रथमा करेन्ट लाग्दा ११ जनाको ज्यान गयो

दक्षिण भारतको तमिलनाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तिमा ११ जनाको ज्यान गएको छ । तञ्जावुर जिल्लामा निकालिएको रथले उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको त्यहाँको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना बालबालिका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् । उक्त घटनलाई लिएर प्रहरीमा नालिस हालिएको छ ।

रथ गुडाउन प्रयोग गरिएको जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । सोही क्रममा रथको माथिल्लो भाग हाईभोल्टेज तारसँग छुँदा उक्त दुर्घटना भएको हो ।

सडकमा पानीको खाल्डो भएकाले धेरै जना रथबाट टाढा बसेका थिए । सोही कारण करिव ५० जना भक्तजन केही सेकेण्डअघि मात्रै करेण्ट लाग्नबाट जोगिएको बताइएको छ ।

टिप्पणीहरू