कहिले भेटिएलान् प्रचण्ड नदीका यी दुई किनारा

कहिले भेटिएलान् प्रचण्ड नदीका यी दुई किनारा

– जीवन डाँगी

जनयुद्धको गर्भदेखि संसदीय राजनीतिक यात्रासम्मै ‘प्रचण्ड’ जीवनमा उदात्त फैलिएका दुई किनारा हुन्– ‘प्रभाकर’ र ‘अनन्त’ । माओवादी जीवन रेखामा ‘प्रचण्ड’ रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुश्किलै छ । युद्धको ‘कमाण्ड’देखि संसदीय राजनीतिलाई पनि बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र अहिले माओवादीभित्र वारपारको लडाइँमा छन् ।

‘प्रभाकर’ अर्थात् जनार्दन शर्मा महासचिव बन्न चाहन्थे । तर, बाधक बने ‘अनन्त’ अर्थात् वर्षमान पुन । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा जनार्दनको व्यापक चहलपहल थियो । त्यो–बेला वर्षमान उपचारका लागि चीन पुगेका थिए । यता जनार्दन भने महासचिव बन्न आतुर देखिन्थे । उनलाई महासचिव बनाउन प्रचण्ड पनि सहमत बने । तर, एकाएक बीचमा आइदिए– वर्षमान ।

जनार्दनलाई महासचिव स्विकार्न तयार भएनन्, वर्षमान । बरू भनिदिए म महासचिव नबन्ने हो भने अर्का नेता शक्तिबहादुर बस्नेतलाई बनाइदिऊँ । हेर्दाहेर्दै प्रचण्ड यता पनि सहमत देखिए । बस्नेत महासचिव बन्ने पक्कापक्कीजस्तै थियो । फेरि प्रचण्डसामु उग्र भएर प्रस्तुत भइदिए– जनार्दन । महाधिवेशनताका वर्षमान देशबाहिर । राजधानीमै जनार्दनको उग्रता । उनको विद्रोही स्वभाव प्रचण्डलाई राम्रोसँग थाहा छ र त ‘रिस्क’ लिन चाहेनन् । लगत्तै वर्षमानसँग सल्लाह गरेर प्रचण्डले नै पन्छाए पार्टीको केन्द्रीय कमिटी बैठक ।

महासचिव छान्ने समय सर्दा आ–आफ्नो कित्तामा उमंग छ । पार्टीभित्रको गुटबन्दी उत्कर्षमा छ । एकातिर स्थानीय चुनावको रौनक छ । अर्कोतिर वर्षमान र जनार्दनका समर्थक एकअर्काको तीव्र आलोचना गरिरहेका छन् । उनीहरू खुलेरै विरोध गर्ने तहमा पुगेको माओवादी नेताहरू बताउँछन् । दुर्लभ ‘क्रिग्लर नज्जार सिन्ड्रोम’ भनिने वंशाणुगत जण्डिसबाट पीडित वर्षमान आजकल पार्टी कार्यक्रममा बाक्लै गरी देखिन थालेका छन् । सत्ताघटक माओवादी केन्द्रको नेतृत्व गरेर अर्थमन्त्री बनेका जनार्दन दिनदिनै सिंहदरबारमा भेटिन्छन् । उनीहरूलाई चुनाव कम र गुट बढ्ता लागेको छ ।

वर्षमान र जनार्दनबीचको टकराव राष्ट्र बैंकको गभर्नर निलम्बन प्रकरणले सतहमा ल्याएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डको सल्लाहमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्रीसमेत रहेका जनार्दनले निलम्बन गरिदिए । वर्षमान यो प्रकरणमा नचाहेरै प्रचण्डको विपक्षमा उभिए ।

कारण– जनार्दनको खस्किँदो लोकप्रियतामा थप खेल्नु थियो । पार्टी र जनार्दनको निर्णयमा सत्ताधारी पार्टीका महामन्त्री ‘गगन–विश्व’ र प्रमुख प्रतिपक्ष एमालेकै कित्तामा देखिए, वर्षमान । भलै यो विषय सर्वोच्च अदालतबाट ९० प्रतिशत सुल्झिसकेको छ । तर, पछिल्लोपटक अर्थमन्त्रीबारे आइरहेका अनेकौं समाचारको पछाडि वर्षमान पुनको भूमिका रहेको जनार्दननिकट नेताहरू आरोप लगाउँछन् । ऊर्जामन्त्री हुँदा जनार्दनको लोकप्रियता एकाएक चुलियो । कारण– कुलमान घिसिङको नियुक्ति र उर्जा मन्त्रालयमा देखाएको कार्यकुशलता नै हो । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका वर्षमान भने छायाँमा परे । उनको चित्त आज पनि पटक्कै बुझेको छैन ।

उनीहरूबीच एकले अर्कोलाई रोक्ने र आम–सञ्चारमार्फत् ठोकाठोक गर्ने क्रम चलिरहेको छ । निर्वाचन सकिएलगत्तै अध्यक्ष प्रचण्डले एक जनालाई महासचिव चुन्ने नै छन् । तर अध्यक्षले आफूपछिको कार्यकारी पद कसलाई सुम्पेलान्– वर्षमान–जनार्दन वा तेस्रो नेता! यो आम चासोको विषय हो । विश्लेषकहरूको टिप्पणी छ– प्रचण्डले जसलाई महासचिव चयन गर्छन्, ऊ नै माओवादी केन्द्रको आगामी नेतृत्व सम्हाल्ने तहमा पुग्नेछ ।

माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्षपछि ‘वर्षमान–जनार्दन’को द्वन्द्व देखिने गरी सतहमा आएको हो । उनीहरू एकताका खुब् मिल्ने र अहिलेका प्रतिस्पर्धी मानिन्छन् । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा चल्दै थियो । त्योबेला पनि वर्षमान उपचारका लागि विदेशमै थिए । विद्यार्थी नेताबीच मनमुटाव बढ्दै थियो । उनीहरू दुई खेमामा विभाजित थिए । विवादै–विवादबीच यसपटक भने जनार्दनले बाजी मारे ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । तर, सिंहलाई जनार्दनको साथ थियो । स्वाभाविक रूपमा उनको रोजाइमा परिन्, सिंह । कारण– कर्णाली । वर्षमाननिकट विद्यार्थी नेता बस्नेतलाई पाखा लगाएर सिंहलाई अध्यक्ष चुन्न सफल भए, जनार्दन । उनी अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । त्योबेला अध्यक्ष चुन्ने जिम्मा प्रचण्डलाई थियो । प्रचण्डलाई मनाएरै छाडे, जनार्दनले ।

०७४ भदौको एक्काइसौँ राष्ट्रिय सम्मेलनमा रञ्जित तामाङ (वर्षमान) र अनिल शर्मा (जनार्दन) समूह नै बनाएर उत्रिएका थिए । त्यो निर्वाचनमा तामाङले ८४५ र प्रतिस्पर्धी शर्माले ८२२ मत प्राप्त गरे । वर्षमानको आड–भरोसामा तत्कालीन विद्यार्थी नेता तामाङ अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी अनिल जनार्दनका कान्छा भाइ थिए ।

प्रचण्ड सत्ता सहकार्यसँगै चुनावी तालमेलमा छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा उनको दाहिने पट्टी छन् । पार्टीभित्र गठबन्धनको चर्को आलोचना हुँदाहुँदै देउवा प्रचण्डसँगै हिँड्न चाहन्छन् । तर, प्रचण्डको चुनावी रणनीतिलाई भने ‘गगन–विश्व’ले पर्दा पछाडिबाट नियालिरहेका छन् । गठबन्धनमा टाँसिनैपर्ने लज्जास्पद दृश्यले पनि माओवादी नेता–कार्यकर्ता आफ्नो भविष्यप्रति गम्भीर छन् । स्थानीय निर्वाचनमा कसै न कसैसँग मिल्नैपर्नै दौडले थप चिन्ता झल्काउँछ । तर, पार्टीभित्र जुधिरहेका ‘वर्षमान–जनार्दन’को मनमुटावले उनी झन् तनावमा छन् ।

प्रचण्ड भन्छन्– एक्लै हिँड्दा डुब्न सकिन्छ ? तर युवा नेताहरू उल्टै प्रश्न गर्छन्– तौल बढ्दा डुब्ने सम्भावना झन् हुन्छ । त्यो तर्क मान्न तयार छैनन्– ‘प्रचण्ड–देउवा’ । ०७० यता माओवादी केन्द्र अस्तव्यस्त छ । एमालेसँगको एकता पनि फापेन । हुँदा–खाँदाको पार्टी संगठन धुजा–धुजा भयो । शीर्ष नेताहरू एमालेमा बसे ।

प्रचण्ड अचम्मका पात्र हुन्– जसले पराजयको समीक्षा कहिल्यै गरेनन् । माओवादीनिकट विश्लेषकहरू भन्छन्– प्रचण्ड जनआधार भएका नेताहरूलाई अगाडि ल्याउनै चाहँदैनन् । उनी वर्षमानको चलाखी–राजनीति वरिपरी नै रमाउँछन् । अमरसिंह उर्फ कृष्णबहादुर महरालाई पाखा लगाइएको उनीहरूको तर्क छ । आज जनार्दनलाई सक्ने काम भइरहेको छ । यो प्रचण्ड–वर्षमानको घातक कार्य हो । पार्टीभित्र वर्षमान प्रिय छन् तर आम–मानिसबीच जनार्दनको लोकप्रियता छ ।

प्रचण्डको ठाउँमा फेरि प्रचण्ड नै अध्यक्ष बनेपछि युवाको विश्वास थियो– एमाले–कांग्रेसलाई चुनौती दिन सक्लान् ! माओवादी केन्द्रले एकपछि अर्को हार व्यहोर्दै आयो तर समीक्षा कहिल्यै गरिएन । धेरै नेताले पार्टी छोड्दै गए आफ्नो समीक्षा गरेनन् । पार्टीभित्रको किचलोलाई किचलो मान्न तयार छैनन् । मौलाउँदै गएको असन्तुष्ट गुटले पनि नेतृत्वलाई दबाब दिन थालेको छ । तर, उनी चुप छन् ।

माओवादी पटकपटक सत्तामा पुग्यो । ०६२–६३ पछि सरकार वरिपरि नै छ । उनै वर्षमान–जनार्दन पालैपालो सरकारमा पुगिरहेका छन् । ‘प्रचण्ड’ अर्थात् पुष्पकमल दाहालले दशकौंदेखि नेपाली राजनीतिको राजमार्गमा ‘माओवादी केन्द्र’ हाँकिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रको नेतृत्व छोडेपछि पार्टी क–कसको पञ्जामा पर्ला ! पछिल्लोपटक दोस्रो पुस्ताका नेताको मनमुटावले के–कति काम गर्ला !

रोल्पाका वर्षमान । रूकुमका जनार्दन । भू–गोलसँगै राजनीतिक संस्कार पनि एकैखाले छ । रोल्पामा वर्षमानको प्रभाव खस्किँदो छ । जिल्लामा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा समूह पनि उत्तिकै सक्रिय छ । अर्कोतिर प्रदेशसभा सदस्य दीपेन्द्र पुन हाबी छन् । अघिल्लो स्थानीय तहसमेत निर्वाचनमा माओवादी केन्द्रले सातवटा पालिका जित्दा एमाले दुई र कांग्रेस एक सीटमा उक्लियो ।

जनार्दन अझैसम्म रूकुमलाई माओवादी ‘किल्ला’ कै रूपमा चिनाउन सफल छन् । ०७४ सालको स्थानीय निर्वाचनमा त्यहाँका दशवटै पालिका माओवादी केन्द्रले जित्यो । वर्षमानको जस्तो रूकुममा अर्को कुनै समूह छैन । जिल्ला नै टुक्राएर गणेशमान पुनजस्ता युवा नेतालाई पाखा लगाइसकेका छन् ।

रूकुममा कम्युनिष्ट पार्टी संस्थागत गर्न जनार्दनका बुबा स्कन्द शर्माको महत्वपूर्ण भूमिका मानिन्छ । सानै उमेरदेखि राजनीतिक संस्कारमा हुर्किएका उनी ०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका हुन् । उनी जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन् । २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बने । पार्टीको कुशल संगठक मानिन्छन् । युद्धकालमा सेती महाकाली केन्द्रित संगठन विस्तार अभियानमा लागे ।

रोल्पाका वर्षमान पञ्चायतीकालमा वाम विद्यार्थी आन्दोलनबाट प्रभावित थिए । ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर सशस्त्र संघर्षको औपचारिक राजनीतिक यात्रा आरम्भ थालेका हुन् । रोल्पाको निम्नमध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन्, उनी । युद्धको बेला पूर्वाञ्चल र राजधानीतिर संगठन विस्तारमा लागे । र, माओवादीभित्र ‘स्पेस’को लडाइँमा रहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष प्रचण्डको वारिपारिका दुई किनाराजस्तै बनेका छन् ।

टिप्पणीहरू