केपी ओलीको अभिव्यक्तिलगत्तै कार्यकर्ता मारिनु शंकाश्पद : कांग्रेस

केपी ओलीको अभिव्यक्तिलगत्तै कार्यकर्ता मारिनु शंकाश्पद : कांग्रेस

नेपाली काँग्रेसले चितवनका कार्यकर्ता अनिल परियारको हत्याको घटनालाई लिएर प्रतिपक्षी एमालेतिर शंका गरेको छ । काङ्ग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले कार्यकर्ता हत्याको घटनाप्रति ध्यानाकर्षण गर्दै त्यस्तो आशंका गरेका हुन् ।

काँग्रेस बागमती प्रदेश प्रतिनिधि परियारको हिजो साँझ भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले हत्या गरेको थियो । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा परियारको हत्या हुनु सत्ता गठबन्धनमाथिको प्रहार भएको बनियाँद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । परियारको हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्ने काँग्रेस बागमती प्रदेश समितिले माग गरेको छ ।

यस्तै, काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल चितवनले पनि काँग्रेसमा आबद्ध युवामाथि निर्वाचनको पूर्वसन्ध्यामा योजनाबद्ध ढंगले आक्रमण हुनु निर्वाचन बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएको छ ।

तरुण दल चितवनका अध्यक्ष राजन ताम्रकारले एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको चुनावी सभामा उत्तेजित अभिव्यक्ति दिएकै दिन परियारको हत्या हुनुले एमालेको संलग्नता हुन सक्ने आशंका गरेका छन् । घटनाको छानविन गरी दोषीमाथि अबिलम्ब कारबाही गर्न तरुणको माग छ ।

टिप्पणीहरू