ललितपुर उपमेयरकी एमाले उम्मेदवार शाक्यको उम्मेदवारी धरापमा

ललितपुर उपमेयरकी एमाले उम्मेदवार शाक्यको उम्मेदवारी धरापमा

नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उनीविरुद्धको उजुरी परेको हो ।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले दिनुभएको जानकारीअनुसार उपमेयरकी उम्मेदवार मञ्जलीमाथि सांसदको बन्दसूचीमा नाम रहेका कारण उजुरी परेको बुझिएको छ । आज पाँच बजेको समयमा उक्त निवेदन पर्न आएकाले उक्त निवेदन भोलि हेर्ने गरि आजलाई फाइल बन्द गरिएको उहाँले जनआस्थालाई जानकारी दिनुभयो ।

‘भोलि उजुरी दिने पक्षले उम्मेदवारको नाम बन्द सूचीमा रहेको प्रमाण जुटाएर ल्याएको खण्डमा उनको उम्मेदवारी स्वतः खारेज हुन्छ,’ मुख्य निर्वाचन अधिकृतले भन्नुभयो ।निर्वाचन आयोगले समानुपातिकतर्फ नाम भएकाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहेमा बैशाख १० गतेसम्म नाम हटाउन म्याद दिएको थियो । तर, मञ्जली माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकी र समानुपातिकमा माओवादीबाट बन्द सूची कायम रहेकाले नाम हटाउन असमर्थ भएको बताइएको छ ।

उनलाई माओवादी केन्द्रले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको थियो । तर, उनको मतदाता नामावलीमा नाम नभएपछि त्यतिबेला पनि पछि हट्नुपरेको थियो ।

यता, माओवादी केन्द्रले नाम नहटाइदिए के हुन्छ ? भन्ने प्रश्नमा सिवाकोटीले आयोगले ‘क्लियर’ गरे मात्र उम्मेदवार हुन पाइने उल्लेख गर्नुभयो ।

टिप्पणीहरू