जग्गाव्यापारीको चंगुलमा जनप्रतिनिधि, सरकारी बजेटमा खोलो पुरेपछि स्थानीय आक्रोशित

जग्गाव्यापारीको चंगुलमा जनप्रतिनिधि, सरकारी बजेटमा खोलो पुरेपछि स्थानीय आक्रोशित

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा रहेको खहरे खोला मासेर सडक निर्माणको काम थालेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । खोला मासेर जग्गा प्लटिङका निम्ति सडक निर्माण कार्य अघि बढाएपछि स्थानीयवासी रिसाएका हुन् ।

खहरे खोला मासेर सडक निर्माणको काम थालेपछि बर्खायाममा बस्ती नै डुबानमा पर्ने जोखिम बढेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । हाल खोला रहेको स्थानमा दैनिक ३ देखि ४ वटा डोजर लगाएर खन्ने र ह्युमपाइप राखेर खोलामाथि सडक निर्माण गर्ने काम तीब्र गतिमा भएपछि गाउँले भड्किएको बताइन्छ ।

खोला नै हराउने गरि बाटो निर्माण गर्न स्थानीय सरकारले बजेट विनियोजन गर्नु नै गलत भएको उनीहरुको आरोप छ । स्थानीय सरकारले चालु आर्थिक वर्षको वार्षिक बजेटमा वडाको पूर्वाधारतर्फ पहिलो प्राथमिकता राखेर रकम छुट्याएको छ ।

वडा नम्बर ५ का सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ छुट्याएको जानकारी दिए । उनले चाँगुको पिच सडकबाट दीप सरस्वती स्कुल हुँदै चाँकतु टोल जाने बाटो स्तरोन्नतिका लागि हाल दुई वटा उपभोक्ता समितिमार्फत काम भइरहेको पनि बताए ।

वडासचिव बासुकलाले चाँगुनारायण नगरपालिकाका इञ्जिनियरले तयार पारेको डिजाइनका आधारमा खोलामा ह्युमपाइप राख्ने काम शुरु गरिएको दाबीसमेत गरेका छन् । यता, स्थानीयवासी भने जग्गा व्यापारीले प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले बस्ती नै डुबानको चपेटामा पर्ने बताइरहेका छन् ।

आफुहरुसँग छलफल नै नगरि जग्गाको साँध सीमाना नछुट्याई जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न थालिएको स्थानीयको आरोप छ । पछिल्लो समय भक्तपुरमा अवैध रुपमा जग्गा प्लटिङ गर्ने कार्य धमाधम भइरहेको छ ।

टिप्पणीहरू