बुद्धजयन्ती मनाउन दूतावासमा छलफल, लन्डनका मेयरलाई बोलाइने

बुद्धजयन्ती मनाउन दूतावासमा छलफल, लन्डनका मेयरलाई बोलाइने

लन्डनको मुटु भनेर चिनिने ट्राफल्गर स्क्वायरमा आयोजना हुने यसवर्षको बुद्धजयन्ती कार्यक्रम तयारीबारे आयोजक र दूतावासबीच छलफल भएको छ । आयोजक बुद्ध फाउन्डेसन यूके र दूतावासका अधिकारीहरुबीच लन्डनस्थित नेपाली दूतावासमा कार्यक्रमको स्वरुप, तालिका, विशिष्ट अतिथिको निमन्त्रणा लगायतका विषयमा छलफल भएको हो ।

दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा फाउन्डेसन र कपिलवस्तु समाज यूकेका तर्फबाट ट्राफल्गर स्क्वायरमा वर्षेनी आयोजना गरिँदै आएको कार्यक्रम यसपटक आगामी मे २२ तारिखलाई निर्धारित छ । त्यसअवसरमा फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले विगतका वर्षमा सम्पन्न कार्यक्रमहरुको ब्रिफिङसहित आसन्न कार्यक्रम तयारीबारे राजदूत ज्ञानचन्द्र आचार्य र दूतावासका अधिकारीहरुलाई जानकारी गराएका थिए ।

दूतावाससहित बेलायतको सिंगो नेपाली समुदायको सहयोग र सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै आएको उल्लेख गर्दै उनले यसपटक पनि त्यस्तै सहकार्य र सहयोगको अपेक्षा राखेको बताए । राजदूत आचार्यले बुद्धजयन्ती कार्यक्रम सफलताका लागि दूतावासका तर्फबाट आवश्यक सबै सहयोगको आश्वासन दिएका छन् ।

लन्डन मेयर सादिक खानलाई निमन्त्रणा

यस वर्षको बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई पनि निमन्त्रणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गर्दै दूतावासबाट उनलाई निमन्त्रणा पठाइएको जनाइएको छ ।

दूतावासले विगतमा जस्तै बेलायतस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिज्ञहरुलाई पनि कार्यक्रमको निम्तो पठाइसकेको छ । त्यस्तै, कार्यक्रमका लागि नेपालबाट एक बौद्ध धर्मगुरु रिम्पोचेलाई पनि आमन्त्रण गरिने भएको छ ।

कार्यक्रम संयोजक ह्यारी गुरुङले बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्था एवम् सिंगो समुदायलाई कार्यक्रममा सक्दो सहयोग र सहभागिताका लागि आव्हान गरेका छन् ।

विश्वमाझ बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धि भ्रमहरु चिर्दै बुद्धको शान्ति सन्देश प्रचारप्रसार गर्नका साथै अन्तरराष्ट्रिय जगतमा नेपाली कला, संस्कृति र पर्यटन समेतको प्रवर्द्धनको लक्ष्य राखेर हरेक वर्ष यो कार्यक्रम गरिंदै आएको छ।

कार्यक्रममा बुद्ध धर्मगुरुहरुबाट मन्त्रोच्चारण र प्रवचन, नेपाली कला, संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम, नेपालको पर्यटन प्रवर्द्धनका लागि लिफलेट वितरण लगायतका गतिविधि समावेश रहनेछन्।

टिप्पणीहरू