पार्टीमा गुलियो भएपछि झिंगा लाग्दैन र !

पार्टीमा गुलियो भएपछि झिंगा लाग्दैन र !

– देवी ज्ञवाली, एमाले नेता

एमाले वृत्तभित्र ‘अभागी’ नेताका रूपमा चित्रित छन् देवी ज्ञवाली । उनले खान लागेको भाग सदैव खोसिँदै आएको छ, चाहे मेयर हुन् वा भूमि आयोग वा राष्ट्रिय सभा सदस्य । तर ०३४ सालदेखि राजनीतिमा होमिएका देवीभन्दा केपी ओलीका लागि प्रिय भइदिन्छन् कोमल वली र मोतीलाल दुगडजस्ता नवप्रवेशीहरू । ०१९ सालमा पर्वतमा जन्मिएर ०३२ सालमा चितवन झरेका ज्ञवाली ०३८ देखि ४२ सालसम्म भूमिगत रहेर नारायणकाजीको संगठन निर्माणमा होमिए । ०५४ सालमा भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भए । ०७४ सालको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहालसँग प्रतिस्पर्धा गर्दा गडबडी भएको प्रमाणसहित मुद्दा मामिला गर्न पुगे । त्यो प्रकरणमा न्यायाधीश पुरुषोत्तम भण्डारीले हराइदिए । अहिले उनै भण्डारी गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने समितिमा छन् । केही महिनाअघि चितवनमै सम्पन्न महाधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्य चुनिएका ज्ञवालीलाई ओली सरकारले भूमि समस्या समाधान आयोग अध्यक्षको जिम्मेवारी दिएको थियो तर १५ महिनामै हटाइयो । मेयरको उम्मेदवार बनेर हारेका, हार्ने जान्दै जान्दै राष्ट्रियसभामा उठाइएका ज्ञवाली यसलाई अभागसँग दाँज्न नमिल्ने बताउँछन् ।

– हरि गजुरेल

भरतपुर महानगरपालिकाबाट मेयरको दावेदार हुनुहुन्थ्यो तर मैदान सजिलै विजय सुवेदीका लागि छाडिदिनुभयो, मनैदेखि हो ?

– हिजो पार्टीले टिकट दिएको हो । व्यक्ति लडेको होइन । अहिले पनि व्यक्तिगत इच्छा प्रमुख हुँदैन । अहिले सबै पक्ष विचार गरेर उहाँलाई सिफारिस गरिएको हो । पहिला म उम्मेदवार हुँदा पनि उहाँले अपेक्षा गर्नुभएको थियो ।

मैले एकपटक पाएँ, जनताले अनुमोदन ग¥यो । लुटेराहरूले लुटे । म जितेको होइन भन्नेमा कुनै शंका छैन । एकपटक जितेको ठाउँमा किन दोहो¥याउने ? नयाँ साथीलाई त्यही ढंगको सोचसाथ प्रस्ताव गरिएको हो । अहिलेका माओवादी र शेरबहादुर देउवाहरूसहितको राज्यसत्ता मिलेर मलाई हराएका हुन् ।

अहिले गभर्नरमाथि छानबिन गर्न न्यायाधीश पुरुषोत्तम भण्डारीलाई जिम्मेवारी दिइएको छ । यो प्रकरणलाई कसरी लिइरहनुभएको छ ?

– अदालतमाथि अहिले सेटिङको जुन आरोप लागिरहेको छ, यो प्रचण्ड र शेरबहादुर देउवाको कमाल हो । पुरुषोत्तम भण्डारी अर्थमन्त्री जनार्दन शर्माका नातेदार हुन् भनेर दुनियाँलाई थाहा छ । यदि, उनी स्वच्छ, नैतिक न्यायाधीश हुन् भने सरकारमा मेरा मान्छे छन् ।

यो मुद्दा मैले हेर्न मिल्दैन भनेर पन्छिन्थे होलान् । आफैँले नैतिकता देखाउँथे होलान् । नैतिकता अरूका लागि खोज्ने चिज न बनेको छ नेपालमा ! आफ्नै सुरुवाल फुकालेर धोती लगाई हिँड्ने श्रीमान्जीहरू हामीले धेरै ठाउँमा देखिसकेका छौँ ।

तपाईंको मुद्दामा न्यायाधीश पुरुषोत्तम भण्डारीले रेणु दाहाललाई कसरी जिताए ?

– भण्डारी जनार्दन शर्माका नातेदार । त्यतिखेर मुद्दा निर्वाचन आयोगमा हुँदाहुँदै सर्वोच्चबाट भण्डारी श्रीमान्ले मलाई हराइदिए । रेणुलाई जिताए । जनार्दनको सेटिङ थियो त्यो ।

रेणु दाहालको कार्यकाललाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?

– चितवनका सातवटा पालिकामध्ये सरकारको तर्फबाट मूल्यांकन गर्दा सबैभन्दा पहिलोमा खैरेनी नगरपालिका परेको छ । जसको स्रोत–साधन अत्यन्त कमजोर छ । केन्द्रको, स्रोत–साधन र अकुत रकम खन्याउँदा पनि भरतपुर तेस्रो न हो ! यहीँबाट बुझ्न सकिन्छ कि रेणुको कार्यकाल कस्तो रहेछ । मैले भन्दा त प्रतिपक्षीले बोल्यो भन्ने बुझ्लान् ।

तर, नगरपालिकाको इन्डिकेटर नाप्ने सरकारी संस्थाको रिपोर्ट आफैं बोल्छ । उहाँले मैलेजस्तो नमुना काम कसैले गरेको छैन भनेर प्रचार गरिरहनुभएको छ । केमा मोडल ? चितवनमा बाटो बनाएको कुरा गर्ने हो भने २५ वर्षदेखि नै जनश्रमदानमा बाटो बनाउन शुरु भएको हो । अहिले केही कालोपत्रे थपिएको छ । पुल एउटै बन्यो ? बच्चाहरूलाई रिक्रिएसन सेन्टर एउटै बन्यो ? कुनै पार्क बन्यो ? बास्केटमा हालेको ५ सय करोड कसैलाई भाडा, बोका बाँड्ने काममा दुरूपयोग भएको छ । त्यसैलाई विकास ठान्ने हो ?

पाँचदलीय गठबन्धनसँग एमाले एक्लै भिड्न सक्छ त ?

– एमालेलाई ‘अच्छ्युँ खाएँ बच्छ्यु खाएँ झुसे बारुलो’ । यो गठबन्धन ठूलो कुरै होइन । ०७४ मा पनि गठबन्धन थियो । त्यो गठबन्धन गर्दा देवी ज्ञवालीलाई हराउन नसकेपछि मतपत्र च्यातेका होइनन् ? यो गठबन्धन आफैँभित्र कुहिन्छ । महादेवले सतिदेवीको लाश बोकेर हिँड्दा ठाउँ ठाउँमा अंग पतन भएझैँ यो गठबन्धन पनि पालिका पालिकामा पतन हुन्छ । त्यहींबाट विद्रोह हुन्छ । भन्नका लागि गठबन्धन हो तर व्यवहारमा त्यो गठबन्धन हुने स्थिति देख्दिनँ ।

कारण ?

– शेखर कोइरालाहरूले भरतपुर, कञ्चनपुर, विराटनगरमा हामी मिल्दैनौं भनिरहेका छैनन् ? अनि कहाँ हुन्छ यो गठबन्धन ? यो त ‘घ्यु र तरवार बेचुवा’को एकता हो । नीति, कार्यक्रम, सिद्धान्तका लागि भएकै होइन ।

अघिल्लो निर्वाचनजस्तो अवस्थामा एमाले अब छैन । विभाजनको असर निर्वाचनमा देखिएला नि ?

– एमालेसँग प्रचुर जनाधार छ । ०७४ सम्म माओवादीमा लागेका थुप्रै नेता–कार्यकर्ता अहिले एमालेमा प्रवेश गरेका छन् । हिजोको ३० प्रतिशत माओवादी शक्ति एमालेमा प्रवेश गरेको छ । एमालेबाट १० प्रतिशत समाजवादीतिर गएका छन् । बाँकी शक्ति त हामीसँग बढी नै छ । हिजोभन्दा अझै बलियो छ एमाले ।

देशैभर एमालेको पोजिसन कस्तो आकलन गर्नुभएको छ ?

– केपी ओली जहाँ गयो त्यहीं मौरीको रानोभन्दा बढी छ । कुश्मा, खोटाङ, कपिलवस्तु, रौतहट, पर्साको कार्यक्रम हेर्नुहोस् । यही नै एमालेले जित्ने आधार हो । हिजो दुई नम्बर प्रदेशमा हामीलाई प्रवेश निषेध थियो । चाहे जगन्नाथपुरको मेयर हुन् वा आदर्शकोटपाल गाउँपालिकाको वडाध्यक्ष– यस्ता धेरै मेयर, उपमेयर एमालेमा प्रवेश गरिरहेका छन् । यही नै हो नि जित्ने आधार ।

राष्ट्रिय भूमिसम्बन्धी समस्या आयोगको अध्यक्षबाट १५ महिना पनि काम गर्न नपाई बर्खास्तीमा पर्नुभयो । यसलाई कसरी लिनुहुन्छ ?

– जब देवी ज्ञवाली भरतपुरको मेयर जित्दै थियो, त्यतिखेर मतपत्र च्याते । भूमि आयोगले १२ लाख रेकर्ड तयार गरेको थियो त्यसले पुर्जा बाँड्छ भन्ने भएपछि सबैभन्दा पहिला मैमाथि आक्रमण गरे । यो त कायरताको उदाहरण हो । नत्र अहिलेसम्म ३ लाख मान्छेको हातमा पुर्जा बाँडिसकेको हुन्थेँ ।

देवी ज्ञवाली सदैव अभागीजस्तो देखिने । भरतपुरको मेयर, सुकुम्बासी आयोग, पार्टीको जिम्मेवारीदेखि राष्ट्रियसभामा लैजाने चर्चा चलाइयो तर लगिएन नि !

– जीवन संघर्षको अर्को नाम हो । यो पार्टी मेरोलागि मात्र बनेको होइन । त्यसकारण यो अवसर सदैव मलाई मात्र प्राप्त हुनुपर्छ भन्ने होइन । लाखौं कार्यकर्ताबीच अवसर थोरै मात्र हुन्छ । फेरि अरु अवसर आउँछन् । यसलाई कुनै अभाग ठान्नु हुँदैन ।

कम्युनिष्ट आन्दोलनमै लागेर जीवन, जवानी सकाएका तपाईंहरूजस्ताले अवसर नपाउने, नवप्रवेशी, धनाढ्यहरूले पार्टीमा प्रवेश गरेर रातारात अवसर पाउने कुरा कत्तिको राम्रो र जायज हो ?

– कठिन समयमा थोरै मान्छे मात्र कम्युनिष्ट पार्टीमा टिक्न सक्थे । आज अवस्था उस्तै छैन । पार्टीमा लागेबापत अहिले जेल जानुपर्दछ र ? बरु पार्टीमा लाग्दा अवसरहरू पाइन्छ कि भनेर आउनेहरू धेरै छन् । हिजो त्याग र बलिदानकै लागि, कुनै पनि समयमा मर्न सकिन्छ भन्ने जानेरै पार्टीमा लागेका हौँ । अहिले पनि राष्ट्र निर्माणका लागि त्याग जरुरी छ । त्याग कसले गर्ने भन्ने कुरा महत्वपूर्ण हो । पछिल्लो समय आएका मान्छेले त्याग गर्छन् भन्ठान्नु हुँदैन ।

जसले पार्टीको मर्म बुझेका/महसुस गरेका छन् उनीहरूले त्याग गर्नुपर्छ । राजनीतिमा स्वार्थी तत्व, अवसरवादी तत्व त भइहाल्छन् । जहाँ गुलियो हुन्छ झिँगा त त्यहीँ लाग्छ । राजनीतिभित्र यसको मान, प्रतिष्ठा देखिसकेपछि सबै त्याग बलिदान गरेर मात्र आएका छन् भन्ने ठान्नुहुँदैन । अरु ध्येय र गलत मनसायसाथ पनि आउनेहरू छन् । त्यसरी आउनेहरूलाई समयले कमजोर बनाउँदै लैजान्छ ।

नेपालमा कम्युनिष्ट पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ?

– ००६ सालमा कलकत्ताबाट नेपाल कम्युनिष्ट पार्टी जम्मा ४ जनाले बनाएका हुन् । अहिले कम्युनिष्ट पार्टीको एउटा घटक नेकपा एमालेसँग मात्र ११ लाख सदस्य छन् । राष्ट्रियताका नारा, देशभक्तिपूर्ण आन्दोलन, जनजीविकाको सवाल, न्याय र समानताको इस्यु लिएर स्थापित भएका कम्युनिष्ट पार्टी आज कतिपय मुलुकमा विघटित भएको स्थितिमा नेपालमा भविष्य उज्ज्वल छ ।

लेफ्ट पार्टीहरूबीच एकीकरणको आवश्यकता र सम्भावना छ वा छैन ?

– नेताहरूको तहमा टाउको ठोकेर मात्र एकता हुँदो रहेनछ । एकता त विगतमा गरेका हौँ नि ! त्यसले के सिकायो भने नेताहरूको आफ्नो स्वार्थमा धक्का लागेको खण्डमा नीति, सिद्धान्त, कार्यक्रम सबै तिलाञ्जली दिएर लाखापाखा लाग्दा रहेछन् ।

प्रचण्डजीले जिन्दगीभर कांग्रेसको कार्यक्रमको विरोध गर्नुभयो । अहिले स्वार्थको निम्ति मिलेर लड्ने तयारी गर्दै हुनुहुन्छ । हिजो एमालेसँग पनि तालमेल गरेकै हो । अब जनस्तर र कार्यकर्ताको तहबाट एकता गर्ने प्रवृत्ति वा प्रक्रिया शुरु भएको छ । यसलाई जनस्तरबाटै एकीकृत आन्दोलनको रूपमा विकसित गर्दै लैजानुपर्छ ।

हिजोको तिक्ततालाई बिर्सिएर माधव नेपालहरूलाई पार्टी एकताका लागि आह्वान हुनुपर्ने हो कि होइन ?

– माधवजीबाहेकका कार्यकर्तालाई गर्छाैँ र गरिरहेका छौँ पनि ।

देवी ज्ञवालीको आगामी यात्रा के हुन्छ ?

– पार्टी निर्माणको काममा संलग्न हुन चाहन्छु । पार्टी भन्नेबित्तिकै अवसरका लागि मात्र बुझेको नेपाली राजनीतिमा देवी ज्ञवालीहरू अल्टर हुन सक्छन् । पार्टी निर्माण भनेको त्याग, समर्पण, निष्ठा र निरन्तरताको नाम हो ।

त्यो परिवर्तनको यात्रामा देवी ज्ञवाली निरन्तर अगाडि बढिरहन्छ । केही मान्छे लोभी, आकांक्षी होलान् । बीचबीचका एकाध मान्छेलाई हेरेर सबै लोभी छन् भन्ने निश्कर्ष निकालियो भने गलत हुन्छ । टाउकोदेखि तलैसम्म जाँदा जम्मा २ लाखले अवसर पाउलान् । अरु ९ लाखले के पाएका छन् र ?

टिप्पणीहरू