पहिलो प्रेमको कहिल्यै निबर्सने पीडा

पहिलो प्रेमको कहिल्यै निबर्सने पीडा

कान्तिपुरकर्मी दीपा दाहालले आफ्नै अग्रजबाट भोगेको यौनहिंसाको घटनाले अहिले मिडिया क्षेत्र तातिरहेको छ । भन्छिन्– ‘देशको नम्बर एक भनिएको मिडिया हाउसमा जागिरदेखि शरीरसम्म सुरक्षित छैन । म पनि उनीजस्तै शब्द र अक्षरका गिट्टी कुटेर यो महँगो शहरमा सस्तो जीवन जिइरहेको एक रेडियोकर्मी हुँ । दीपाहरू हिंसा र जागिरबाट हटाइएका कारण पीडामा छन् । मचाहिँ प्यारले बर्बाद भएको छु !’

प्यारले त जीवन हराभरा हुनुपर्ने तर जीवन ओरालो लाग्दोरहेछ । बर्बाद हुँदोरहेछ । विगतका दिन बिर्सन प्रयास गर्छु । जीवनमा कतिपय चिज सम्झन मात्र होइन बिर्सन पनि गाह्रो हुँदो रहेछ । यादहरू मगजमा यसरी टाँसिएर बसेका छन्, जति बिर्सन खोज्छु उति गाढा बनेर आउँछ । विद्यालय तहमा कहिल्यै दोस्रो भइन । अतिरिक्त क्रियाकलापमा सदैव अब्बल । जब उच्च शिक्षा अध्ययनका लागि झोलाभरि सपना र मनभरि भविष्य बोकेर भित्रिएँ काठमाडौं । हो, यही खाल्डोले निल्यो मेरा सपना र जिन्दगी ।

कलेज अध्ययनकै सिलसिलामा जोडिएँ, एक एफएम स्टेशनमा । ६/६ महिनामा बसाईं सरें, एउटा एफएमबाट अर्काेमा । अहिले राजधानीकै चल्तीको एउटा रेडियो स्टेशनमा टेक्निसियन छु । यसका अलावा डान्स टिचरको काम पनि गर्छु । रेडियोमा कार्यरत रहँदै पढाइको रथ पनि अघि बढिरहेको थियो । मान्छेहरू भन्थे सरस्वती र लक्ष्मी एकसाथ आर्जन हुँदैन तर म थोरै नै सही धन आर्जन गर्दै विद्या अघि बढाइरहेको थिएँ । ब्याचलर तह अध्ययन गर्दै गर्दाको समय घरबाट बाबा /बिरामी हुनुभयो भन्ने फोन आयो ।

सलाई हृदयदेखि चाहेँ त्यो पाउन सकिन । र, जोसँग जीवन गुजारिरहेको छु त्यो मेरो चाह थिएन । सुनेकाे थिएँ, ताेड्नैका लागि कसम खाइन्छ । फटाह मान्छेले सबैभन्दा धेरै कसम खान्छ ।

घर आइपुग्दा कुरा अर्कै रहेछ । बुवा बिरामी हुनुभएको नभई विवाह छिन्न पो ढाँटेर बोलाइएको रहेछ । राम्रो खानदानकी छोरी । बुवा, ममीको कुराले झसंग बनायो । हजारौँ काँडाले एकैपल्ट घोचेजस्तो भयो । ठूलो भुमरीमा फसेजस्तै । टेकेका जमिन भासिएझैं । जन्म दिने बुबा आमाको कुरा प्रतिकार गर्नै सकिनँ र बाँधिएँ विवाह बन्धनमा । विवाह धूमधामसँग भयो । सबै खुशी थिए मबाहेक । मैले जसलाई चाहेँ त्यो पाउन सकिनँ । जसलाई पाएँ त्यो मेरो चाहना होइन ।

हाय भावी तेरो खेल ! मान्छेको जात कस्तो ! जे छैन, त्यसैको चासो र चिन्तामा भौँतारिने ? यस्तो पीडाको पहाड मैले मात्र भोगेको हो वा अरुको जीवनमा पनि आइलाग्छ ? विवाह भएको सात वर्ष बितेछ । काखमा छन् २ छोरी । भनिन्छ पनि, संसारमा सबैभन्दा खुशी दिने ठाउँ परिवार र सबैभन्दा मान्छे दुःखी हुने ठाउँ पनि परिवार । परिवारमै गडबड भयो भने मान्छेले चाहेर पनि प्रगतिको द्वार भेट्टाउन नसक्दो रहेछ ।

मान्छेको स्वभाव कस्तो भने जो आफूसँग छैन, उसैको खोजीमा तड्पन्छ÷भौँतारिन्छ । जो आफूसँग छ उसलाई कौडीको ठानिदिन्छ । हो, यस्तै हालमा गुज्रिएको छु । थाहा छैन, यो अजंगको समस्याको पहाडबाट कसरी बाहिर आउने ? मान्छेको जात, बडो अनौठो । आफूसँग जो छैन, उसकै कोरा कल्पनामा डुबिरहेको हुन्छ हरपल । फ्ल्यासब्याकमा फर्कन्छु र सम्झन्छु तिमीलाई । मायाले त साह्रै पोल्ने र रुवाउने रहेछ ।

यहाँ आँखा खोल्दा वा चिम्लँदा पनि आफ्नो हुन नसकेको मान्छेकै यादका तरेलीहरू आइरहन्छन् । र, भिज्छन् परेलीहरू । हिजै जस्तो लाग्छ, उनीसँग चोर–पुलिस खेलेको । कति चोखो थियो हाम्रो प्यार ! कृत्रिम थिएन, कत्ति पनि नक्कली थिएन त्यो माया । मनैदेखिको र बेशर्त प्रेम थियो त्यो । लाग्छ, अहिले जोसँग बन्धनमा बाँधिएको छु योचाहिँ दैहिक आवश्यक्ता पूरा गर्ने उद्देश्यले र समाजले कुरा नकाटोस् भनेर बाँधिएको एउटा बन्धन मात्र हो ।

जसलाई हृदयदेखि चाहेँ त्यो पाउन सकिन । र, जोसँग जीवन गुजारिरहेको छु त्यो मेरो चाह थिएन । नभएको र हुन नसकेको प्रेमिकाको यादमा तड्पिएर जीवन अगाडि बढ्दैन । थाहा छ । तर, त्यहाँबाट कसरी बाहिर आउने ? दाम्पत्य जीवन चल्छ एक मुठी मायामा । त्यही माया प्रेमलाई पनि तिमीले जुठो पारेर गयौ । म तिमीबाहेक अरूसँग खुशी हुनै सक्दिनँ तर त्यसो भन्दै आँशु खसालेर रुँदैमा तिमी फर्किएर आउने पनि होइनौ मेरो जीवनमा । यदि, त्यस्तो हुन्थ्यो भने हजार जुनीसम्म तिम्रैनिम्ति रोएर बिताइदिन्थेँ ।

हामी जति छिटो बाँधिएका थियौँ प्रेममा उति नै छिटो टुट्यौं । भत्कियौँ । हामी एक हुन नसकेको र बिछोड भएको पनि ४ वर्ष बितिसकेछ । चाहेर पनि भुल्न सकेको छैन ती दिन । मान्छेहरू भन्थे, पहिलो प्रेमलाई भुल्न सकिँदैन । काठमाडौं आएको पनि दश वर्ष बितिसकेछ तर कति छिट्टो बित्यो समय ? केही गर्न सकेको छैन यो अवधिमा । उही सास अड्याउनेबाहेक । तिमी धनकुटा, म काठमाडौं । एक मन भन्छ, तोडौं सामाजिक बन्धन र अँगाल्छु तिमीलाई ।

तर, सक्दिनँ । अगाडि आएर उभिइदिन्छ परिबन्द । कसको के जोर चल्दोरहेछ र यो परिबन्दको अगाडि ? यो शहर जहाँ जोडिएका छन् घरहरू, कोठाहरू । तर, कोसाँै टाढा छन् मान्छेका मनहरू । गाउँमा घर टाढा–टाढा भए पनि मन नजिक हुन्छ तर शहर ठीक उल्टो छ । अतितका घाउले कति दुख्छ र पोल्छ । त्यो त दुख्नेलाई मात्र थाहा हुँदो रहेछ । एकमुठी सास तिम्रै यादमा अडिरहेको छ ।

मेरो विवशताको फाइदा उठाएर तिमी पराइको भयौ र मेरो चोखो माया लत्यायौ । आज यस्तो मोडमा पुग्छु भन्ने सोचेको पनि थिइनँ । मनकामना मन्दिर गएर सँगै बाँच्ने सँगै मर्ने कसम खाएको हिजैजस्तो लाग्छ । ती कसम कहाँ गए ? अँगालोमा बाँधिएर खाएका कसम हिजैजस्तो लाग्छ । अविवाहित प्रेमी÷प्रेमिका जोडी बाँधिएर मनकामना दर्शन गर्न जानु हुँदैन भन्थे हो कि जस्तो लाग्छ अचेल । मनकामना साक्षी राखेर खाएका थियौं कसम । सुनेको थिएँ, तोड्नैका लागि कसम खाइन्छ । फटाहा मान्छेले सबैभन्दा धेरै कसम खान्छ रे ! मेरो साथमा आज सबै थोक छ । पैसा, नाम, जागिर । केवल छैनौं तिमी । त्यसैले खल्लो यो जिन्दगी नून बिनाको तरकारीजस्तो लाग्छ ।

हिजो हाम्रो माया पिरती देखेर नजल्नेहरू सायदै थिए, आज तिमी अर्कैको अँगालोमा बाँधियौं । सायद हाम्रो मायामा पराइको आँखा लागेछ क्यारे ! मेरो विवशता र बाध्यता जान्ने प्रयाससम्म गरिनौ । तिमीले बोलाएकी थियौ चितवन । अफिसको कामले बिदा मिलेन । बेलैमा आउन सकिनँ । मलाई के थाहा तिमीले बोलाएको स्थानमा नपुग्दैमा जिन्दगीमा यति ठूलो घटना घट्छ भनेर ? मनदेखि नै गरेको माया यति सजिलै टुक्रन्छ भनेर ? तिमीले त मलाई अन्तिम भेट गर्न पो बोलाएकी रहेछौ । चितवन आइपुग्न नसक्नुकै कारण मेरो जीवनमा यत्रो बज्रपात बर्सियो ।

कोही कसैको बिना मर्ने त होइन यद्यपि निष्ठुरीलाई भुल्न नसक्नु मेरै कमजोरी हो । मैले त माया गरेको थिएँ । चोखो । सच्चा मनले चाहेको थिएँ । त्यसैको फल होला सायद बदलामा आँशु पिलाएर गयौ । पल/पल जलिरहेको छु मैनझैँ । जिन्दगीले कति चोट दिन सक्छ सहिदिउँला, थाहा छ यहाँ सहनेकै छाती अचानो हुन्छ । हिजो तिमी नै भन्ने गथ्र्यौ तिमीलाई पीडाले दुख्दा म पनि पीडाले दुख्छु/छट्पटिन्छु । कसरी सक्ला एउटा पुरुषले आफ्नी संगिनीको सिउँदो अरुले नै रंगाएको हेर्न ? गरिब थिएँ । तिम्रा सारा खुशी किन्न सक्दिनँथेँ होला । तिम्रा सारा खुशीहरू पूरा गर्ने सक्दिनथेँ, त्यसै कारण त तिमी रमाउँदै गयौ पराइको अँगालोमा । दुख्दो रहेछ मुटु बिछोडको पीडाले । जति दुख्दैन होला सायद कुनै धारिलो वस्तुले रेट्दा ।

– दीपेश घिमिरे (नाम परिवर्तन)

टिप्पणीहरू