राजधानीका ग्यास पसलेमाथि कारवाही शुरु

राजधानीका ग्यास पसलेमाथि कारवाही शुरु

बजारमा खाना बनाउने एलपीजी ग्यास लुकाउने आधा दर्जनबढी पसले कारवाहीमा परेका छन् । विगत दश दिन अघिबाट बजारमा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेकाले नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनबाट दोषी पाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा परेकाहरुमा ललितपुरस्थित राजु स्टोर्स, एस एन्ड जेएस स्टोर, शंखमूलस्थित मंगल खाद्य एण्ड ग्यास स्टोरलगायत हुन् । उनीहरुले ग्यास लुकाएको भेटिएपछि २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । अस्ति राजु स्टोर्स र एस एन्ड जेएस स्टोरमा तथा हिजो मंगल खाद्य एण्ड ग्यास स्टोरमा छापा मार्दा उनीहरुले ग्यास लुकाएको देखिन आएको हो ।

सुनाकोठीमा रहेको अदितराज स्टोर (ग्यास पसल) लाई बिनादर्ता सञ्चालन गरेको भन्दै विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै, दिप्सना किराना पसललाई पाँच हजार जरिवाना गर्दा अन्य आधा दर्जन ग्यास पसललाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताउनुभयो ।

उहाँले बजारमा हिमाल, श्रीराम लगायतका ग्यासको अभाव सिर्जना गरिएको उल्लेख गर्नुभयो । विभागको अनुगमन जारी रहेकाले अनुचित नाफा कमाउने उद्देश्यले ग्यास लुकाएको पाइएमा कडा कारवाही गरिने उहाँको भनाइ छ । भारतबाट ग्यासको नियमित आपूर्ति भइरहेकाले एकाध दिनमा ग्यासको अभाव हट्ने उहाँको दाबी छ ।

टिप्पणीहरू