१२ दिनपछि गभर्नरको कुर्सीमा बस्न पुगेका अधिकारी यसरी बैंक छिरे

१२ दिनपछि गभर्नरको कुर्सीमा बस्न पुगेका अधिकारी यसरी बैंक छिरे

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशपछि आज पद बहाली गर्न बिहान केन्द्रीय कार्यालय बालुवाटार पुगे ।

अधिकारीको स्वागतमा मूल गेटमा एमाले युनियनका कर्मचारी र भित्री ढोकामा निर्देशक र कार्यकारी निर्देशकहरु लाइन लागेर बसेका थिए । युनियनका पदाधिकारीहरुले माला र खादा लगाएपछि गभर्नरलाई उनीहरुले नै एस्कर्टिङ गरेर भित्र पुर्याएका थिए ।

भित्रको ढोकामा डेपुटीहरु र वरिष्ठ अधिकृतहरुले खादा र पुष्पगुच्छा दिएका थिए । हाकिमहरुले फूलको गुच्छा दिँदा युनियनका केही पदाधिकारीले, ‘हिजोसम्म खुच्चिंग भन्नेहरु आज सबैभन्दा ठूलो गुच्छा र धनुषटंकार भएर नमस्कार गर्दैछन्, लाज हराएकाहरु,’ भनेर कानेखुशी गर्दै थिए ।बैंकको तेस्रो तलामा रहेको गभर्नरको कार्यकक्षमा पुगेपछि अधिकारीलाई गत १२ दिनको हाजिरी गराइएको थियो । हाजिरी कापी बोकेर बैंक सञ्चालक समितिका सचिव तथा निर्देशक मुक्तिप्रसाद सापकोटा पुगेका थिए । नेपाली कागजमा बनाइएको हाजिरी पुस्तिकामा गभर्नरले शनिबार र सार्वजनिक बिदाको दिन बाहेकमा आएको र गएको हाजिर गरेका छन् ।

बैंकमा सबै कर्मचारीले विद्युतीय माध्यमबाट हाजिरी गरे पनि गभर्नर र डेपुटीहरुलाई उनीहरुका पिएले बिहान सबैभन्दा पहिले अघिल्लो दिनको घर गएको र त्यो दिन बिहान कार्यालय आएको हाजिरी गराउने प्रचलन छ । आज पनि अधिकारीले त्यसै गरेका हुन् ।हिजो अदालतको आदेशपछि गभर्नरको मुद्दाको पेशी बैशाख १३ गतेलाई तोकिएको छ । भोलिपल्ट बैंकको ६७ औं वार्षिकोत्सव परेको छ । त्यो दिन गभर्नरले समग्र बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक अवस्थाको पछिल्लो विवरण प्रस्तुत गर्छन् । अर्थमन्त्री जनार्दन शर्मालाई मुखभरीको जवाफ सम्भवतः गभर्नरले १४ गतेको भाषणमा तथ्याङ्कमा दिने अनुमान गरिएको छ ।

टिप्पणीहरू