केपी ओलीलाई निमित्त नायक बनाएर गठबन्धन फुटाउने खेल भइरहेको दाबी

केपी ओलीलाई निमित्त नायक बनाएर गठबन्धन फुटाउने खेल भइरहेको दाबी

नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन संयन्त्रका संयोजक रामचन्द्र पौडेलले नेपालमा प्रगतिशील र प्रतिगामी शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताउनुभएको छ । चुनावको मुखमा त्यस्तो प्रतिस्पर्धा उत्कर्षमा पुगेको पनि उहाँले बताउनुभयो ।

पाँच दलीय गठबन्धनले आज काठमाडौँमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासस्वरूप प्रतिगामी गठबन्धन बनेको दाबीसमेत गर्नुभयो । ओलीलाई शक्तिशाली बनाउन देशी–विदेशी शक्तिले सत्ता गठबन्धन टुटाउन खोजेको पनि उहाँको भनाइ छ ।

‘अहिले पाँच दलीय गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको छ । गठबन्धनलाई कमजोर बनाउनु भनेको अस्थिरतालाई साथ दिनु हो,’ पौडेलले भन्नुभयो, ‘प्रतिगामी शक्तिहरु एक ठाउँमा जम्मा हुँदैछन् । आज काँग्रेस र कम्युनिष्टको झगडा होइन । प्रतिगामी शक्तिविरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएका हुन् । हामीले लोकतन्त्र जोगाउन लड्नु पर्छ ।’

राजनीतिक स्थिरता कायम गर्न पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै उहाँले स्थिरता नहुँदा विकास हुन नसकेको बताउनुभयो । ‘यो गठबन्धनको खिलाफमा केपी ओलीले पनि गठबन्धन गर्नु भएको छ । क–कसलाई लिएर गर्नु भएको छ, तीनको अनुहार पनि हेर्नुहोस्,’ नेता पौडेलले भन्नुभयो ।

टिप्पणीहरू