गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि जहाज उड्न थाल्यो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि जहाज उड्न थाल्यो

गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा आजदेखि विमानहरु अवतरण र उडान गर्न थालेका छन् । काठमाडौंपछि अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा विमान उडान र अवतरण भएको यो पहिलो हो ।

गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत् सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान शुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।

आज बिहान पौने ८ बजे उक्त रनवेमा पहिलो उडान यती एयरलाइन्सले गरेको हो । आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । यो एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा बनाइएको हो । हालसम्म ११ अर्ब रुपैयाँ खर्च भएको छ ।

रनवेको लम्बाइ तीन हजार मीटर र चौंडाई कूल ४५ मीटर छ । विमानस्थलको पुरानो रनवे एक हजार पाँच सय मीटर लामो थियो । आज आन्तरिक उडान भए पनि नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गते बुध्दजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू