा गर्न कांग्रेसलाई भोट दिनुस्

नेपाली कांग्रेसले सबल स्थानीय सरकार निर्माणका लागि स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई भोट दिन मतदातालाई आग्रह गरेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले आज अपील सार्वजनिक गर्दै काँग्रेसका उम्मेदवारहरुलाई भोट माग्नुभएको हो ।

देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा कांग्रेसलाई दिन आग्रह गर्नुभएको हो ।

संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन र अधिनायकवादी शैली प्रदर्शन हुँदा कांग्रेसकै नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको अपीलमा उल्लेख गरिएको छ ।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दैगर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रासामु छर्लङ्ग छ’ अपीलमा लेखिएको छ, ‘यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं ।’

पाँच दलीय गठबन्धनलाई निर्वाचनमासमेत निरन्तरता दिनुपर्ने अवस्था आएकाले चुनावी गठबन्धन गरेको काँग्रेसको दाबी छ । साथै, युवापुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्ने तर्फ कांग्रेस क्रियाशील हुने सभापति देउवाले बताउनुभयो ।

टिप्पणीहरू