मार्सी बोल्दाबोल्दै बहकिएपछि झापाबाटै लखेटिए

मार्सी बोल्दाबोल्दै बहकिएपछि झापाबाटै लखेटिए

नेकपा एमालेका नेता तथा विवादास्पद मेडिकल व्यवसायी मार्सी उपनामले प्रख्यात दुर्गा प्रसाईँ सार्वजनिक मञ्चबाट लखेटिएका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएका उनी घुमाउरो पाराले त्यहिँ भोट माग्न थालेपछि बोल्दाबोल्दै खेदिएका हुन् ।

प्रसाईं किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा मन्तव्यका लागि निम्त्याइएका थिए । तर,उनले बोल्ने क्रममा अनेक आश्वासन दिन थालेपछि सहभागीहरुले भोटको राजनीति गरेको भन्दै हुटिङ गरे । प्रसाईं मञ्चमा बोलिरहेका बेला प्रतिवाद भएको आज सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियो क्लिपमा देख्न सकिन्छ ।

भिडियोमा प्रसाईँले “छोरीहरुको विवाह गर्न १५/२० हजारले रोकियो भने मेरो ढोका राति १२ बजे पनि खुल्ला हुन्छ,आउनुहोस्’ भनेका छन् । ‘तपाईहरु औषधी उपचार नपाएर तड्पिनु भएको छ भने म सहयोग गर्न तयार छु’ भन्दाभन्दै तल फ्लोरबाट विरोध भएको थियो ।

“छोरीहरुको विवाह गर्न १५/२० हजारले रोकियो भने मेरो ढोका राति १२ बजे पनि खुल्ला हुन्छ,आउनुहोस्’

उनले औषधी उपचार र विद्यालय भवन बनाउने कुरा गर्न थालेपछि भोट माग्न थालेको भन्दै प्रतिवाद गरिएको देख्न सकिन्छ । राजनीतिक ब्लयाकमेल गरेको भन्दै कार्यक्रममा उपस्थितहरुले लगातार होहल्ला गरेपछि प्रसाईं मञ्च छाड्न बाध्य भएका थिए । होहल्ला भएपछि वीचमा केहीबेर अड्किदै फेरि बोल्दै गरेका उनी अन्त्यमा ‘ल मेरो भनाइ यहिँ अन्त्य गर्छु’ भनेर निस्किएका थिए ।

केही वर्षयता प्रसाईँ पटक-पटक विवाद र चर्चामा छन् । एमाले र माओवादी केन्द्रको एकताका बेला केपी ओली र प्रचण्डलाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं झापाको बिएन्डसी मेडिकल कलेज सञ्चालक हुन् । उनी विवादास्पद छविका मेडिकल व्यवसायीका रुपमा चिनिन्छन् ।

प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि घुस मागेको आरोप लगाएपछि विवादमा तानिएका थिए । गिरीले उनीविरुद्ध अदालतमा रिट हालेपछि केही समय फरारसमेत रहे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई सम्बन्धन दिन अस्वीकार गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई गुहार्दै प्रसाई सिंहदरबार र बालुवाटार चाहार्ने गरेको आरोप लागेको थियो ।

त्यतिबेलैदेखि ओलीसंग विश्वासिलो सम्बन्ध बनाएका उनले हालसालै एमालेमा छिरेर मनोनित कोटाबाट केन्द्रीय सदस्य पड्काएका छन् । एमालेले झापामा सांसदको टिकट दिने भन्दै उनले अहिलेदेखि नै तयारी थालिसकेका छन् ।

एमालेको चितवन महाधिवेशनमा ‘बन्द सत्र कि बन्द अठार जान्दिन’ भनेर पनि मार्सी चर्चामा आएका थिए । त्यतिबेला एमाले अध्यक्ष ओलीले वाचन गरेको केन्द्रीय सदस्यको लिष्टमा नपरेपछि ठुस्किएर उनले त्यसो भनेका थिए ।

प्रसाईँले हालसालै भक्तपुरमा भव्य तरकारी बजार सन्चालनमा ल्याएका छन् । तरकारी बजारको उद्घाटन गर्न ओलीलाई बोलाएका उनले रातो कार्पेटमा हिँडाएका थिए ।

लिखित भाषण पढेका प्रसाईंले त्यो कार्यक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावमा पत्तासाफ हुने दाबी गर्दै एक सिट जिते आफ्नो सबै सम्पत्ति पास गरेर दिने बताएका थिए । निकै विवादमा परेको उनको उक्त लिखित भाषणलाई आलोचकहरुले ओलीका कुरा प्रसाईंको मुखबाट बकाइएको भनेर व्यंग गरेका थिए ।

टिप्पणीहरू