हत्यारालाई कारवाहीको माग गर्दै सीतापाइला चोक ठप्प, प्रदर्शनमा वडाध्यक्ष सहभागी

हत्यारालाई कारवाहीको माग गर्दै सीतापाइला चोक ठप्प, प्रदर्शनमा वडाध्यक्ष सहभागी

सडक किनारामा हिँडिरहेका पुरुषको बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर आज राजधानीको सीतापाइला चोक अवरुद्ध बनाइएको छ । उक्त चोकमा हिजो हिडिँरहेका मानिसलाई बसले ठक्कर दिँदा ज्यान गएको भन्दै मृतकका आफन्तले सडक ठप्प पारेका हुन् ।

प्रहरीका अनुसार हिजो बिहान नागार्जुन नगरपालिका वडा नम्बर ४ का दुर्गाराज लौडारीको बसको ठक्करबाट मृत्यु भएको थियो । मृतक लौडारीको मृत्यु स्वाभाविक नरहेको त्यो हत्या भएको बताउँदै आज बिहान ९ बजेबाट सीतापाइला चोकबाट भीमढुङ्गातर्फ जाने सडकमा नाराबाजी समेत गरिएको थियो ।

झण्डै ६० जनाको संख्यामा जम्मा भएका मृतकका आफन्त तथा प्रदर्शनकारीहरुले सडक सुरक्षाको व्यवस्था गर, मान्छे मार्न पाईंदैन, हत्यारालाई कारवाही गर, शान्ति सुरक्षा कायम गरलगायत नारा लगाएका थिए ।

घटनास्थलमा मृतकका भाइ ठाकुरप्रसाद लौडारी, छोरा सन्तोष लौडारी, वडाध्यक्ष करुण कुमार बलामी, ज्वाईं शंकरनिधि पाण्डेलगायतको उपस्थिति थियो ।

प्रदर्शनमा सहभागी वडाध्यक्ष बलामीका अनुसार भीमढुंगा यातायात व्यवसाय समितिले क्षतिपूर्ति दिन आनकानी गरेको र बस सञ्चालकका तर्फबाट पनि कुनै प्रतिक्रिया नआएपछि सडक अवरुद्ध पारिएको हो ।

टिप्पणीहरू