त्यो भनाइ र यो गराइ

त्यो भनाइ र यो गराइ

जुन नियतका साथ सरकार र पार्टी चलाउनाले आफ्ना सघन सहयात्रीसँग दूरी बढ्यो, अन्ततः त्यही बानी छर्लङ्ग हुने गरी यात्रा शुरु भएरै छाडेको छ ।

केपी ओलीको हकमा हो, यस्तो भएको । अरुले गरेको चुनावी गठबन्धनलाई ‘महापाप’ सम्म भन्न भ्याउनुभएका उहाँले आसन्न स्थानीय निर्वाचनका लागि गठबन्धन गर्न हात फिंजाउनु भएका सहयात्रीलाई हेर्दा बुझिन्छ, उहाँको वर्ग पक्षधरता र लक्ष्य के हो ? गणतन्त्रप्रति अरुचि, कम्युनिष्ट आदर्श, विधि, पद्दतिप्रति वितृष्णा, समावेशी, समानुपातिक संघीयता, धर्म निरपेक्षता खारेजीजस्ता एजेन्डा बोकेर उहाँ अगाडि बढ्दा पार्टी एकता धर्मरायो, एमाले घोषित रुपमै विभाजित भयो र उहाँसँग अहिले कमल थापा, महन्थ ठाकुर, राजेन्द्र महतो र एकनाथ ढकाल गठबन्धनमा कस्सिएका छन्, जो हिजो पनि परिवर्तन स्वीकार्ने पक्षमा थिएनन् ।

यही मेसोमा विप्लवहरू कस्सिएर चुनावका निम्ति गएका छन् । ‘एमसिसीविरोधीलाई सघाउने’ नाममा केपी ओलीसँग नजिकिएकाहरूलाई थाहा होला– एमसिसी यतिसम्म गिजोल्ने र पास नगराई नछाड्ने लाइन उहाँकै थियो भन्ने !

ओली हिजो पनि संघीयताको विरोधी र दरबारसँग मिल्ने गरी अगाडि बढ्नुभएकै थियो । त्यो कुरालाई कमल थापासँग चुनाव चिह्न शेयरिङ गरेर पुष्टि गर्नुभएको छ । उहाँसँग भ्रष्टाचार मुद्दामा सजायँ भुक्तान नगरी बसेका गोविन्दराज जोशीदेखि शाहीकालीन मन्त्री प्रेमबहादुर सिंहसम्म साथ लागेका छन् । ‘र’ प्रमुख सामन्त गोयललाई मध्यराति बालुवाटार पुर्याउने क्याप्टेन रामेश्वर थापाको सिम्रिक एअरका हेलिकोप्टरमा उहाँको दैनिक उडान जारी छ ।

ओम्नी, दीपक भट्ट, यति र बताससहितका व्यापारिक समूहसँग विभिन्न आर्थिक मामिलामा उहाँ यसै पनि जोडिनुभएकै छ । जबकि उहाँले नै तयार पार्नुभएको नारा हो, ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ !’

हिजो प्रधानमन्त्री हुँदा र पार्टी एकता कायम हुँदाका दिनमा उहाँले पार्टीको बैठक बालुवाटारमै बोलाउने गर्नुभएको थियो । त्यसबेला तल्लो तलामा बसेको बैठकमा माथिल्लो तलाबाट झर्न हम्मे पथ्र्यो । तर, अहिलेको सक्रियता लोभलाग्दो छ । सिम्रिकको हेलिकोप्टरमा सर्लाही जाने, ३ घण्टामा त्यहाँबाट काठमाडौं फर्किएर फेरि यति एयरलाइन्स चढी हुम्ला पुग्ने पनि उहाँ नै हो ।

अहिले ओली पाँच दलको गठबन्धन हुँदा आफूलाई फाइदा हुने बताउँदै हुनुहुन्छ । किनभने, गठबन्धनका दलले एकापसमा भोट हाल्दैनन्, जित्ने हामी नै हो भन्ने हिसाब छ । तर, एक्लैएक्लै गए भोट बाँडिन्छ र हारिन्छ भन्ने विश्लेषण गर्नुहुन्छ । फेरि उहाँ नै गठबन्धन टुटाउन अनेकन प्रयासमा लाग्नुभएको छ । पार्टीभित्र कार्यकर्ता हैन, एस म्यानहरूको भीड जम्मा पार्ने र त्यसमा रमाउने प्रवृत्ति उस्तै छ ।

उता, विप्लवहरूले पार्टी फुटाएरै पनि चुनावमा भाग लिने भएका छन् । रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा गरेका चूडामणि ओली (आदर्श) ले भनेकै छन्, ‘मलाई त्यत्तिकै विप्लवले चुनावमा पठाएको होइन !’

टिप्पणीहरू