इँटा भट्टामा मान्छे पोल्ने पूर्वमन्त्रीलाई नछोड्न सर्वोच्चको आदेश

इँटा भट्टामा मान्छे पोल्ने पूर्वमन्त्रीलाई नछोड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले रौतहट नरसंहारका अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई थुनामुक्त नगर्न आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामै राख्न आदेश दिएको हो ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी जिउँदै मान्छेलाई इँटा भट्टामा पोलेर मारेको अभियोग छ । पहिलो संविधानसभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए ।

घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशलाई २४ माघ २०७६ मा उच्च अदालत वीरगञ्जले सदर गरेको थियो ।

आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्ने माग गरिएको थियो । तर, सर्वोच्चले थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै आलमको माग अस्वीकार गरेको हो ।

टिप्पणीहरू