टेष्ट टोलीमाथि नेपालको ऐतिहासिक जित

टेष्ट टोलीमाथि नेपालको ऐतिहासिक जित

नेपालले टेष्टराष्ट्र जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज जितेको छ । आज भएको सिरिजको अन्तिम तथा फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले सिरिज पक्का गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले २१४ रनको लक्ष्य ३०.१ ओभरमा पूरा गर्यो ।

चिसो मैदानका ढिला टस भएपछि खेल ३३ ओभरमा झारिएको खेलमा जिम्बाबे ए ले २१३ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर १७ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारि खेले ।

ओपनरद्वय आशिफ शेख र भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले ।

आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किँदा सुनील धमला ६ रन बनाएर आउट भएका थिए ।

ऐरीले अविजित ६० रनको शानदार इनिङ खेले । उनले विकेटकिपर ब्याटर विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे ।

जिम्बावे ए को वलिङमा ब्रानडन माभुटाले सर्वाधिक तीन विकेट लिए भने ब्राड इभान्सले एक विकेट लिए ।

जिम्बावे ए विरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल तीन विकेटले पराजित हुँदा दोस्रो खेलमा ९ विकेटको सहज जित निकालेको थियो ।

 

टिप्पणीहरू