चार आइजी अझै चेपुवामा

चार आइजी अझै चेपुवामा

एउटा तहको अदालतले कुनै कसुरमा सफाई दिँदैमा कसुरदार पूर्णतः कानुनी फन्दाबाट मुक्त भएको मानिँदैन । किनभने, मुद्दाको वादीसँग माथिल्लो अदालतमा पुनरावलोकन गर्ने अधिकार सुरक्षित रहन्छ । तर, सोको हदम्याद गुज्रिसकेको भन्दै सफाई पाएको सर्कुलर गर्न आइजिपीहरुलाई दबाब दिइँदैछ ।
देशभरि सामानै नपठाई नक्कली बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारद्वारा मुद्दा चलाइएका र पछि विशेष अदालतबाट सफाई पाएका सशस्त्रका पूर्वआइजिपीहरु बासुदेव वली, सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तहरुले हालै अवकाश पाएका आइजी शैलेन्द्र खनाललाई आफूहरु दोषमुक्त भएको सर्कुलर देशैभरि गरिदिन दबाब दिएका रहेछन् । अब यो दबाब नयाँ आइजिपीमाथि पनि पर्ने पक्का छ ।

आइजीको जागिर ६ महिना बाँकी हुँदैमा कोषराज वन्तमाथि अख्तियार लागेको थियो । अख्तियारले उनीहरुबाट १० करोडसम्म धरौटी लिएको थियो । मुद्दामा मुछिएका पूर्वआइजिपी बासुदेव वली प्रधानन्यायाधीश चोलेन्द्रसशेरका ज्वाइँ–जेठान नाता पर्नाले सबैले उन्मुक्ति पाएका हुन् ।

त्यसो त विशेष अदालतको आदेश अन्तिम हुँदैन । अख्तियारसँग पुनरावेदन गर्ने हदम्याद पनि थियो तर तत्कालीन अख्तियार प्रमुख दीप बस्नेतले त्यो अवसर पनि गुजारिदिए ।
यही कुरालाई लिएर सशस्त्रका भूपूहरुको संगठनमा पनि समस्या भयो । १५ दिनअघि हल्चोकमा सम्पन्न भूपूहरुको भेलामा संगठनको अध्यक्षमा सनत बस्नेत, रविराज थापा र नारायण थापा प्रतिस्पर्धीका रुपमा देखा परे ।

पूर्व एआइजी रविराज थापाले भने, ‘अदालतको फैसला हामीले हेरेको छैन, अदालतबाट सफाइ पाएको फैसला हामीले हेर्न नपाई त कसरी हुन्छ र ?’ यस्तो सनतको प्रस्तावलाई सेनाबाट आएकाले समर्थन गरिदिए । तर, त्यही कुरालाई लिएर राति ९ बजेसम्म गलफत्ती चल्यो । अन्तिममा पहिला सनतले र त्यसको पाँच मीनेटपछि नारायण थापाले हात उठाएपछि रविराज थापा निर्विरोध अध्यक्ष भए ।

टिप्पणीहरू