सवारी दुर्घटना : ९ महिनामा २१ सय बढीको मृत्यु, तीब्र गति प्रमुख कारण

सवारी दुर्घटना : ९ महिनामा २१ सय बढीको मृत्यु, तीब्र गति प्रमुख कारण

सवारी दुर्घटनामा पछिल्लो नौ महिनामा दुई हजार एक सय बढीले ज्यान गुमाएका छन् । साना तथा ठूला सवारी दुर्घटना हुँदा चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा उनीहरुको मृत्यु भएको हो ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा सवैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । त्यसपछि क्रमशः जीप, कार, बस, ट्रक, ट्याङ्करलगायत सवारी साधन दुर्घटनामा परेका हुन् । कुल २९ हजार एक सय ७३ सवारी साधन दुर्घटना हुँदा १४ हजार नौ सय ५१ वटा मोटरसाइकल दुर्घटना भएको पाइएको छ ।

दुर्घटनामा दुई हजार एक सय ४४ जनाले ज्यान गुमाएका छन् । तीनमा एक हजार छ सय ४१ पुरुष, तीन सय ३१ महिला, एक सय २० बालक र ५२ बालिकाको मृत्यु भएको हो । तीन हजार आठ सय १६ पुरुष, नौ सय ७८ महिला, तीन सय ७२ बालक र दुई सय नौ बालिका गरि पाँच हजार तीन सय ७५ जना गम्भीर घाइते भएका छन् ।

१८ हजार सात सय ७७ जना सामान्य घाइतेमध्ये १३ हजार ३९ पुरुष, चार हजार ३५ महिला, एक हजार २५ बालक र छ सय ७८ बालिका घाइते भएको प्रहरीले जनाएको छ ।

ती दुर्घटनामा एक सय ४४ पशुचौपायाको मृत्यु भएको छ । ५० चौपाया घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा पछिल्लो नौ महिनामा एक सय ३४ जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश १ मा चार सय आठ, मधेश प्रदेशमा चार सय ४४, बाग्मतीमा दुई सय ८९, गण्डकीमा एक सय ८३, लुम्बिनीमा तीन सय ९६, कर्णालीमा एक सय ३९ र सूदुरपश्चिममा एक सय ५१ जनाको मृत्यु भएको हो ।

सामान्यतयाः सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि बेलुकी ६ बजेसम्म अत्यधिक हुने गरेको तथ्याङ्कले देखाएको छ । उक्त अवधीमा ७ हजार एक सय ९० सवारी साधन दुर्घटनामा परेका छन् । साँझ ६ बजेदेखि मध्यरात १२ बजेसम्म पाँच हजार नौ सय ५२, बिहान ६ बजेदेखि मध्याहन्न १२ बजेसम्म चार हजार दुई सय ११, मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्म आठ सय १६ सवारी साधन दुर्घटनामा परेको देखिन्छ । समय नै नखुलेको अवस्थामा छ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

तीब्र गतिका कारण सर्वाधिक दुर्घटना भएको धेरै देखिएको छ भने चालकले मादक पदार्थ सेवन गर्नाले पनि दुर्घटना भएको पाइएको छ ।

टिप्पणीहरू