गृहमन्त्रीकै गृहजिल्लामा गड्बडी

गृहमन्त्रीकै गृहजिल्लामा गड्बडी

चुनावको मुखैमा नेतृत्व हेरफेर हुँदा सशस्त्र प्रहरी बलमा फौज परिचालन फितलो देखिएको छ । उपल्लो दर्जाका अधिकृतहरु हेडक्वार्टरमा बसेर बढुवाका लागि आन्तरिक लबिङमा केन्द्रित हुँदा फिल्डमा खटिने प्रहरी कर्मचारीहरु प्रष्ट निर्देशनको अभावमा परिचालित हुन् नसकेका हुन् ।

चुनावी सुरक्षाको कमाण्ड सम्हाल्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) सैलेन्द्र खनाल केही दिनअघि चार वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा गएका थिए । उनीपछि आइजीपी बनेका पुष्पराम केसी यही १८ गते सेवा अवधि सकेर नेपाल प्रहरी प्रमुख शैलेश थापासँगै घर गएका छन् । घर जाने मनस्थिति बनाइसकेका खनाल र केसीले सही योजना बनाउन र निर्देशन दिन समयाभावले नपाएकै कारण चुनावमा सशस्त्रको फौज परिचालन अपेक्षाकृत हुन नसकेको बताइन्छ ।

कतिसम्म भने गृहमन्त्रीकै गृहजिल्ला रुपन्देहीमा वैशाख लागेदेखिपछि फौज नेतृत्वविहीन भएको छ । रुपन्देही लुम्बिनी प्रदेशकै सबैभन्दा संवेदनशील जिल्ला हो । भारतसँग सीमाना जोडिएका कारण चुनावी सुरक्षाका दृष्टिले रुपन्देहीमा ६२ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् । तर, एसपी शंकर खनाल वैशाख ५ गतेदेखि जिल्लामा छैनन् । उनी सानो गौचरणस्थित एपीएफको कमाण्ड एण्ड स्टाफ कलेजमा डेढ वर्षे तालिमका लागि गएका हुन् ।

निवर्तमान आइजीपी शैलेन्द्र खनालका खास मान्छे भनेर चिनिएका शंकर उतैबाट कुरा मिलाएर तालिमका लागि छानिएको समकक्षीहरु बताउँछन् । चुनावको मुखमा उनी फिल्ड छोडेर हिँडेपछि कनिष्ठ डिएसपी प्रकाश पौडेललाई जिल्ला हाँक्ने बाध्यता आइलागेको छ ।

रुपन्देहीमा हुँदा गृहमन्त्रीसँग निकट सम्बन्ध बनाएर राम्रै लाभ लिएका खनाल डिएसपी हुँदा सुनौली भन्सारमा थिए । त्यतिबेला विभिन्न आर्थिक अनियमितताका घटनामा उनको नाम जोडिएर आएको थियो । चुनावका बेला फिल्ड छोडेर हिँडेका उनी गृहमन्त्रीलाई रिझाएर फाइदा लिने प्रहरी अफिसरका रुपमा पनि चर्चामा छन् । चुनावमा प्रहरीको अभाव हुने भनिएका बेला बेस र बिओपीबाट गणमा तानेर बिदा दिने क्रम पनि सशस्त्रमा उस्तै छ ।

सशस्त्रको फौज परिचालन हुन नसक्नुमा चुनावी बजेट कुरेर बस्ने परिपाटीलाई पनि एउटा कारण मानिएको छ । त्यहाँभित्रैका कतिपय अफिसरहरुको भनाइ मान्ने हो भने पर्याप्त मात्रामा नियमित बजेट हुँदाहुँदै पनि चुनावका लागि छुट्टै बजेट कुरेर बस्ने प्रवृतिले टोली परिचालनमा समस्या आएको हो । कतिसम्म भने बजेट अभाव देखाएर झडप नियन्त्रणका लागि टोलीसमेत नखटाउने कमान्डरहरु सशस्त्रमा धेरै छन् भनिन्छ ।

सशस्त्रमाथि अघिल्लो चुनावका लागि सरकारले दिएको मोबाइल गाडीमा चर्को आर्थिक हिनामिना गरेको आरोप थियो । सरकारले दिने गाडी नलिने अनि भाडाको गाडी चलाएर त्यसैबाट कमिशन खानेहरु हावी हुँदा हरेक चुनावमा कमिशनको खेति मौलाउने गरेको बताइन्छ । ०६४ को चुनावमा भारतले दिएका गाडीहरु मर्मतसमेत नगरी झाडीमा फालेर अहिले पनि भाडाको गाडी लिने तयारीप्रति त्यहाँभित्रका कतिपय अफिसर सन्तुष्ट छैनन् ।

यता, विवादित अफिसर हर्क पन्तलाई आइजीको सोझै कमाण्डअन्तर्गत हेडक्वार्टर छेउमा रहेको बंगलामुखी विशेष कार्यदल गणको हाकिम बनाइएको छ । बाघभैरव गुल्म (निर्वाचन आयोग) बाट प्रमोसन भएर त्यताको हाकिम बनेका उनी यसअघि मोबाइल काण्डमा डामिएका थिए । खासाबाट अवैध रुपमा ल्याइएका ७६१ थान मोबाइल काण्डमा मुछिएका उनी त्यतिबेला जेलयात्रा र निलम्बनसँगै घटुवामा पनि परेका थिए ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला अमेरिकाबाट आएर उनको पिए बसेकी मृदुला कोइरालामार्फत कुरा मिलाएर उनले सफाई पाएको त्यतिबेला चर्चा थियो । तर, उनै पन्तलाई आइजीको नाकै मुन्तिरको सबभन्दा विश्वासिलो ठाउँमा कमाण्डर बनाइएकोमा हल्चोकतिर व्यापक असन्तुष्टि छ ।

पन्तले आइजीको मन जितेर भन्दा पनि राजनीतिक पहुँचका आधारमा माथिल्लो जिम्मेवारी हात पारेको भन्नेहरु पनि छन् । काठमाडौँका सिडिओ गोविन्द रिजालको गृहजिल्ला दैलेखका पन्त उनका स्कुलमेट पनि हुन् । कांग्रेस निकट भनेर चिनिएका सिडिओ रिजालको भनसुन र गृहमन्त्रीकी पत्नी मञ्जु खाँणको आशीर्वाद मिलेकै कारण पन्तलाई माथि तानिएको चर्चा पनि छ ।

बहुविवाह काण्डमा परेका कामु एसएसपी नरेन्द्र सेनले पनि चुनावसम्म अन्तर्राष्ट्रिय विमानस्थलअगाडि विपद व्यवस्थापन गण नछोड्ने गरी अड्डा जमाएर बसेका छन् । गणमा एसपीको कमाण्ड हुने भए पनि त्योभन्दा माथिल्लो दर्जामा पुगेका सेनले नछोड्नुको कारण चुनावका लागि आउने बजेट नै हो । रोल्पास्थित घरमा श्रीमती हुँदाहुँदै धादिङको काठकाण्डमा परेका रामचन्द्र श्रेष्ठकी छोरी नर्स राधिका श्रेष्ठसँग दोस्रो विवाह गरेका उनी सशस्त्रमा माओवादीको नाम भजाएर फाइदा उठाउने अफिसरका रुपमा चिनिन्छन् ।

टिप्पणीहरू