‘माथि’ भनेको को हो महोदय ?

‘माथि’ भनेको को हो महोदय ?

जानेहरु जहिलेसुकै जाउन्, सामानचाहिँ अहिल्यै किन्ने र कमिशन लिइहाल्ने ! नेपाली सेनाभित्र चलेको खेलो हो यो । अफ्रिकी मुलुक माली जाने मिशनका लागि ५० वटा एपिसी खरिद गर्न विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठनिकट ठेकेदारमार्फत यस्तो कारोबार चलिरहेको छ । तर, त्यसरी खरिद गरिएका एपिसी सेनालाई अहिल्यै चाहिएको हैन ।

विभिन्न टुकडीहरु जाने बेलामा सँगै लैजाने भनी एकैचोटि खरिद गर्न लागिएको हो । १ अर्ब ९९ करोडको यो मामिलालाई सट्याकसुटुक सुल्झाउने दिमाग लगाएका हुन्, सबैखाले प्रधानसेनापतिलाई मिलाउन सक्ने सन्तोषबल्लभ पौडेलले । उनी पहिला आतपनि (आपूर्ति तथा परिवहन निर्देशनालय) मा हुँदा सेनाको औषधी खरिदमा विवादमा परेका थिए । अहिले उनै एपिसी किन्ने शान्ति सेना निर्देशनालयको हाकिम छन् ।

उता सेनाको सबैखाले सामान किन्ने सम्भाररथी विभागमा सेनापति बन्ने लाइनका ताराध्वज पाण्डे छन् । अरु जर्नेलले त्यहाँ वर्ष दिनभन्दा बढी बस्न पाउँदैन थिए । तर, ताराध्वज १८ महिनादेखि लगातार त्यहीँ छन् । अक्सर सेनाको आर्थिक मामिलामा ‘भन्सार’ कहलिने सबैजसो ठाउँमा ताराध्वजको राइँदाइँ चलिसकेको छ । उनी पहिला सैनिक कल्याणकारी निर्देशनालयमा थिए ।

त्यस्तै, पोलिस्टर जडित ट्रयाकसुट र चुस्ताको खरिदमा उत्तिकै ठूलो कमिशनको खेलो छ । चुस्तामा बढी मूल्यांकन गरेर पैसा हालिएको छ । स्रोतका अनुसार, ९७ हजार सेनाका निम्ति गरिएको यो खरिदमा सात करोड आम्दानी भएको छ । सैनिकको खुट्टामा एक महिना पनि नटिक्ने बुटमा पाँच करोड घोटाला भएको छ । सेनाले स्वदेशमै उत्पादित सामग्रीका हकमा उद्योगको प्रोत्साहनका लागि १५ प्रतिशत बढी मूल्यांकन गर्न पाइने नियम बनाएको छ ।

सुरक्षाफौजकै बर्दी उत्पादन गर्ने आवश्यकतालाई दृष्टिगत गर्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याएको छ । तर, सेनाले खरिद गरेको चुस्ता चीन हुँदै ल्याइएको हो । कमिशन सुरक्षित पार्नका लागि यहीँ बनेको नाममा १५ प्रतिशत मूल्यांकन बढाइएको छ । उक्त सामान ठेकेदार रितेश अग्रवालले सेनालाई भिडाएका हुन् ।

यस्ता रकमकलममा सक्रिय उनै सम्भार रथी ताराध्वज चिफ हुने लाइनमा छन् । हिजोआज कर्णेल, मेजरहरुबाट सल्टिने कामका लागि दिनहुँ रक्षा मन्त्रालय धाइरहन्छन् । उता, दुई–तीन वटा नागरिकता भएका सरोजप्रताप राणा प्रमुख हुन नपाउँदै अवकाशमा जाने भएका छन् । नागरिकता नसच्याई जागिर खाएकाहरु सेवा पूरा गरी घर गइसकेका छन् । सरोजप्रतापहरु ‘मिलाई–मिलाई’ सेनाभित्रै रमिता गर्दैछन् ।

प्रधानसेनापतिमा बहालीलगत्तै सहकर्मीमाझ सुपथ मूल्य क्यान्टिनको मासिक चार लाख कोसेली कमिसन अस्वीकार गरेको सुनाउने प्रधानसेनापति प्रभुराम शर्माले हिजोआज त्यो कोसेली कसले खाँदैछ या तलैको खानामा गुणस्तर सुधार भयो भनेर बोल्न छाडेका छन् । सम्भाररथीको जिम्मेवारीमा रहेका पाण्डेले भने ‘सबै माथि बुझाउनुपर्छ’ भन्ने गरेका छन् । सेनाभित्र चर्चा छ, ‘माथि भनेको को हो ?’

टिप्पणीहरू