जापानमा विद्यार्थीलाई ह्याण्ड स्यानिटाइजर खुवाइयो

जापानमा विद्यार्थीलाई ह्याण्ड स्यानिटाइजर खुवाइयो
जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्याण्ड स्यानिटाइजर खुवाएको कारण एक जना विद्यार्थी बिरामी परेको विषयमाथि गम्भीर अनुसन्धान गर्ने बताएका छन् । मध्य जापानको यामानाशी प्रिफेक्चरमा गत सप्ताहन्तमा आयोजित छात्राहरूको पाँच सय मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको स्यानिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए ।

स्यानिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाइस्कूल खेलकुद महासंघले जनाएको छ । मदिरा मिसिएको ह्याण्ड स्यानिटाइजर सामान्यतयाः कोरोनाबाट बच्न प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशमा यसको व्यापक प्रयोग भएको छ ।

स्यानिटाइजर पिएपछि एक जना खेलाडीले ढलेर बान्ता गरेका थिए । अन्य दुई जनाले निरन्तर वान्ता गरेको बताइन्छ । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए ।

यसअघि भारतमा कोभिडबाट बच्न भन्दै एक व्यक्तिले स्यानिटाइजर पिउँदा गम्भीर रुपमा बिरामी परेका थिए ।

टिप्पणीहरू