प्रदेश १ को गठबन्धनमा झेलको खेल

प्रदेश १ को गठबन्धनमा झेलको खेल

-आषिका लम्साल

स्थानीय तहको आगामी निर्वाचनका लागि भोलि र पर्सि मनोनयन दर्ता गराउने तालिका छ । तर केन्द्रमा पाँच दलीय गठबन्धनले निर्णय गरे पनि पालिका तहमा भने अझै भागबण्डा मिलेको छैन । म ठूलो हुँ भन्ने दम्भ पाल्ने र धेरै भाग खोज्ने दलहरुको अहंकारले गठबन्धन कार्यान्वयन हुने अवस्था क्षीण बन्दै गएको छ ।

केन्द्रबाट पार्टीहरुले जबर्जस्ती हस्तक्षेप नगरेमा प्रदेश १ मा गठबन्धन कार्यान्वयन हुने अवस्था देखिँदैन । आज बिहानसम्मको रिर्पोटअनुसार प्रदेश १ मा ओखलढुंगा र खोटाङ बाहेक कतै पनि दलहरुबीच तालमेल भएको औपचारिक रुपले सार्वजनिक भइसकेको छैन ।

मोरंङमा रहेको एक महानगरपालिका, आठ नगर र सात गाउँपालिकामा कतै पनि सहमति भएको छैन । विराटगनगर महानगरमा केन्द्रीयस्तरबाट मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने भागबण्डा भए पनि काँग्रेसले आलटाल गरेकाले एक्लै प्रतिस्पर्धा गर्ने वतावरण तयार भएको हो । शुक्रबार बाध्य भएर जसपाले मेयर र उपमेयर अलग्गै सिफारिस गरेको छ । मोरङमा माओवादी केन्द्रले पनि अलग्गै मेयर र उपमेयर सिफारिस गरिसकेको छ ।

काँगे्रसले मोरङमा पहिले जितेका १० वटा पालिकामा भागबण्डा गर्न नहुने अडान लिँदै आएको छ । तर नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाले अवस्था पहिले जस्तो नभएकाले आआफनो दाबी प्रस्तुत गरेका हुन् । जसपालाई काँग्रेसले स्वीकार्न चाहेको छैन भने काँग्रेसलाई अरुले ।

उता झापामा रहेका आठ नगर र सात गाउँपालिकामा पनि सहमति भएको छैन । सुनसरीको धरान उपमहानगरमा काँग्रेसले मेयर र माआवादीले उपमेयर लिनेगरि सहमति टुंगिएको छ । तर वडाहरुमा अझै पनि सहमति भइसकेको छैन । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकासहित चार वटा नगर र छ वटा गाउँपालिकामा तालमेल टुंगिइसकेको छैन ।

खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये छ वटामा काँग्रेसको नेतृत्वमा, चार वटा गाउँपालिकामा माओवादी नेतृत्वमा र चार वटामा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा भागबण्डा गर्ने सहमति भएको छ । ओखलढुंगाका एउटा नगरपालिका र सात वटा गाउँपालिकामध्ये एउटा गाउँपालिकाको प्रमुख र तीन गाउँपालिका उपप्रमुखका साथै एउटा नगरपालिकाका उपप्रमुख माओवादीले पाएको छ । बाँकी सबै काँग्रेसले लिएको छ ।

इलामका १० वटा पालिकाममध्ये एउटा माओवादी, दुई वटा एकीकृत समाजवादी र बाँकी काँग्रेसले दाबी गरेको छ । तर गठबन्धनमा आज दिउँसो पनि छलफल भएको थियो । औपचारिक रुपमा तालमेलको खबर बाहिर आएको छैन ।

संखुवासभाका पाँच वटा नगर र पाँच वटै गाउँपालिकामध्ये आज बिहानसम्म कुनैमा पनि सहमति सार्वजनिक भएको छैन । उता उदयपुरका चार नगर र चार गाउँपालिकामध्ये आज बिहानसम्म कुनैमा पनि सहमति भएको छैन ।

भोजपुरमा भोजपुर नगरपालिका र पैयाधुम्बा गाउँपालिकामा गठबन्धन गर्ने सहमति हुने कुरा भएपनि खास सहमति दिउँसोसम्म सार्वजनिक भएको छैन । ताप्लेजुङका सात वटा गाउँपालिका र एउटा नगरपालिकामा अझैपनि गठबन्धनको सहमति भएको छैन । सोलुखुम्बुको एउटा नगरपालिका र सात गाउँपालिकामध्ये त्यहाँ पनि सहमति भएको खबर आएको छैन ।

त्यसैगरी धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकामध्ये अझैसम्म गठबन्धन भएको खबर सार्वजनिक भएको छैन । तर त्यहाँ गठबन्धन भए पनि माओवादी र काँग्रेसको मात्र हुने सम्भावना बढेको हो ।

पाँचथरमा एउटा नगरपालिका र सात गाउँपालिकामध्ये एउटा पालिकामा माओवादी र बाँकीमा काँग्रेसले नेतृत्व दाबी गरेको छ । दुईवटा पालिकामा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । तर त्यहाँ पनि गठबन्धनको भावनाअनुसारको तालमेलको खबर आएको छैन ।

पाँचथरको फिदिम नगरपालिकामा काँग्रेसले मेयर र माओवादीले उपमेयर दाबी गरेका छन् । बाँकीमध्ये एउटा पालिका माओवादीले र अरु सबै पालिकामा काँग्रेसले दाबी गरिरहेको छ । तर तालमेलको कुरो सुनिएको छैन ।

उता तेह्रथुमका एउटा नगरपालिका र चार गाउँपालिकामध्ये अझैसम्म कतै पनि गठबन्धन टुंगो लागेको छैन ।

टिप्पणीहरू