नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज उक्त खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा आयोजना गरिएको कार्यक्रममा लोगो र मस्कट सार्वजनिक गर्नु भएको हो ।

लोगो र मस्कट खुला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट डिजाइन गरेका भोलानाथ पौडेललाई पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै मस्कट डिजाइन गरेवापत २५ हजार नगद पनि पौडेललाई दिइएको हो । लोगो, मस्कट र नारा छनोटका लागि राखेपले एकेन्द्र कुँवरको संयोजकत्वमा कमिटी गठन गरेको थियो ।

सोही कार्यक्रममा सो खेलकुद प्रतियोगिताको नारा समेत सार्वजनिक गरिएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा रहेको छ । नाराको रचना गर्ने सुयोग्य राज काफ्लेलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रदर्शनी खेल आयोजना हुनेछ । एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नाष्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई प्रतियोगितामा समावेश गरिएको छ ।

ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा समावेश गरिएको हो ।

टिप्पणीहरू