पत्रकार महिला आफैं पीडामा परेपछि

पत्रकार महिला आफैं पीडामा परेपछि

अरूलाई न्याय दिन कलम चलाउने पत्रकार आफैँ पनि न्यायको खोजीमा भौंतिरिनुपर्ला भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मुलुककै चर्चित मिडिया हाउस कान्तिपुरका कर्मचारीबाट एक जना महिला पत्रकार शोषित भएकी छन् । शोषित अरू पनि भएका होलान् तर उनी भने यसको विरोधमा खुलेरै लागिपरेकी छन् । सुर्खेतमा लामो समय रेडियो पत्रकारिता गरेपछि उज्ज्वल भविष्यको खोजीमा दीपा काठमाडौं आएकी थिइन् । पत्रकारिता क्षेत्रमा सुरक्षित र व्यावसायिक सपना बोकेर काठ्माडौं छिरेकी उनको भोगाइ भने छुट्टै हुन पुग्यो ।

आफ्नो कामप्रति निकै इमान्दार दाहालले खुला प्रतिस्पर्धाबाट रेडियो कान्तिपुरमा नाम निकालिन् । उनले त्यसलाई पत्रकारिता क्षेत्रमा स्थापित हुने राम्रो अवसरको रूपमा लिएकी थिइन् । रेडियोमा रिपोर्टिङदेखि लिएर समाचारवाचनको महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । काममा लगनशीलता र सक्रियता देखेर कार्यस्थलका धेरै जना लोभिन्थे । सफलताको खुड्किला चढ्दै गरेकी दाहालमाथि नचिताएको घटना घट्यो ।

तत्कालीन समाचार प्रमुखले गिद्देनजर लगाए, यौनहिंसा गरे । यता, आफूनिकट सहकर्मीले पनि कार्यस्थलमै यौन दुव्र्यवहार गरेपछि उनी छाँगाबाट खसेजस्तै भइन् तर उनी चुपचाप रहिनन् । बरु, आँटिलो भएर आफूमाथि भएको दुव्र्यवहारको जवाफ दिने निधो गरिन् । त्यसको विरोधमा लड्न आफूलाई तयार पारिन् । एक्लै लडाइँमा होमिएकी उनलाई समर्थन होइन, निकाल्ने षड्यन्त्र रचियो । रेडियोका तत्कालीन प्रशासन प्रमुख परमानन्द खनाल त्यस षड्यन्त्रलाई सफल पार्न खुलेरै लागिपरेका थिए ।

तर, स्वाभिमानलाई सधैँ माथि राख्ने दाहाल विक्षिप्त भइनन् र संघर्ष गरिरहिन् । भनिन्छ नि, ‘संघर्ष गर्नेले अवश्य पनि फल पाउनेछ’, त्यसैगरी उनको जित भयो । रेडियो व्यवस्थापनको उच्च तह उनको भोगाइ सुन्न बाध्य भयो । यौनहिंसा गर्ने समाचार प्रमुखलाई स्पष्टीकरणपछि राजीनामा दिन लगाइयो भने दुव्र्यवहार गर्ने सहकर्मीलाई तीन महिनाका लागि निलम्बन गरियो ।

आफूले न्याय पाएको महसुस गरेपछि दाहाल फेरि आफ्नो कर्मक्षेत्रमा लागिन् । रेडियो कान्तिपुरमै काम गरिन् । पछि, राम्रोसँग बिदा भएर अन्नपूर्ण राष्ट्रिय दैनिकमा कामको सुरुवात गरिन् । त्यहाँ पनि सक्रियता त्यत्तिकै थियो । जब देशसञ्चार अनलाइनमा काम गरिन् तब उनलाई कान्तिपुर टेलिभिजनले कामका लागि अफर गर्यो ।

टेलिभिजन व्यवस्थापनसँग अनौपचारिक भेटवार्ता सकिएकै भोलिपल्ट रेडियोमा उनलाई निकाल्न षड्यन्त्र रच्ने प्रशासन प्रमुख खनालले फोन गरे र सोधे, ‘तिमी कान्तिपुर टेलिभिजनमा जान लागेको ?’ आफ्नो हातमा नियुक्तिपत्र परिनसकेकाले जाने–नजानेबारे पक्का भइनसकेको पत्रकार दाहालको जवाफ थियो ।

‘रेडियो कान्तिपुर छाडेको १० वर्षसम्म खनालसँग मेरो कुनै संवाद थिएन । अचानक फोन आउँदा झस्किएँ । यद्यपि, म उद्देश्यमा स्पष्ट थिएँ,’ पत्रकार दाहालले भनिन् ।

असोज १ गतेदेखि टेलिभिजनमा काम सुरु गरिन् । प्रधानसम्पादक दिलभूषण पाठकले उनको प्रशंसा गर्दै सहकर्मीहरुसँग परिचय गराए । उनलाई काममा सहज माहोल बनाउन आग्रहसमेत गरे । काम थालेको ११ औं दिन नबित्दै फेरि पनि खनालले फोन गरे । भड्काउने आशयले फोन गरेका उनले टेलिभिजनमा काम गर्ने वातावरण नभएकाले अन्तै विकल्प खोज्न भने । त्यसको प्रतिवाद गर्दै दाहालले काम गर्ने वातावरण निकै राम्रो भएको बताइन् ।

जवाफबाट आक्रोशित बनेका खनालले फोनमै ‘किन घुमाउरो कुरा गरिराख्ने, तीन महिनापछि तपाईंको नियुक्तिपत्र नवीकरण हुँदैन’ भनेर चेतावनी दिए । जबकि यसअघिको घटनाबाट पनि दाहाल नै पीडित थिइन् । खनालले त्यो घटनाबाट कसैको जागिर गएको भन्दै प्रतिशोध साँधेको स्पष्ट देखिएको थियो ।

‘खनालको चेतावनीबारे मैले तत्कालै प्रधानसम्पादक पाठकलाई जानकारी गराएँ । उनले चिन्ता नगरी काममा ध्यान दिन निर्देशन दिए । प्रधानसम्पादकलाई विश्वास गर्दै काममा फर्किएँ तर ममाथि हिंसा थपिँदै गयो’, उनले भनिन् । ‘दाहालको प्रशंसा दिनहँुजसो हुन्थ्यो तर उनको नियुक्तिपत्र नवीकरण नहुँदा हामी सबैजना आश्चर्यमा प¥यौँ,’ टेलिभिजनका एक कर्मचारीले भने ।

नियुक्तिपत्रको अवधि सकिनुभन्दा दुई दिनअगावै दाहाललाई मानव संसाधन विभागले अब नवीकरण नगरिने जानकारी गरायो । यो खबर सुनेपछि मर्माहत भइन् र प्रधानसम्पादकसँग कारण सोध्न पुगिन् किनकि विभागका सहायक प्रबन्धकले नवीकरण नहुनुको कारण कि प्रशासन प्रमुख खनाल कि प्रधानसम्पादक पाठकलाई सोध्न भनेका थिए । यता, पाठकले स्पष्टीकरण दिन सकेनन् । बरु, बिदामा बस्न सुझाए तर जिद्दी गरेरै उनले दुई दिन काम गरिन् र नवीकरण नहुनुको कारण मागिरहिन् । अन्ततः उनी बिदा बस्न बाध्य भइन् किनभने हाजिरी सिष्टमबाट उनको नाम हटाइसकिएको थियो ।

तर, उनले हार खाइनन् र बीचबीचमा आफ्नो नवीकरणबारे जानकारी लिने कोसिस गरिरहिन् । प्रधानसम्पादकसँग सोधीखोजी गरिरहन्थिन् । एकाएक प्रधानसम्पादक पनि पन्छिए । त्यसपछि दाहाल न्यायका लागि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियासम्म पुगिन् ।

प्रबन्ध निर्देशकलाई सबै घटनाक्रम सुनाइन् । उनले यसमा प्रधानसम्पादक पाठक नै दोषी भएको दाबी गरे । सिरोहियाले त्यति भनेपछि उनले अन्तिम पटक प्रधानसम्पादक पाठकसँग कारण बुझ्ने प्रयास गरिन् । किनकि उनी न्यायको लडाइँ लड्दालड्दै थाकिसकेकी थिइन् । प्रधानसम्पादकले बजेटको समस्या भएकाले निकाल्न बाध्य भएको जवाफ दिए । उनलाई निकालिएपछि थुप्रै कर्मचारी राखिसकेको कान्तिपुरलाई बजेटको समस्या पर्यो भन्दा पत्याउने ठाउँ थिएन ।

नेपाल सरकारले उनको मुद्दा उठायो । पत्रकार महासंघले नियुक्तिपत्र नवीकरण नहुनुको कारण सोध्दै दुईपटक स्पष्टीकरण पत्र पठायो । उनीहरूले मागिएको प्रश्नको जवाफ दिन नसकेपछि चैत ९ गते महासंघले पत्र पठाउँदै आन्दोलन गर्ने चेतावनी दियो । कुरा आन्दोलनसम्मै उठेपछि कान्तिपुर मिडिया ग्रुपले वार्ताबाट यसको हल निकाल्ने भन्दै मौका दिन आग्रह गर्यो ।

महासंघ वार्ताका लागि तयार भयो । वार्तामा उही प्रशासन प्रमुख खनाल र विभागका सहायक प्रबन्धकलाई खटाइयो । पहिलो चरणको वार्तामा उनीहरूले पत्रकार दाहालमाथि भएको यौनहिंसा स्विकारे । ठोस प्रस्ताव ल्याएर अन्तिम वार्ता गर्ने निश्कर्षमा पुगे पनि त्यसो हुन सकेन । जसकारण महासंघ आन्दोलनमा होमिन बाध्य भयो । महासंघको पहिलो माग पत्रकार दाहालको पुनर्बहाली हो । यता, न्यायको माग गर्दै धर्नामा दाहालले भनिन्, ‘म मेरालागि मात्र लडेकी होइन । सबै श्रमजीवी पत्रकारका लागि लडेकी हुँ । कान्तिपुरबाट शोषित पत्रकार सबै ठाउँमा छन् । म सबैको लागि लड्दै छु ।’

भन्छिन्, ‘मैले लडाइँ सुरु गरेपछि मलाई समर्थन गर्नेभन्दा हतोत्साहित गर्ने बढी भेटिएका छन् । मलाई गलत देखाउन अफवाह फैलाउने कामको थालनी भइसकेको छ । तर, यसले मलाई विचलित पार्ने छैन । न्यायका लागि थप संघर्ष गर्नेछु ।’

टिप्पणीहरू