चितवनमा भएको हत्याको कारण व्यक्तिगत रिसिबि: प्रहरी

चितवनमा भएको हत्याको कारण व्यक्तिगत रिसिबि: प्रहरी

चितवनमा नेपाली काँग्रेसका नेता अनिल परियारको हत्याको घटना निर्वाचनसँग सम्बन्धित नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीका अनुसार घटना व्यक्तिगत ‘रिसिबि’ का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

‘घटनाको अनुसन्धान हाम्रो टोलीले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत कारणले घटना भएको देखिन्छ । निर्वाचनसँग सम्बन्धित छैन’, प्रवक्ता केसीले भने ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ । हिजो साँझ करिब साढे ७ बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नहरुको पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

टिप्पणीहरू