कायममुकायम म्याडम गभर्नरको १०८ हस्ताक्षर बदर

कायममुकायम म्याडम गभर्नरको १०८ हस्ताक्षर बदर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशबाट गत सोमवार कार्यालयमा हाजिर भएका छन् । यसअघि गत चैत २५ गते अर्थमन्त्रालयको सिफारिसमा क्याबिनेटले २४ गते नै छानबिनको निम्ति कमिटी गठन गरेपछि उनी तत्काल निलम्बनमा परेका थिए ।

गभर्नरले सरकारको निर्णयलाई चुनौती दिँदै बैशाख ५ गते सर्वोच्चमा रिट निवेदन हालेपछि त्यसको सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अधिकारीलाई काम गर्न नरोक्नु र छानबिन कमिटीलाई तत्काल काम गर्न नदिनु भन्ने आदेश दिएको थियो ।

आगामी १४ गते बुधबार बैंकले ६७ औं वार्षिकोत्सवको आयोजना गर्दैछ । सो उपलक्ष्यमा विभिन्न अतिरिक्त क्रियाकलापसँगै मुख्य समारोह पनि हुने गर्छ । बैंक हातामा हुने समारोहमा गभर्नर,पूर्व गभर्नर, सञ्चालक र पूर्व कार्यकारी निर्देशक र निर्देशकहरुलाई समेत बोलाइन्छ । उक्त अवसरमा २० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वर्ण पदक र ताम्रपत्रमा लेखिएको कदरपत्र दिइन्छ । ताम्रपत्रमा गभर्नरको दस्तखत हुने गर्छ ।बैशाख १४ गतेलाई उक्त सामाग्री तयारीको निम्ति चैतको तेस्रो सातादेखि नै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आवश्यक कार्य थाल्ने हो । तर यसपटक उक्त कार्य प्रारम्भ गर्ने बेलामा गभर्नर निलम्बन भएपछि चैत मसान्तमा दस्तखतको निम्ति कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाको दस्तखतको नमूना तयार पारिएको थियो ।

 

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा पनि तर्सन्छ भनेझैँ यसअघि दुई वटा गभर्नर र एक जना डेपुटी निलम्बन हुँदा कम्तिमा तीन महिनादेखि झण्डै तीन वर्षको समयसम्म कार्यालयमा अनुपस्थित थिए । त्यसैले यसपटक पनि गभर्नर अधिकारी कम्तिमा दुई वर्ष नआउने ठोकुवा गर्दै बैंक व्यवस्थापनले ताम्रपत्रमा कायममुकायम गभर्नरको दस्तखत राख्ने ठहर गरेको हो ।

तर,गत आइतवार एकाएक गभर्नरको पक्षमा अदालतले आदेश जारी गरेपछि सोमबार महाप्रसाद अधिकारी आफ्नो जिम्मेवारी सम्हाल्न बैंक पुगेका छन् । त्यसपछि हतार हतार १४ गतेको लागि कायममुकायम गभर्नरको दस्तखत रद्द गरेर गभर्नर अधिकारीको दस्तखत पठाइएको स्रोतको दाबी छ ।

यसपटक त्यस्तो ताम्रपत्र बुझ्ने कर्मचारीको संख्या एक सय आठ रहेको छ । यो वर्ष एक सय चार भए पनि गत वर्षका चार जना बाँकी रहेकाले एक सय आठ भएको हो । गत वर्ष र अघिल्लो वर्ष कोरोना महामारीका कारण वार्षिकोत्सव मनाइएको थिएन । यो वर्ष महाप्रसाद गभर्नर नियुक्त भएपछि पहिलो पटक भौतिक रुपमा वार्षिकोत्सव मनाउन लागिएको हो ।

टिप्पणीहरू