एमालेका असन्तुष्ट नेता भन्छन् : ‘चुनाव जित्न महाभारत छ !’

एमालेका असन्तुष्ट नेता भन्छन् : ‘चुनाव जित्न महाभारत छ !’

नेकपा एमालेका १० बुँदे पक्षधर नेता घनश्याम भुसालले स्थानीय चुनाव आफ्नो पार्टीका निम्ति महाभारत भएको बताएका छन् । चुनावलाई कौरव र पाण्डवको लडाईंसँग तुलना गर्दै उनले एमालेले जितेरै छाड्ने पनि दाबी गरे ।

‘महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,’ उनले भने, ‘महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’

महाभारतमा सत्य र न्यायको लागि लडाईं भएजस्तै यस पटकको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि हुने भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो भनेका हुन् ।

तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने उनको विश्वास छ । ‘यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ, अब यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरू अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ,’ भुसाल भन्छन् ।

तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

एमालेका उम्मेदवारको तुलनामा अरू कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दाबी गरेका छन् ।

टिप्पणीहरू