अवार्ड लिन्न भन्न सक्ने कोही छ अरु !

अवार्ड लिन्न भन्न सक्ने कोही छ अरु !

एउटा विकास बैंकले हरेक वर्ष के आधारमा एउटै निजी कम्पनीमाथि आँखा चिम्लेर लाखौं लगानी गर्छ ? सर्वसाधारणको पसिनामा बैंकले कसरी मनोमानी गर्छ भन्ने एउटा गतिलो उदाहरण हो मुक्तिनाथ विकास बैंक, जसले केही वर्षदेखि विन्ध्यवासिनी म्युजिक अवार्डका नाममा लाखौं रकम खन्याउँदै आएको छ ।

यो त्यही म्युजिक कम्पनी हो, जसका मालिकको अत्याचारविरुद्ध ५७ भाइ संगीतकर्मी अदालत पुगेका थिए । गायक प्रमोद खरेलको प्रोपर्टी राइट र कपीराइटमा विन्ध्यवासिनीका मालिक सुवाष रेग्मी र उनकी पत्नी लिनाले कब्जा जमाएपछि अदालत पुगेका ५७ संगीतकर्मीको मुद्दाअनुसारै ती दुई हिरासतमा रही हालै जमानतमा छुटेका छन् । तिनै संगीतकर्मीको खुन, पसिना चुस्ने एउटा कम्पनीमाथि आँखा चिम्लेर सो विकास बैंकले केही वर्षदेखि लगानी गर्दै आएको भेटिएको छ । सो कम्पनीले दिएको लाइफ टाइम अचिभमेन्ट अवार्ड एक जना वरिष्ठ गीतकारले बहिष्कार गरिदिएपछि सांगीतिक वृत्तमा हलचल छ ।

२०७८ का निम्ति एक लाख रूपैयाँ पुरस्कार राशि रहेको अवार्ड वरिष्ठ गीतकार यादव खरेलले अस्वीकार गर्नुभएको हो । यसअघि उहाँको चेला उमेरकाहरूलाई विन्ध्यवासिनीले यो अवार्ड बाँडेको थियो । सांगीतिक क्षेत्रमा लागेको ३२ वर्षदेखि ४० वर्ष पुगेका दिनेश अधिकारी, शक्ति बल्लभहरूलाई यस्तो अवार्डले सम्मानित गरिसकिएको छ । दिनेश अधिकारी जन्मिएको ०१६ सालमा, त्यही साल यादव खरेलको गीत रेकर्ड भइसकेको । तिनै अधिकारीले ०७१ सालमै विन्ध्यवासिनीबाट अवार्ड पाए ।

०७५ सालमा शक्तिबल्लभलाई दिइएको यो अवार्ड अहिलेसम्म माणिक रत्न, किरण खरेल, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, दीपक जंगम, रत्नसमशेर थापा, शक्ति बल्लभ, कुमार बस्नेत, योगेश वैद्यलले पाइसकेका छन् । कनिष्ठहरूलाई सम्मान दिइसकेपछि यो वर्ष यादव खरेललाई ‘पुरस्कार लिनुस्’ भनियो । यादवले ‘लिन्न’ भनेर जवाफ फर्काएपछि पत्नी वियोगमा परेका विश्ववल्लभलाई दिइएको छ, हिजो वैशाख ६ गते ।

टिप्पणीहरू