गृहमन्त्रीका दाजुभाइविरुद्ध एकैठाउँमा उजुरी

गृहमन्त्रीका दाजुभाइविरुद्ध एकैठाउँमा उजुरी

गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध निर्वाचन आचार संहिता उल्लंघनको आरोपमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । गृहमन्त्री र उहाँका भाइसमेत रहेका तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाँणविरुद्ध उजुरी परेको हो ।

हिजो वडा नम्बर ८ मा सरकारी गाडी प्रयोग गरी गृहमन्त्री खाँण चुनावी घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको भन्दै तिलोत्तमा नगरपालिका-२ का दिपेश कँडेलले आज उजुरी दर्ता गराएका हुन् ।

उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचार संहिताले रोक लगाएको छ ।

यस्तै, काँग्रेस उम्मेदवार खाँणले निर्वाचन आचार संहिताविपरीत सार्वजनिक स्थानमा उम्मेदवारको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको भन्दै उजुरी परेको हो । आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ ।

टिप्पणीहरू