विश्वराजलाई अन्तरिम आदेश मिलेन

विश्वराजलाई अन्तरिम आदेश मिलेन

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र दिएको हो । मुद्दाको पूर्ण सुनुवाइका लागि अर्को पेशी जेठ १७ गते तोकिएको छ ।

आइतबार सरकारले प्रहरी प्रमुखमा धिरजप्रताप सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै सोमबार नै वारेसमार्फत अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले रिट दायर गरेका थिए । उक्त रिटउपर हिजो र आज न्यायाधीश माथेमाको इजलाशमा सुनुवाइ भएको हो ।

रिट निवेदक पोखरेलकातर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेत, पूर्णमान शाक्यलगायतले बहस गरेका थिए । सोलगतै सरकारी पक्षले हस्तक्षेप बहस गरेको थियो ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खाती, नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेकासाथै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकारी कदमको बचाउमा बहस गरेका थिए । त्यसका साथै महानिरीक्षक सिंहकातर्फबाट केही कानुन व्यवसायीले पनि हिजै बहस गरेका थिए ।

टिप्पणीहरू