सुर्खेतमा गठबन्धनलाई भागबण्डामा सकस, एमाले उत्साही

सुर्खेतमा गठबन्धनलाई भागबण्डामा सकस, एमाले उत्साही

आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल गर्ने केन्द्रको सैद्धान्तिक निर्णयअनुरुप छ महानगर र ११ उपमहानगरको सिट बाँडफाँड पक्रिया टुङ्गिएको छ । तर, गठबन्धनका दलले केन्द्रबाट गरेको उक्त निर्णयको जिल्लाका नेता तथा कार्यकर्ताहरुले भने विरोध गरेका छन् ।

चुनावमा मुलुकभर गठबन्धन गरेर जाने निर्णय गरेका दलहरुले अझै जिल्ला र पालिकाहरुमा भने भागबण्डा मिलाउन सकेका छैनन । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको पालिकाहरुमा आआफ्नो दाबी कायम छ ।

अन्य जिल्लाझैँ सुर्खेतमा पनि सत्ता गठबन्धनबीच भागबण्डामै कुरा नमिल्दा अझै चुनावी तालमेलको टुङ्गो लाग्न सकेको छैन । कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये सुर्खेतमा नेपाली काँग्रेस बलियो पार्टीका रुपमा स्थापित छ । २०७४ को निर्वाचनमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । जिल्लाका नौ पालिकामध्ये काँग्रेसले छ वटा पालिका र एमालेले तीन वटा पालिकामा जितेको थियो । तर, नेकपा माओवादी केन्द्रले भने कुनै पनि पालिका प्रमुख अध्यक्षमा जितेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाका सबै पालिकामा धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । यता, सत्तारुढ गठबन्धनका दलहरुले भने अझै पालिकाको सिट बाँडफाँड गर्न सकिरहेका छैनन् । तर, एकीकृत समाजवादी र माओवादी केन्द्रले कतिपय पालिकामा आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । यस्तै, काँग्रेसले पार्टीको आन्तरिक विवादका कारण उम्मेदवारीको नाम सिफारिस गर्न सकेको छैन ।

जिल्लास्तरका नेताहरु चुनावी तालमेल गर्ने पक्षमा देखिए पनि प्रमुख तीन दलको आआफ्नै दाबीका कारण अन्योल कायमै छ । काँग्रेस छ वटा पालिका बाहेक एमालेले जितेका पालिकामा मात्रै गठबन्धन गर्ने पक्षमा देखिन्छ । त्यसमा पनि काँग्रेसले एक एक वटा पालिका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने बताइरहेको छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले तीन तीन वटा पालिकाको नेतृत्वमा दाबी गरिरेहका छन् ।

आ–आफ्नै दाबी र अडान कायम

नेपाली काँग्रेसका जिल्ला सभापति खडक पोखरेलले चुनावी गठबन्धन गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन् । गठबन्धनमा सामेल दलहरुले केन्द्रमा गरेको निर्णयअनुसार पालिकाहरुमा तालमेल हुने उनको भनाइ छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले पालिकामा बढी दाबी गरेकाले भागबण्डा गर्न समस्या भइरहेको सुनाए ।

सभापति पोखरेलले अघिल्लो निर्वाचनमा जितेका पालिकाहरुमा काँग्रेसको दाबी कायमै रहने बताए । गुर्भाकोट नगरपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका विरेन्द्रनगर नगरपालिका मेयर र अध्यक्ष पदमा काँग्रेसले जितेको हो । तर, बराहताल, चिङ्गाड गाउँपालिकामा माओवादी केन्द्रले पनि दाबी गरिरहेको छ । यी दुई पालिकामा माओवादी केन्द्रले विगतको चुनावमा चार वटा वडा अध्यक्ष जितेको थियो ।

‘चुनावमा गठबन्धन गर्ने विषयमा हामीहरुबीच छलफल भइरहेको छ, अब छिट्टै तालमेलको निर्णय आउँछ, पोखरेलले भने, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता साथीहरुले धेरै पालिकामा दाबी गर्नुभएको छ । हामीले उहाँहरुलाई एक एक वटा पालिका छाड्ने भनेकै छौँ, उहाँहरु यसमा सहमत हुनुहुन्न् ।’

यसरी हेर्ने हो भने काँग्रेस आफ्नो अडानबाट पछि नहट्ने देखिन्छ । सुर्खेतमा काँग्रेस बलियो भएकाले जनमतनै बाँडेर चुनावी गठबन्धन आवश्यक नभएको काँग्रेस नेताहरुको भनाइ छ । गठबन्धनबिना चुनाव जित्न सकिने उनीहरुको विश्वास छ ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष जीतबहादुर रानाले जिल्लामा रहेका तीन पालिकामा आफूहरुको दाबी रहेको बताए । पार्टीले २०७४ को निर्वाचनमा जितेका वडा र दोस्रो स्थानमा परेका पालिकाहरुको नेतृत्व पाउनुपर्नेमा उनको जोड छ । जसमा उनले बराहताल, चिङ्गाड, चौकुने गाउँपालिका अध्यक्ष पद पाउनु पर्ने बताएका हुन् ।

’हामीले तीन पालिकाको नेतृत्व पाउनु पर्छ भनिरहेका छौँ,’ उनले भने, ‘नौ पालिकामध्ये तीन–तीन पालिका गरेर सहमति अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो । तर, यसमा काँग्रेस सहमत भएमा चुनावी तालमेल सहजै हुन्छ ।’

यता, नेकपा एकीकृत समाजवादीको पनि आफ्नै अडान छ । पार्टीका जिल्ला अध्यक्ष महन बडुवालले अघिल्लो निर्वाचनमा एमालेले जितेका पालिकाहरुको नेतृत्व पाउनुपर्ने बताए । तर, काँग्रेसका नेताहरुले उनले दाबी गरेका पालिकाहरुमा पनि भागबण्डा खोज्दै आएका छन् । अघिल्लो निर्वाचनमा सिम्ता गाउँपालिका, लोकवेशी नगरपालिका, चौकुने गाउँपालिकामा एमालेले जितेको छ । यस्तै, चौकुने गाउँपालिकामा तीन दलकै दाबी देखिन्छ ।

गठबन्धनविरूद्ध एमाले एक्लै मैदानमा

सुर्खेतमा प्रमुख विपक्षी एमाले सत्तारुढ गठबन्धनविरुद्ध एक्लै चुनाव लड्ने भएको छ । एमालेले कतिपय जिल्लामा नेपाल परिवार दल र राप्रपा नेपालसँग चुनावी गठबन्धन गरेको भए पनि कतिपय जिल्लामा ती पार्टीको संगठन नै छैन । राप्रपाबाट फुटेर नयाँ पार्टी बनेको राप्रपा नेपालको सुर्खेतमा जनमत नै कम छ । त्यसैले एमालेका नेताहरु जिल्लामा ती दलसँग तालमेल गर्ने पक्षमा देखिँदैनन् ।

जिल्लाका पालिकाहरुमा पार्टीका उम्मेदवारहरुको नाम सिफारिस गर्ने काम एमालेले तीब्र गतिमा अघि बढाइरहेको छ । जिल्ला अध्यक्ष अमृत बीसीले उम्मेदवारको नाम सिफारिस गर्ने काम अन्तिम चरणमा पुगेको बताए । विगतको निर्वाचनमा काँग्रेसलाई टक्कर दिएको एमाले यो पटक सत्तापक्षका दलहरुसँगै मैदानमा एक्लै लड्न तयार रहेको उनको दाबी छ ।

गठबन्धनमा आवद्ध दलहरुको भागबण्डाको किचलोले आफ्नो पार्टीलाई फाइदा भइरहेको उनले बताए । चुनावी तालमेलकै विषयमा विवाद हुँदा सत्तारुढ दलका नेताहरु एमालेमा प्रवेश गर्ने क्रम बढेको अध्यक्ष बीसीको भनाइ छ । उनले एकीकृत समाजवादीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई कुनै पनि असर नगर्ने दाबी गरेका छन् ।

‘यदि सत्तारुढ गठबन्धनका दलले चुनावी तालमेल गरेमा हामीलाई चुनौती त छ । तर, पनि हामी एक्लै चुनावी मैदानमा लड्न तयार छौँ,’ उनले भने, ‘उनीहरुले अहिलेसम्म पालिकाकै भागबण्डा गर्न सकिरहेका छैनन् । उनीहरुबीच भित्रभित्रै द्वन्द्व चर्केको छ । त्यसकारण हाम्रो पार्टीमा धेरै नेता कार्यकर्ताहरु प्रवेश पनि गरिरहेका छन् ।’

यता सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु एमालेको उक्त दाबीमा कुनै सत्यता नभएको बताउँछन् । उनीहरुको भनाइ छ, ‘सबै कुरा चुनावको परिणामले देखाउने छ । अहिले नै किन बक्न पर्यो ।’

टिप्पणीहरू