नौ महिनामा दुई खर्बको इन्धन भित्रियो

नौ महिनामा दुई खर्बको इन्धन भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको उक्त इन्धन नेपाल भित्रिएको हो । विभागले आज जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति मूल्यको इन्धन नेपाल भित्रिएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो । अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।

टिप्पणीहरू