देशलाई यो राजनीतिले कहाँ पु¥यायो ?

देशलाई यो राजनीतिले कहाँ पु¥यायो ?

-दीपक खनाल

नेपालका राजनीतिक पार्टीहरूमा लफडै लफडा छ । पुरानो पार्टी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीहरूदेखि नयाँ विवेकशील साझा पार्टी, नेकपा विप्लव समूहसम्ममा एकै प्रकारको रोग देखिएको छ : टुटफुट, दन्तबजान, आरोपप्रत्यारोप, गुटउपगुट, सिद्धान्तविहीनता ।

जीवन्त पार्टीमा अन्तरविरोध हुनु स्वाभाविक हो । अन्तरसंघर्ष र अन्तरविरोधले नै पार्टी र संगठनलाई बलियो बनाउँछ । तर सबै पार्टी वास्तविक वैचारिक र सैद्धान्तिक अन्तरसंघर्षभन्दा फरक फरक समस्याको गोलचक्करमा फसेका छन् । मुलुक विकासको जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो हुन नसक्दा पुररुत्थानवादी शक्तिहरूले सम्पूर्ण समस्या, अस्थिरताको दोष परिवर्तनका बाहक राजनीतिक शक्तिमाथि थोपरेर फ्रस्टेटेड जनताको मत लिने सपना देखिरहेका छन् । जहाँ जहाँ जो जोसँग स्वार्थ मिल्छ, जित्न सकिन्छ, त्यसरी मिल्न, उठ्न खोज्दैछन् ।

कांग्रेस बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादको सही मार्गमा हिँडेको छैन । तर ऊ आफूलाई बीपीकै अनुयायी भनिरहेको छ । यदि इमान्दारीसाथ बीपीको सिद्धान्तको राजमार्गमा हिँडेको भए कम्युनिष्ट भनिने पार्टीहरू समाजवादसम्मको यात्रामा कांग्रेसभन्दा पछि नै पर्ने थिए । तैपनि कांग्रेस जबरर्जस्त राजनीतिक शक्तिका रूपमा स्थापित छ ।

विचारमा एकता र सिद्धान्तमा मतैक्यता नभए पनि कम्युनिष्टहरूको फुटका कारण कांग्रेसले शासनको डाडूपन्यु समाइरहन पाएको छ । कांग्रेस अचम्मको पार्टी हो । उसमा कहिल्यै भावनात्मक एकता भएको देखिँदैन । सधैँ चर्केको सिसाजस्तो हुन्छ तर पनि कांग्रेसीहरू रुखलाई आफूहरू सबैको शीतलछहारी ठान्दछन् । कम्युनिष्टहरू बरु कांग्रेसमा जालान् तर कांग्रेसीहरू कम्युनिष्ट भएको घटना बिरलै पाइन्छ । कांग्रेसलाई भोट हाल्न कम्युनिष्टको हात काम्दैन तर कम्युनिष्टलाई भोट हाल्न पर्दा कांग्रेसलाई हात उठाउन मात्र गाह्रो हुने होइन मनै अमिलो हुन्छ ।

फुटपछि घायल एमाले आफूलाई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सच्चा आदर्शवादी ठान्छ, कट्टर कम्युनिष्ट मान्छ । तर, जसरी पनि जित्नैपर्ने मान्यतामा जीवनभर राजाको छत्रछायाँमा हुर्केेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्छ । विखण्डनवादीको आरोप लागेको समूहलाई जबजभित्र हुल्छ ।

नेकपा (माओवादी) केन्द्र संसदीय राजनीतिक व्यवस्थाको गोलचक्करमा फसेर कुहिरोको कागजस्तो भएको छ । संसदीय खेलको राजनीतिमा खेल्न नजान्दा पटक–पटक लडेको मात्र छैन, विभिन्न टुक्रामा बाँडिइसकेको छ । आफ्ना नारा स्थापित गर्न र समाजवादउन्मुख संविधान बनाउन सफल भए पनि उसको यात्रा घोषणापत्रमा एउटा, व्यवहारमा अर्काे भएको छ । ऊ कहाँ, कसरी अगाडि बढ्ने भन्नेमै अलमलमा छ ।

जनता समाजवादी पार्टीको बीचमै हानथाप छ । यद्यपि जसपाले तराई मधेस र पहाडलाई जोड्न खेलेको भूमिकाका कारण तराई बस्ने मधेसी र पहाडी सबै नेपाली हुन् भन्ने मनोविज्ञान निर्माण गरेको छ । तराई मधेसका नेता सायदै पहाड, हिमालमा पुगेर जनतालाई संबोधन गर्थे तर त्यता जन्मेका जसपाका नेताले प्रायः पहाडीले ढाका टोपी लगाएर आफूहरू समग्र राष्ट्रकै नेता भएको सन्देश दिएका छन् ।

तैपनि, एक अर्कासँग नमिली यो पार्टीलाई स्थापित हुन गाह्रो छ । विवेकशील साझा पार्टीको यस्तै हालत छ । त्यो दल झण्डै फुटको अवस्थाबाट बचेको छ । रहस्यमय क्रान्तिको नारा लिएर भूमिगत भएको विप्लव नेतृत्वको माओवादीभित्रै विभाजनको रेखा दह्रैसँग कोरिएको छ । स्थानीय चुनावमा जाने नजाने विषयमा कुरा नमिल्दा यो पार्टी फुटको संघारमा पुगेको छ । उसको एकीकृत क्रान्ति र वैज्ञानिक समाजवाद अलपत्र छ । एक नेताले अर्काे नेतालाई सैद्धान्तिकभन्दा प्राविधिक आरोप (आर्थिक हिनामिना) लगाएर खुइल्याउन खोजिरहेका छन् ।

राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्र फिर्ता गर्ने रणनीतिमा कस्सिएर लागेको छ । कमल थापा बाहिरिए पनि उसले फेसबुके राजनीतिमा सक्रिय देखिएका ज्ञानेन्द्र शाही, रेखा थापाजस्तालाई प्रवेश गराएर क्षतिको पुर्ताल गरेको छ । राप्रपाले कांग्रेस र कम्युनिष्टले बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएको ३२ वर्षभन्दा बढी अवधिसम्म गर्न नसकेका लोकप्रिय कार्य र भित्रयाइएका विकृति, विसंगतिलाई प्रहारको मसला बनाउन पाएको छ ।

यसरी पार्टीभित्रै भद्रगोल नै भद्रगोल हुँदाहुँदै मुलुक दुई प्रकारको गठबन्धनतिर ढल्किएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एउटा कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी, राष्टिय जनमोर्चासहितको र अर्काे एमाले, राप्रपासहित केही शक्तिबीचको । खासगरी नेकपाका तीन बूढा (केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, केपी) बीचको इगो र व्यक्तित्वको टकरावका कारण सो पार्टी विभाजित हुन पुग्यो । यो फुटले नेपाली राजनीतिलाई नै गिजोलगाजोल पारिदियो ।

सर्वाेच्च अदालतको परमादेशबाट एमाले, माओवादीको पुनर्जन्म र एमाले फुटको फलस्वरूप कांग्रेससहितको गठबन्धन बन्न पुग्यो । र, राजनीतिमा कोही स्थायी मित्र र शत्रु हुँदैन भन्ने कुरालाई व्यवहारमा उतार्दै हिजो सशस्त्र द्वन्द्वकालमा काटाकाट र मारामार गरेका दलबीच घुर्कीफुर्कीका साथ गठबन्धन अघि बढिरहेको छ । यस्तै कागजी रूपमा कुनै सैद्धान्तिक राग नमिल्नेहरूबीच चुनावी गठबन्धन भएको छ । गणतन्त्र पक्षधर र राजतन्त्रवादी एउटै चुनावी चिह्नमा मतदान गर्न तयार भएका छन् । केही साना दललाई पनि दुई गठबन्धनमध्ये एकातिर जानुपर्ने बाध्यता भएकै छ ।

गठबन्धनको असर सिद्धान्तमा परेको छ । सबै पार्टीको मार्गदर्शक सिद्धान्त धरापमा परेको छ । अर्थात् सिद्धान्तबिनाको राजनीति गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पदीय स्वार्थबाहेक सैद्धान्तिक स्वार्थले ठाउँ नै नपाउने स्थिति पैदा भएको छ सबै पार्टीमा । जसरी पनि चुनाव जित्नै पर्ने भएकाले पार्टीहरू सिद्धान्त एकातिर थन्क्याएर चुनावी मैदानमा उत्रिएका छन् । अर्काेतिर गठबन्धनका कारण गाउँ र शहरका गठबन्धनधारी पार्टीकै नेता, कार्यकर्ता अलमल, आक्रोशित छन् । यस्तो समस्या खासगरी कांग्रेस र माओवादीबीचको गठबन्धनमा देखिएको छ ।

कांग्रेसका केही ठूला नेताले त माओवादीलाई माग्न आएको भनी अपमानित शब्द प्रयोग गरेका छन् । माओवादीलाई चिढ्याउने खालका अभिव्यक्ति दिएका छन् तर पनि माओवादी ती तीता अभिव्यक्ति सुनेर बस्न बाध्य छ । एक्लै चुनावमा जाँदा जिति नै हालिन्छ भन्ने पक्षमा माओवादी देखिँदैन । उसले आफूलाई एक्लै उभ्याउन सकेको छैन । माओवादी छिन्नभिन्न नभएको भए यो स्थिति आउने थिएन । कांग्रेसले माओवादीबिना लड्ने घमण्ड गरे पनि माओवादी र समाजवादी एसको सहयोग, समर्थनबिना बढी सिट जित्न गाह्रो छ ।

एमालेले बाहिर सिंगल–सिंगल भिड्ने त भनेको छ तर भित्र उसलाई पनि डर छ । पूर्व पञ्च र विखण्डनवादी आरोप लागेका स–साना समूहलाई साथ लिएर अघि बढ्नुपर्ने बाध्यता यही हो । एउटै सजिलो एमालेलाई कुनै निर्णय गर्न पाँच दिन पर्खन पर्दैन, कांग्रेस माओवादीसहितको पाँचदलीय गठबन्धनलाई एकै छिनमा निर्णय गर्न अप्ठ्यारो छ । सबैका कुरा सुनेर निर्णय गर्न कम्तीमा पनि पाँच दिन लाग्छ । समग्रमा सबैलाई उस्तै डर, त्रास, आशंका छ, कसको के अवस्था हुने हो त्यो रहस्य जनताको मनभित्र मात्रै लुकेको छ । सबै रहश्य वैशाख ३० गतेको निर्वाचन परिणामपछि खुल्ने नै छ ।

पदीय स्वार्थ नै कायम रहिरहेमा यो गठबन्धन संघीय चुनावसम्म जानेछ । यसका लागि स्थानीय तह निर्वाचनको परिणामलाई पर्खनुपर्ने हुन्छ । कांग्रेसले माओवादीइतर वा माओवादी इतरकाले कांग्रेसलाई धोका दिएमा संघीय निर्वाचनमा फेरि एमाले र माओवादीइतर पार्टीबीच चुनावी तालमेल नहोला भन्न सकिँदैन । सारमा सिद्धान्त एउटा, व्यवहार अर्काे बोकेर अस्तित्व जोगाउनुपरेको छ सबै पार्टीलाई । सबै पार्टीको जीवन सरल रेखामा अघि बढ्न सकेको छैन । त्यही भएर त रहेछ दिनेश अधिकारीको यो गीत तारा देवीले गाएको

सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
अनि यी सबै दलभित्रकै लफडा र बलजफ्ती बनाउनुपरेको गठबन्धनयुक्त राजनीति देख्दा रामकृष्ण ढकालले गाएको
मलाई यो जिन्दगीले कहाँ पु¥यायो ?
कहिले हँसायो, कहिले रुवायो,
आफ्नैसँग छुटाएर एक्लो बनायो
भन्ने गीतलाई अब यसरी गाए हुने भएको छ :
देशलाई यो राजनीतिले कहाँ पु¥यायो ?
थोरैलाई हँसायो, धेरैलाई रुवायो
कहिले उठायो कहिले बसायो
देशलाई यो राजनीतिले साँच्चै फसायो ।

यद्यपि सारतः वर्तमान समस्याको मूल कारण बहुदलीय लोकतन्त्रको अवगुण भए पनि वर्तमान राजनीतिक समस्या समाधानको उपाय निष्पक्ष मतदानमार्फत ताजा जनादेश लिनु नै हो ।

टिप्पणीहरू