गाउँले किसानका छोरा, जो मान्छेको मन–मस्तिष्क जाँच्ने भए

गाउँले किसानका छोरा, जो मान्छेको मन–मस्तिष्क जाँच्ने भए

माडीका मात्र होइनन्, चितवन र सिंगो देशकै मणि हुन् उनी । सामान्य कृषक परिवारमा जन्मिएर, गाउँकै सरकारी विद्यालयमा पढेर पछि डाक्टर बन्न सफल व्यक्तित्वबारे चर्चा गर्न लागिएको हो । डाक्टर भएर काम गरेको पनि छोटै समयमा राम्रै नाम कमाउन सफल भएका छन् । बुबा नीलकण्ठ काफ्ले र आमा दिलकुमारी काफ्लेको ज्येष्ठ सुपुत्र हुन् डा. खगेन्द्र काफ्ले । घर माडी–७, देवेन्द्रपुर । २०४१ जेठ ८ को जन्म । बाबुबाजे किसान भएपनि खगेन्द्रका सबै भाइ बहिनीले पढाइमा राम्रो गरे । माइलो भाइ इन्जिनियर, अमेरिकामा मास्टर्स लेवलको पढाइ गर्दैछन् । कान्छो भाइ इन्डियामा एक युनिभर्सिटीमा कम्प्युटर साइन्समा पीएचडी गर्दैछन् । बहिनी नर्सिङ अफिसर हुन्, महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा कार्यरत छिन् । अहिले बुबा नीलकण्ठ ५६ वर्षको भए, आमा दिलकुमारी ५४ वर्षकी ।

माडी, देवेन्द्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय जगन्नाथपुरबाट प्राथमिक शिक्षा हासिल गरेका खगेन्द्रले माडीकै जनजीवन माध्यमिक विद्यालय, खर्कट्टाबाट ७६ प्रतिशत भन्दा बढी अंक ल्याएर एसएलसी उत्तीर्ण गरे । अनि भरतपुरको अर्किड कलेजबाट विज्ञान विषय लिएर प्लस टु गरेका हुन् । बच्चैदेखि पढाइमा राम्रो भएका हुनाले परिवार तथा आफन्तहरुले डाक्टर बन्नुपर्छ भनी प्रोत्साहित गर्थे । र, उनी आफूलाई पनि डाक्टर बन्नु ठूलै कुरा हो भन्ने लाग्थ्यो । चितवनमा त्यो बेलामा एमबीबीएसका लागि १५ लाख जति शुल्क थियो । भरतपुरमा एक–दुई लाखमा घडेरी पाउने समयमा माडी गाउँको सबै सम्पत्ति बेचेर पनि डाक्टरी पढ्न सकिने अवस्था थिएन । त्यसैले सरकारी कोटामा नाम निकाल्नतिर लागे । १२ पास गरेको एक वर्षभित्र नेपालको स्वास्थ्य मन्त्रालयले लिएको छात्रवृत्ति परीक्षामा उनको सेलेक्सन पनि भयो, नाम निस्क्यो । त्यसबाट नेपालका विभिन्न मेडिकल कलेज अथवा चाइना, बंगलादेशका सरकारी मेडिकल कलेजहरुमा छात्रवृत्तिमा पढ्न पाउने अवसर प्राप्त भएको थियो ।

फेरि त्यसको केही समयमै भारत सरकारले भारतीय राजदूतावासमार्फत् लिएको छात्रवृत्ति परीक्षामा पनि उनी संलग्न भएर छनौट भए । त्यसपछि साथीभाइ र अग्रजहरुको सल्लाहमा भारतको राजस्थान राज्यको जयपुर शहरमा रहेको सवाइ मानसिंह मेडिकल कजेलमा गएर छात्रवृत्तिमा एमबीबीएसको पढाइ पूरा गरे । त्यसपछि जागिरको सिलसिलामा दिल्लीको अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसमा गएर थोरै समय काम गरे । एमबीबीएस सकेपछि काम गर्नुका साथै एमडी गर्नु पनि प्राथमिकताको विषय भयो । यसबीच नयाँदिल्लीको लोकनायक अस्पतालमा डेढ वर्ष काम गरे । सँगसँगै मेट्रो अस्पताल लगायत अरु अस्पतालमा पनि काम गरेर उच्च शिक्षा अर्थात् एमडीका लागि चाहिने केही खर्चको जोहो गरेपछि एमबीबीएस सकेको करिब डेढ वर्षपछि भारतकै चण्डीगढमा पोष्ट ग्राजुयट इन्ष्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआई) अस्पतालमा साइकियाट्रीमा एमडी अध्ययन सुरु गरे । २०१५ मा एमडी सकेपछि नेपाल आएर चितवन मेडिकल कलेजमा मनोचिकित्सकको रुपमा कार्यरत छन् ।

दिल्लीमा काम गर्ने सिलसिलामा शाहदरा भन्ने ठाउँमा रहेको इभास हस्पिटलका बिरामीहरुसँग एक्स्पोज हुने मौका पाएका थिए । त्यहाँ उनले बिरामीहरुको उपचार गरेपछि आउने आत्मसन्तुष्टि साइकियाट्रीमा धेरै देखे । त्यहाँ कडा खालका मनोरोगका बिरामीहरु थिए । केही पनि गर्न नसक्ने, पूरै अरुमा निर्भर । सडकबाट उठाएर ल्याएका बिरामी हुन्थे । नांगै हिँड्ने, जेपनि बोल्ने । आफ्नो केयर गर्न नसक्ने । त्यस्ता बिरामीहरु पुलिसले समातेर अथवा परिवारले बाँधेर अस्पताल ल्याएर छोड्ने गर्थे । दुई–चार हप्ताको उपचारपछि तिनीहरु एकदम सामान्य भएर आफ्नो जागिर गर्न सक्ने, परिवारसँग बस्न सक्ने, विवाह हुने, पढाइ राम्रोसँग गर्न सक्ने हुन्थे । यति धेरै इम्प्रुभ्मेन्ट कि त्यही बिरामी पछि ठिक भएर अरु बिरामीहरुलाई उपचारमा ल्याउने गरेको पनि उनले देखे । ‘जसलाई हामी पागल भयो, बहुलायो भनेर छोड्ने गर्छाैं, तिनीहरुलाई त रोग लागेको हुने रहेछ । इभास अस्पतालमा एक–दुईपटक जाँदा नजिकबाट यस्तो अनुभूति गर्न पाएँ । उपचार गरेपछि तिनीहरु त एकदम नर्मल लाइफमा आउन सक्दा रहेछन् भन्ने बुझें’, उनी भन्छन्, ‘त्यसैले त्यसमा झुकाव लागेर एमडी गर्ने बेलामा सुरुमै साइकियाट्री विषयलाई चुज गरी त्यसैमा इन्ट्रान्स दिएँ ।’

एमबीबीएसमा पनि मनोरोगमा १५ दिनको पोष्टिङ हुन्थ्यो । साढे पाँच वर्षमा अन्तिमको एक वर्ष इन्टर्नशीप÷प्राक्टिकल हुन्छ । त्यो प्राक्टिकलमा चाहिँ १५ दिनको अनिवार्य र १५ दिनको ऐच्छिक पोष्टिङ थियो । ‘एक महिना पोष्टिङ भएको हो मेरो साइकियाट्रीमा । इभास धेरै ठूलो अस्पताल थियो, २००–३०० बेडको । एउटा साइकियाट्री विभागमा नै हाम्रो यहाँका मेडिकल कलेजमा जति बिरामी हुने । त्यहाँ सिरियस बिरामी मात्रै । सबैलाई थुनेर राखेजस्तो देखिन्थ्यो । त्यो इन्टर्नशीपमा हल्का खालका बिरामीचाहिँ चेक गर्न हामीलाई दिइयो ।

जस्तै डिप्रेसन, एन्जाइटी– त्यस्तोमा चाहिँ बिरामीहरुले शरीरका समस्या लिएर आउने । यता दुख्यो, उता दुख्यो, टाउको दुख्यो, फूर्ति भएन, उठ्नै सकिनँ, कमजोर भएँ भनेर आउने बिरामीहरुलाई डिप्रेसन भएको हुने रहेछ’, उनले भने, ‘कतिलाई त डिप्रेसन भएको छुट्याउनै नसकिने । हेर्दा शरीरको समस्या छ तर भएको छ डिप्रेसन । मुटु ढुकढुक हुन्छ, सधैं मुटुको समस्या भनिरा’छ तर एक्चुअल्ली त्यो डिप्रेसनको लक्षण हुने । शरीरहरु दुखेको, पोलेको छ, समस्या चाहिँ डिप्रेसनको हुने । यसले गर्दाखेरि यो इन्ट्रेस्टिङ र च्यालेन्जिङ लाग्यो । यसमा चाहिँ अरुभन्दा फरक छ जस्तो लाग्यो । त्यही भएर एमबीबीएस सक्ने बित्तिकै सबैभन्दा पहिले म इभासमा गएँ । इभासमा जागिर खाने भनेर अन्तर्वार्ता पनि दिइयो । जागिरको कन्फर्म गरेपछि म नेपाल आएँ । जोइनचाहिँ गरिनँ । तर मेरो साथीले त्यहाँ काम गरेर अनुभव सुनाउँदा इन्ट्रेस्टिङ लाग्थ्यो ।’ त्यसैले डाक्टरीका विभिन्न विधामध्ये आफूले साइकियाट्रीमै विशेषज्ञता हासिल गरेको उनले बताए ।

डा. खगेन्द्र चितवन मेडिकल कलेजमा मनोरोग विशेषज्ञको रुपमा कार्यरत भएको अहिले पाँच वर्ष जति भयो । सीएमसीमा औसतमा दैनिक ५० जना जति बिरामी हेर्ने गरेको उनी बताउँछन् । जति पनि बिरामी हेरिएको छ, तीमध्ये धेरैजसोलाई या त निको भएको, या त कुनै न कुनै रुपमा इम्प्रुभ्मेन्ट भएको बताउँदै उनले भने, ‘उपचार गरियो भने धेरै मनोरोगहरु ठीक हुन्छ, लाइफ चेन्ज हुन्छ । त्यही भएर सरकारी÷गैरसरकारी दुवै क्षेत्रबाट सचेतना फैलाउने र उपचार नपाएकालाई उपचारमा ल्याएर नर्मल लाइफ बिताउन सहयोग गर्नुपर्छ । गम्भीर प्रकारका मनोरोगका बिरामीहरु, जसको उपचार नै भइराखेको छैन । त्यस्ता धेरै बिरामीहरु छन् उपचार नपाएको । बाटोबाटो हिँडिराखेको, जसलाई पागल भएको, बौलाहा भएको भनेर त्यत्तिकै छोडिएको छ । वास्तवमा तिनीहरुलाई रोग लागेको हुन्छ । रोगको उपचार गरेपछि उनीहरु नर्मल हुन्छन् । कुनै सरकारी वा गैरसरकारी संस्थाहरुले समन्वय गर्न सक्नुहुन्छ भने हामी निःशुल्क सेवा दिएर तिनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्छौं ।’

डाक्टर खगेन्द्रले २०७३ सालमा भरतपुरकी सृजना भुर्तेलसँग मागी बिहे गरेका हुन् । सृजना पनि डाक्टर हुन्, मानसिक रोग विशेषज्ञ नै । बिहे गर्ने बेला सृजनाले एमबीबीएस सकेर साइकियाट्रीमा एमडीका लागि भर्खर भर्ना गरेकी थिइन् । चितवनको पुरानो मेडिकल कलेजबाट एमबीबीएस सकेकी सृजनाले धरानको बीपी कोइराला इन्ष्टिच्युटबाट एमडी गरेकी हुन् । यसअघि तनहुँको एक प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर भएर काम गर्थिन् । अहिले भरतपुर अस्पतालमा कार्यरत छिन् । खगेन्द्र र सृजनाको अहिले साढे चार महिनाकी एउटी छोरी छ, एल्विना ।

टिप्पणीहरू