बाइक जोगाउने भए मलाई भोट दिनुस् : बालेन शाह

बाइक जोगाउने भए मलाई भोट दिनुस् : बालेन शाह

चर्चित र्‍यापर बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आज राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएलगत्तै पत्रकारहरुसँगको कुराकानीमा उनले आफू मेयर पदमा विजयी हुने विश्वास लिएको बताए । काठमाण्डौं महानगरपालिकामा दुई ठूला दल नेकपा एमाले र कांग्रेसको भोट काटेर चुनाव जित्ने उनको दाबी छ ।

राजनीतिक दलहरुको सिन्डिकेट तोड्न आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उनले बताए । दलको उम्मेदवार बनेर चुनाव लड्दा त्यहि पार्टीलाई कमाइदिनुपर्ने,उनीहरुका मान्छेलाई जागिर लगाइदिनुपर्ने भएकाले आफूले त्यसविरुद्ध उम्मेदवारी दिएको उनको भनाइ छ ।

शाहले आफूले चुनाव जिते काठमाडौँको मुहार फेरिदिने घोषणासमेत गरेका छन् । पहिलेजस्तो खाल्डामा मोटरसाइकल नखसाल्ने भए आफूलाई भोट दिएर विजयी गाराउन उनले काठमाडौँका मतदातालाई आग्रह पनि गरेका छन् ।

टिप्पणीहरू