चुनावको मुखमा भारत पस्ने चटारो

चुनावको मुखमा भारत पस्ने चटारो

चौरपाटी (अछाम) गाउँपालिका–१ का कैलाश आउजी घर–परिवारको गह्रुँगो ‘सपना’ बोकेर हतारिँदै प्रवासतिर लागेका छन् । उनलाई आउँदो स्थानीय तह निर्वाचनको चिन्तात छ तर वास्ता छैन । लामो गाउँ बसाइपछि फेरि ‘सपनाको शहर’ मुम्बई छिरेका हुन्, कैलाश । सुदूरपश्चिमको गौरीफन्टा नाका पार गरेर उनीजस्ता हजारौँ युवा भारत छिर्ने गर्छन् । एकातिर स्थानीय तहको निर्वाचन, अर्कोतिर काम खोज्दै प्रवास जानुपर्ने बाध्यता ।

जताततै समृद्धिको नारा एकोहोरो घन्किरहँदा हजारौँ युवाले चुनावको वास्तै नगरी थातथलो छाडिरहेका छन् । उनीहरू गाउँ–समाजमा विकास भएको हेर्न चाहन्छन् । ‘भ्रष्टाचार अन्त्य होस्’ भनी कामना गर्छन् । ‘चारैतिर बेथिति छ । जनप्रतिनिधि परिवारवादमा रमाएका छन् । युवालाई रोजगारी छैन । गाउँ–गाउँमा भ्रष्टाचार छ,’ कैलाशले भने, ‘नेताहरू टोल–टोलमा आउँछन् । नमस्कार गर्छन्, भोट माग्छन् । जितेपछि चिन्दैनन् । हाम्ले पनि किन वास्ता गर्नु ! दिक्कै लागिसक्यो ।’

निर्वाचन नजिकिएसँगै उम्मेदवारका आकांक्षी टोल–टोलमा छिरिरहेका छन् । नेताहरूले सकेसम्म युवालाई प्रयोग गर्छन् । भोट माग्न हिँडाउँछन् । रोजगारी सिर्जना नगर्ने तर युवा प्रयोग गर्ने नेताप्रति प्रवास जानेहरूको ठूलो गुनासो छ । कैलाशसँगै पूर्वीचौकी (डोटी) गाउँपालिका–७ का झंकर साउद पनि जन्मभूमि छाड्न आतुर छन् । मतदान अधिकारको प्रयोग गर्न गाउँ फर्किने बेला उनी भने उल्टै प्रवास हिँडेका हुन् ।

भन्छन्, ‘चुनाव आउँछ–जान्छ । गरिखानेहरूलाई के मतलब? भोट माग्दा मुसा हुन्छन्, जितेपछि बाघजस्तै ठान्छन् । नेताको पछि–पछि हिँड्नेहरूलाई पो रमाइलो छ । हाम्रो के काम ! हामीलाई बम्बैतिरै ठीक छ ।’ कोरोना महामारीले सुनसान बनेको गौरीफन्टा क्षेत्रमा आजभोलि व्यापक चहलपहल छ । भारतबाट भोट हाल्न घर फर्कनेहरूको पनि उस्तै भीड छ । गौरीगंगा (कैलाली) नगरपालिका–७ का रामु ताडी पनि प्रवास (मुम्बई) जानेहरूकै वरिपरि देखिन्थे । साथीहरू भेटेपछि आसन्न निर्वाचन रोजेनन्, प्रवास नै जाने निधो गरे ।

स्थानीय निर्वाचनमा हरेक पार्टीबाट युवाहरू जाग्नुपर्ने उनको भनाइ छ । ‘यी नेतालाई नै भोट दिने? उनीहरूले गाउँ–घरमा के कति राम्रा काम गरेका छन्? जता हे¥यो उतै भ्रष्टाचार छ । अब पनि यिनीहरूलाई नै जिताउनुपर्ने ?,’ आक्रोशित हुँदै रामुले थपे, ‘युवाहरू नजागेसम्म केही हुनेवाला छैन । दैनिक ज्याला मजदुरी गरी घरखर्च जुटाउने उनीहरूलाई के दशैं–तिहार, के चुनाव ! बर्सेनि रोजगारीका लागि सुदूरपश्चिमका लाखौं युवा भारत जान बाध्य छन् । मतदाताहरूले विपन्न जनताको हितमा काम गर्ने असल नेतालाई छान्न पनि सुझाएका छन् ।

चौरपाटी (अछाम) गाउँपालिकाका उजिर साउद, पदम साउद र हर्क आउजीले यसपटकको निर्वाचनमा भोट नहाल्ने बताए । ‘परिवार पाल्नुपर्छ । चुनाव पर्खेर पनि नहुने । बम्बै जाने बाध्यता हो । तर नेताहरूले भोट माग्दा मात्रै चिन्छन्, अरू बेला चिन्दैनन्,’ उजिरले भने । उनीहरूका प्रायः साथी भारतको विभिन्न शहरमा काम गरिरहेका छन् । कतिपय त गाउँ फर्केर खाडी मुलुकसम्म पुगे । आफू रोजगारीका लागि परदेश छिरे पनि योग्य र सक्षम युवा उम्मेदवारले जितेको हेर्न चाहन्छन्, पदम । ‘भोट हाल्यो, आफ्नै हातको दुःख । राम्रो मान्छेले जित्ने होइनन् । जोसँग पैसा छ, उसैले जित्छ,’ उनले भने, ‘यस्ता स्वार्थी नेताहरूलाई भोट दिएर के काम? आफ्नो पेशा गर्ने हो । किन टाउको दुखाउनु ?’

सीमा काट्दै गरेका हर्क आउजी बाध्यताले प्रवास छिर्नुपरेको बताउँछन् । ‘घरमै रोजगारी पाए किन जान्थेँ र बम्बै! भोटले भोको पेट भरिँदैन । पेट ठूलो कि भोट? परिवार छ, सपना छ, ऋण छ । मन पनि गाउँमै, तर भारत जानुपर्ने बाध्यता छ,’ उनी भन्छन् । पूर्वीचौकी (डोटी) गाउँपालिका–७ का अमर साउदले अघिल्लो चुनावमा राम्रो काम गर्लान् भनेर भोट हालेको तर नेताहरूले निराश पारेको बताए । अघिल्लो चुनावमा भोट हालेकोप्रति पछुतो मानिरहेका छन् ।

‘जनप्रतिनिधिले भ्रष्टाचार गरे । फेरि पनि यिनैलाई किन भोट हाल्नु? यहाँ बसेर भ्रष्टाचारी जन्माउनुभन्दा भारततिरै जानु राम्रो,’ उनले थपे, ‘न गाउँमा रोजगारी दिनसके, न राम्रो पढाइ छ । न त राम्रो अस्पताल नै बनाउन सके । जताततै आफ्ना मान्छे मात्रै भरेका छन् । नढाँटी भन्दाखेरी यिनीहरूलाई भोट हाल्नु भनेको भ्रष्टाचार गर भनेजस्तै हो ।’

टिप्पणीहरू