घरदैलोमा हिँडेका माओवादी उम्मेदवार बेहोस, एमाले समर्थकले विष खुवाएको आरोप

घरदैलोमा हिँडेका माओवादी उम्मेदवार बेहोस, एमाले समर्थकले विष खुवाएको आरोप

सर्लाहीको हरिवन नगरपालिकामा घरदैलोमा निस्किएका उम्मेदवार स्थानीयले दिएको लड्डु खाँदा बिरामी परेका छन् । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित पाँच जना बिरामी भएका हुन् ।

भोट माग्दै जाँदा हरिवन–११ का स्थानीयले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । त्यो खाएपछि शेषसहित उमा साह, पूर्णिमा कार्कीलगायत पाँच जना बिरामी परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख थामेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार बिरामी भएकामध्ये शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा ‘पोइजनिङ’ देखिएको थियो । त्यसपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।विष खुवाएको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । पक्राउ परेका व्यक्ति एमाले समर्थक भएको बताइएको छ ।

उम्मेदवार नै बेहोस भएको घटना सार्वजनिक भएपछि प्रहरीले चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको र त्यसपश्चात केही बेहोस हुने र केही चक्कर लागेर लड्ने जस्ता घटना घटेको पाइएको भन्दै सचेत गराएको हो ।

निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले आग्रह गरेका छन् ।

टिप्पणीहरू