फेवा नगरीमा कसलाई बेफाइदा,कसलाई फाइदा ?

फेवा नगरीमा कसलाई बेफाइदा,कसलाई फाइदा ?

पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने भन्ने स्थानीय केही काँग्रेस नेताको विरोध बिस्तारै मत्थर भएको छ । राजनीतिमा पोलिटिक्स घुसेको कारण यस्तो अवस्था सिर्जना भएको भन्नेहरु पनि छन् ।

उक्त महानगरको २१ नम्बर वडा मात्रै मेयरमा उम्मेदवारी हालेको गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । उपमेयरमा नेपाली काँग्रेस र अरु वडामा काँग्रेस अनि माओवादीका उम्मेदवार कायम छन् ।

मेयर र उपमेयरको प्रचारप्रसार आजबाट वडागत रुपमा गर्ने व्यवस्था मिलाइएको छ । हिजो उम्मेदवारले चुनाव चिन्ह पाएकाले आजदेखि प्रचारप्रसार थालिएको हो ।

यसअघि देखिएको विरोधका बाबजुद पनि त्यहाँ गठबन्धनको तर्फबाट उठेका मेयर र उपमेयरका उम्मेदवारको पक्षमा काँग्रेसीहरु एक जुट हुन थालेको बताइन्छ । मेयरका उम्मेदवार धनराज आचार्य तुलनात्मक रुपमा तल भिजेका र रविन्द्र अधिकारीका भरपर्दो मित्र हुन् ।

“महानगर क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय बनाइएको छैन । ट्राफिक लाइटको व्यवस्था पनि गरिएको छैन । बिजुलीका तारहरु भूमिगत गर्ने भनिएको थियो, त्यो पनि गरेको देखिएको छैन ।”

एमालेको तर्फबाट यसपटक उम्मेदवारी दिएका कृष्ण थापा पहिले पनि यहाँ मेयर थिए । तर पछिल्लो पटक उनको लोकप्रियता आफ्नै साथीहरूवीछ गुटबन्दीको कारण समस्यामा परेको छ । प्रदेशसभा सदस्य रहेका उनले सांसदबाट राजीनामा दिएर मेयरमा उठ्न आएकाले एमाले कार्यकर्ताले नै अरुको भाग खोस्न कहिँ पनि नछाड्ने भनी खिसीटियुरी गरेका हुन् ।

उनको उम्मेदवारीपछि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा लमजुङ घर भएका एमाले नेता पृथ्वीसुब्बा गुरुङ र उनका मान्छे भड्किन थालेको चर्चा छ । गुरुङ पक्षधरहरुले आफूहरुले पाउने टिकट प्रदेश सदस्यबाट झरेर आएका थापाले लिएपछि भाग खोसिएको बताएका छन् ।

यसअघि मेयरको टिकट पाइसकेका दिपक पौडेल पृथ्वीसुब्बाका खास कार्यकर्ता थिए तर उनलाई सुनकाण्डको बात लगाएर २४ घण्टा नकट्दै भोलिपल्टै उम्मेदवारीबाट खुस्काइयो । थापासँग न २ दशकअगाडि , न अहिले नै विकासका कुनै योजना र कार्यक्रम रहेको पोखरेली एमाले कार्यकर्ताकै गुनासो छ ।

यसअघि फेवाताल किनारमा कर्ण शाक्यको रिसोर्टलाई मापदण्ड लगाउने हालका मेयर मानबहादुर जिसीको टोलीले त्यहीँ नजिकै भरत पहारीको नौ तले होटललाई भने ठड्याउन अनुमति दिएको पोख्रेली मतदातालाई मन परेको छैन । उक्त होटल प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै नगरवासीको आपत्तीका वावजुद उद्घाटन पनि गर्नुभएको थियो ।

अहिले एमालेबाट मेयरमा फेरि उठेका थापा साढे दुई दशकअघि त्यही पदमा हुँदा एसियाली विकास बैंकको सहयोगमा सडक किनार नाली बनाइएको थियो । तर, नालीको निकासलाई फेवातालमा मिसाएका कारण ताल अहिले प्रदुषित भएको बताइन्छ । त्यो विषयले पनि अहिले पोखरामा उग्र रुप लिएको छ ।

उता पोखरा १६ मा बनाइएको एउटा किरियापुत्री भवनको विवाद पनि अहिले थापाको निम्ति घाँटीमा अड्केको हाड भएको छ । त्यहाँका क्षेत्रीहरुले स्थानीय दलितलाई उक्त भवनमा प्रवेश गर्न दिएनन् । त्यतिबेला क्षेत्री र दलितहरुबीच ठूलै झगडा भयो । दलितहरुले मुद्दा हाले र दुई जनालाई प्रहरीले समात्यो । पक्राउ परेकाहरुलाई छुटाउन कृष्ण थापाले प्रदेश सभाको सदस्य हुँदा वक्तव्य नै जारी गरेको विषयलाई पनि अहिले दलितहरुले चर्काएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमाले पोखराले पाँच वर्षे प्रतिबद्धता सार्वजनिक गरेको थियो । तर उक्त प्रतिबद्धताअनुसारका कार्य खासै नभएको बताइन्छ । महानगर क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय बनाइएको छैन । ट्राफिक लाइटको व्यवस्था पनि गरिएको छैन । बिजुलीका तारहरु भूमिगत गर्ने भनिएको थियो, त्यो पनि गरेको देखिएको छैन । अन्य धेरै प्रतिबद्धता पूरा नभएकोमा स्थानीयले चर्को असन्तुष्टि जनाएका छन् ।

तर एमालेको जनाधार भने राम्रै देखिन्छ । २०७४ सालको जनाधारलाई आधार मानेर जितिन्छ भन्नु उचित नहुने काँग्रेसी कार्यकर्ताहरु बताउँछन् । किनभने ती पहिलेका आधार अर्थात जगका धेरै ढुंगा लाखापाखा लागिसकेको छ । मूल कुरो पार्टीको जग नराम्रोसँग हल्लिएको विपक्षीहरुको भनाइ छ ।

पाँच वर्षअघि पनि काँग्रेसका उम्मेदवार खासै दमदार थिएनन् । उनलाई थोरैले मात्र चिन्थे । ती उम्मेदवार अहिले बितिसके । त्यतिबेला पोखरा र लेखनाथ नगरपालिकामा आफ्नै खालको सेन्टिमेन्ट थियो ।

लेखनाथलाई पोखरा महानगरमा गाभेको कारण लेखनाथवासीहरु आफ्नो अस्तित्व नै समाप्त हुन्छ कि भन्ने भयमा थिए । त्यसैले पनि लेखनाथका अधिकांशले मानबहादुर जिसीलाई भोट हाले । जिसी लेखनाथका वासिन्दा हुन् । सहानुभूतिपूर्वक त्यतिबेला त्यहाँका काँग्रेसीहरुले समेत उनलाई भोट दिएका थिए ।

अर्कोतर्फ काँग्रेसको संगठन पनि पोखरामा त्यत्ति कमजोर नभएको एमालेले समेत स्वीकारेको छ । गठबन्धनको हकमा काँग्रेसीहरु एक ढिक्का छन् भनिन्छ । काँग्रेसका दुई जना बागी उम्मेदवारले नाम निकालेकाले अब खासै असर गर्दैन भन्न थालिएको छ । बाँकी रहेका एक जना बागी विमल कार्कीले ४ सय भोट पनि नकटाउने सुरक्षा श्रोतको रिपोर्ट छ ।

टिप्पणीहरू