करोड होइन अर्ब हो

करोड होइन अर्ब हो

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस लिएको कुरालाई पुनः अस्वीकार गर्नुभएको छ । बरु त्यसलाई संशोधन गर्दै भन्नुभएको छ, ‘कहाँ ७० करोड लिएको हुँ र, ७० अर्ब पो लिएको हो त ।’

उहाँको यो संशोधित भनाइ अहिले भाइरल भएको छ । वास्तवमा पूर्वमन्त्री बास्कोटा घुस खाने नेता भए पनि उहाँमा इमान्दारीचाहिँ कायमै रहेको देखिन्छ । किनभने उहाँले घुस लिएको कुरालाई अरुले जस्तो ढाकछोप गर्नुभएन नि । जति खाएको हो त्यति नै भन्दिनुभयो । अरु घुस्याहा त बेइमान हुन्छन् ।

खानेबेला एक करोड खाइदिन्छन्, भन्नेबेला चाहिँ एक लाख खाएको भन्दिन्छन् । तर उहाँ त्यस्तो बेइमान घुस्याहा हुनुहुन्न रहेछ । उहाँ इमान भएको घुस्याहा हो भन्ने कुरा ओलीको तुलो होइन गोकुलको बोलीबाट प्रष्ट भयो ।

केपी ओली प्रधानमन्त्री भएको बेला उहाँले ७० करोड घुस लिएको कुरा बाहिर आएको थियो । धेरै चर्चा भएपछि राजीनामा दिनुभयो । वास्तवमा उहाँले रिसले राजीनामा दिनुभएको रहेछ । ७० अर्ब खाने मान्छेलाई ७० करोडमा झारेपछि रिस त उठ्छ नि ।

त्यतिबेला उहाँले ७० करोड खाएको छैन भनेर ठाउँ ठाउँमा भन्नु पनि भएको थियो । रेडियो, टिभीमै बोल्नुभयो । तर कसैले पत्याएनन् । यथार्थमा उहाँले ७० करोड नखाएको सत्य पनि रहेछ । किनभने उहाँले ७० करोड होइन, ७० अर्ब खानुभएको रहेछ । यथार्थ कुरा त भर्खर बाहिर आयो । होइन त ?

टिप्पणीहरू