हाम्रो सहयोगमा ओलीले जितेको हेक्का रहोस्

हाम्रो सहयोगमा ओलीले जितेको हेक्का रहोस्

– राजेन्द्र लिङ्देन, अध्यक्ष राप्रपा

आदिवासी समुदायका भएर पनि जातीय आरक्षणको विरोधी नेताका रूपमा चिनिन्छन् राजेन्द्र लिङदेन, जसले ०७४ को निर्वाचनमा देशैभर नील हुँदा राप्रपाको साख जोगाउन सफल भएका थिए । यसअघि दुई कार्यकाल महामन्त्री चलाइसकेका लिङ्देन शालीन र शिष्ट नेताका रूपमा चिनिन्छन् । तत्कालीन अध्यक्षत्रय पशुपतिसमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितबाट पार्टी चल्दैन भन्ने एजेण्डाका साथ कमल थापाविरुद्ध मैदानमा होमिएका उनी ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्ष चुनिएका हुन् । लिङ्देनलाई राजा ज्ञानेन्द्रले जिल्ला विकास समिति झापाको सभापतिमा मनोनयन गरेका थिए । ताप्लेजुङमा जन्मिएर, झापामा हुर्किएका र पहिलो संविधानसभा सदस्यसमेत रहिसकेका लिङ्देनले ०७४ मा कांग्रेसका हेभिवेट नेता कृष्ण सिटौलालाई हराएका थिए । उनैको व्यक्तित्वबाट प्रभावित भएर सोमबार मात्र पूर्वसचिव केदार अधिकारी राप्रपामा प्रवेश गरेका छन् ।

– हरि गजुरेल

स्थानीय तहको चुनाव हुने मिति नजिकिएको छ । दलहरू गठबन्धनसहित चुनावमा होमिँदै छन् । राप्रपालाई गठबन्धनप्रति अरुचि किन ?

– हामीले ३०÷३२ वर्षको लिगेसी बोकेका पार्टीहरूको विकल्पको रूपमा आफूलाई स्थापित गर्न खोजेका छौँ । एक्लै चुनावी मैदानमा जाने र आफ्नो पक्षमा कस्तो जनमत छ ? बुझ्ने प्रयास गरिरहेका छौं । त्यसका बाबजुद पनि कतिपय स्थानीय तहमा सामान्य तालमेल हुन सक्ने स्थिति छ ।

तपाईंहरूको कुरा पाँचदलीय गठबन्धनसँग करिब करिब मिल्छ । तर, तालमेल किन हुन सकेको छैन ?

– के कुरामा एजेण्डा मिल्छ र राप्रपाको ? पाँचदलीय गठबन्धन पनि यथास्थितिकै प्रतिनिधि हो । हामी त यथास्थितिको अन्त्य गरेर देशलाई नयाँ ढंग र नयाँ सम्झौताबाट अगाडि लैजानुपर्छ भन्ने धारको नेतृत्व गरिरहेका छौं ।

तपाईंकै गृहजिल्ला वा निर्वाचन क्षेत्र झापामा केन्द्रको गठबन्धनभन्दा विपरीत एमाले र कांग्रेस मिलेर राप्रपासँग भिड्ने भन्दै छन् । यसलाई कसरी लिनुहुन्छ ?

– कांग्रेस, माओवादी र एमाले भनेका अलग पार्टी होइनन् । एकै सिक्काका दुई पाटा हुन् । देशलाई बर्बादीको यो बिन्दुमा पुर्याउनका लागि यी दल समान जिम्मेवार छन् भन्ने पुष्टि हुँदै छ । यसमा म खुशी व्यक्त गर्छु ।

त्यहाँ राप्रपाको अवस्था कस्तो होला ?

– राप्रपाले विगतको भन्दा राम्रो गर्छ । हामीले जितेका स्थानीय तहमा अरुले भन्दा फरक काम गरेर देखाएका छौँ । स्थानीय जनता जसले कांग्रेस, एमाले, माओवादीलाई विजयी गराए, राप्रपालाई मत नदिएर गल्ती भएछ भन्न थालेका छन् ।

राप्रपाले जितेका ठाउँमा जनताका छोराछोरीले १२ कक्षासम्म निःशुल्क पढ्न पाउने, बिर्तामोड शहरमा भन्दा ३० प्रतिशत सस्तोमा औषधि पाइने, हरेक वडामा कालोपत्रे सडक पुग्ने, पूर्वाधारदेखि अन्य दृष्टिकोणले अगाडि हुने स्थिति छ ।

तर, हामी मात्र किन पछाडि ? कांग्रेस, एमालेलाई जिताउने गाउँपालिका वा नगरपालिकाका जनताले किन छोराछोरीलाई शुल्क तिरेर पढाउनुपर्ने भन्ने प्रश्न अहिले उठाइरहेका छन् ।

ठूला दलहरू नै गठबन्धनसहित निर्वाचनमा होमिएका छन् । राप्रपा भने एक्लै भन्दैछ । स्थानीय तहको निर्वाचनमा तपाईंहरूको पोजिसन कस्तो होला ?

– ७५३ स्थानीय तहमध्ये राप्रपाले धेरै सिट जित्छ । अरूभन्दा पहिलो पार्टी बन्छ भन्ने गफ लगाउँदैनौँ । पहिलाको मतभन्दा धेरैले जित्छौं । यो निर्वाचनको तयारीका लागि धेरै समय पाएनौँ । जति समय पाएका छौं, राम्रो तयारी गरिरहेका छौं-गर्छौ।

चुनावी प्रचार प्रसारका लागि तपार्इं देश दौडाहामा हुनुहुन्छ । अध्यक्ष एक्लै दौडनुपर्नेचाहिँ किन ?

– अरू साथी पनि डुलिरहनुभएको छ । मुख्य नेतृत्वको हिसाबले अध्यक्ष कार्यक्रममा आइदिओस् भन्ने चाहना कार्यकर्ता र आमजनतामा हुनु स्वाभाविक हो ।

कमल थापाले पार्टी फुटाएपछि कतिपय राम्रै मान्छे पनि उता गएका छन् । यसले राप्रपालाई कति क्षति पु¥याउँछ ?

– राम्रा वा नराम्रो भन्ने मापदण्ड के हो ? आफूसँग नबसेर अरूको पार्टीमा लागेको मान्छेलाई नराम्रो-खत्तम भन्न पनि भएन । त्यसले बरु सकारात्मक प्रभाव पारेको छ । राप्रपा शुद्दीकरणमा सहयोग पुगेको छ ।

राजनीतिलाई पेशा वा व्यवसाय मान्ने मान्छेहरू अहिलेकै प्रणालीलाई ठीक छ भन्छन्, यथास्थितिमा रमाउन खोज्ने मान्छेहरू एकातर्फ, परिवर्तन र विकास चाहनेहरू अर्कातर्फ छन् । हामीभित्रबाट राजनीतिलाई पेशा, व्यवसाय ठान्नेहरू निस्किएर जानुभयो । निस्केर समयमै हामीलाई मद्दत गर्नेहरूलाई धन्यवाद दिन्छु ।

कमल थापा एमालेको सूर्य चिह्न लिएर चुनावमा होमिँदै छन् । कस्तो लागिरहेको छ ?

– उहाँ एमालेमा जाने सिलसिलाको यो पहिलो पाइला हो ।

कमल थापाले एमाले रोजेपछि मूलधारको राप्रपाचाहिँ सानो हुने त होइन ?

– केही फरक पर्दैन । केपी ओली, कमल थापा र एकनाथ ढकाल मात्र होइन– शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपालहरू पनि समीकरण वा गठबन्धन बनाइरहेका छन् । त्यो गठबन्धनले राप्रपाको यात्रामा केही फरक पर्दैन ।

आगामी संसदीय चुनावमा केपी ओलीकै क्षेत्रबाट उठ्ने चर्चा छ । कति सत्य हो ?

– अहिले त्यसप्रकारको कुनै कल्पना गरेको छैन । सम्भावना त रहिरहन्छ । त्यसबेलाको परिस्थिति के हुन्छ ? कसैप्रति मेरो इगो छैन । तर, परिस्थिति आइलागे जसको पनि सामना गर्न तयार छु । भर्खर स्थानीय तहको निर्वाचन हुन लागेको छ । संसदीय निर्वाचन आउँदै छ ।

१८ चैतमा केपी शर्मा ओली र महामन्त्री धवलसमशेर राणासँग नेपालगञ्जको भेटमा तपार्इंमाथि हिलो छ्याप्नुभएको रहेछ हैन ?

– केपी ओलीमा गएको संसदीय निर्वाचनमा मिलेर उठेका थियौं, त्यही कारण राजेन्द्र लिङ्देन हाम्रो कारण जितेको मान्छे हो । ऊ हाम्रो सल्लाह वा निर्देशनबमोजिम चल्नुपर्छ भन्ने सोच थियो होला तर म एउटा पार्टीको अध्यक्षको हिसाबले जे कुरामा राप्रपाको हित हुन्छ, त्यहीअनुसार गर्छु । राष्ट्रिय प्रजातन्त्र पार्टी कसैको भाइ पार्टी होइन । राप्रपा वैचारिक हिसाबले यो मुलुकको वैकल्पिक पार्टी हो ।

कतिपय कुरामा केपी ओलीले सोचेजस्तो भएन होला तर उहाँलाई के थाहा हुन जरुरी छ भने राजेन्द्र लिङ्देनले एमालेको सपोर्टमा जितेको कुरा त सत्य हो । त्यसलाई मैले तलमाथि गर्न मिल्दैन तर राजेन्द्र लिङ्देनको समर्थनमा केपी ओलीलगायत तत्कालीन वामपन्थी गठबन्धनका चारवटा प्रतिनिधिसभा सदस्य र दश जना प्रदेशसभा सदस्यले चुनाव जितेको कुरा पनि बिर्सन हुँदैन । दर्जनौं निर्वाचन क्षेत्र हाम्रो सहयोगमा जित्नुभएको कुराको हेक्का उहाँहरूलाई कहिल्यै भएन । उहाँका कार्यकर्ताले पनि कहिलेकाहीँ ‘हेरौँला’ भनेर लेखेको देख्छु ।

चुनावी तालमेलका लागि ओलीबाट तपाईंलाई सीधै केही प्रस्ताव आएको छैन ?

– छैन ।

तपाईं नेतृत्वमा पुग्नुअघि र अहिलेको राप्रपामा के फरक पाउनुभएको छ ?

– हिजोको राप्रपा सत्तासाझेदार पार्टी बन्नेमा केन्द्रित थियो भने अहिले आफ्नो मान्यता स्थापित गर्न सक्ने गरी पहिलो वा अग्रणी पार्टी बन्ने दिशातिर केन्द्रित छ । जनताले राजनीतिप्रति असाध्य निराशा व्यक्त गर्न थालेका छन् । हामी नेतृत्वमा आएपछि आमजनताले खोजेको पार्टी वा नेता यही हो कि भन्ने आशाको नजरले हेरिरहेको पाएको छु ।

राप्रपाले जनताले अस्वीकार गरिसकेको हिन्दूराज्य र राजसंस्थाको एजेण्डा बोकेर हिँड्छ कि छाड्छ ?

– राप्रपाको आत्मा भनेकै संवैधानिक राजसंस्था, सर्वधर्म सहभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र हो । यो छाड्न सकिने विषय नै होइन । मिल्ने भए आजै राजालाई ल्याएर राखिदिन्थ्यौं, देशलाई हिन्दूराष्ट्र बनाइदिन्थ्यौं । यसलाई छोड्ने वा पुनर्विचार गर्ने विषय नै छैन । यी दुई चिज नेपालजस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकका लागि स्थायित्वका आधार हुन् ।

अहिलेको सरकारको कामगराइलाई कसरी लिनुहुन्छ ?

– यो सरकार छ वा छैनको अनुभूति नै छैन । गतिविधि नै शून्य छ ।

टिप्पणीहरू