रित्तो खल्ती बोकेर यात्रामा निस्केको छु

रित्तो खल्ती बोकेर यात्रामा निस्केको छु

सन्त कविरले कतै भनेका थिए ‘सबसे बडा है रोग, क्या कहेंगे लोक’ अर्थात् दुनियाँको सबैभन्दा ठूलो रोग नै दुनियाँले के भन्लान् भन्ने सोच हो । म दुनियाँको कुरा होइन आफ्नै अन्तरमनको आवाज सुन्छु र त्यही ढंगले जीवनको रथ अगाडि बढाइरहेको छु ।

एक/दुई पटक मात्र होइन २१ पटकसम्म असफलताले पच्छाइरहेको मान्छे हुँ । लोकसेवामा पटक–पटक असफलता झेल्दा पनि प्रयास जारी राखें, आशा–विश्वास र आफैंप्रति भरोशा पनि थियो एकपटक अवश्य सफल हुनेछु । त्यही कारण त मोडिन जीवनको बाटो, बरु दोब्बर पारें मेहनतलाई ।

निरन्तरको प्रयास, आँट, धैर्यताका कारण हुनुपर्छ २२ औं प्रयासमा लोकसेवाबाट अधिकृतमा नाम निकाल्न सफल भएँ । नेपाल विद्युत् प्राधिकरणमा नाम निकाल्न सफल भएलगत्तै गत कात्तिक ३० गते कालीगण्डकी ए जलविद्युत आयोजनाको प्रशासन प्रमुखमा पदस्थापन भयो । मंसिर १ बाट हाजिर भएँ मुलुकको ठूलो जलविद्युत् परियोजनामा ।

सरकारी सेवामा स्थायी नियुक्ति लिएको वा अधिकृतको जिम्मेवारी सम्हालेको ४ महिना २४ दिनमै विश्राम लिने निर्णयमा पुगेँ । अधिकृत पदबाट राजीनामा ठोकें, यद्यपि राजीनामा स्वीकृत भइसकेको छैन । कार्यालय प्रमुख काठमाडौंमा हुनुहुन्छ, उहाँ आज (चैत ३० ) फर्कनुभएपछि राजीनामा स्वीकृत हुने जानकारीसम्म पाएको छु ।

जिते जनताकाे सपना साकार पारिन्छ हारे कमाएर खान सकिन्छ भनेरै राजीनामा दिएकाे हुँ । कि फूल बनेर फक्रन्छु वा त वासना छरेर सिद्धिन्छु ।

२२ औं प्रयासमा अधिकृततर्फ नाम निकाल्न सफल भएको व्यक्तिले यति छिट्टै किन राजीनामा दिएको भनेर प्रश्न गर्नेहरू छन् । फोनमा, भेटमा धेरैको यही जिज्ञाशा छ । यसरी सरकारी जागिरबाट राजीनामै दिनु थियो भने लोकसेवा किन भिडिरहेको थिइस् ? बौलाइस् कि के हो भनेर प्रश्न तेस्र्याउनेहरू पनि नभएका होइनन् ।

जीवनमा सहज र सजिलो बाटो त जो पनि हिँड्छ/हिँडिरहेकै छ । म भने अप्ठ्यारा बाटोमा हिँड्न रमाउँछु । देश परिवर्तन गर्न युवाहरूले असहज र नयाँ बाटो हिँड्नै पर्छ । सजिलो बाटो हिँडेर पुगिने भनेको उही पुरानै ठाउँमा हो । मैले जीवनमा जहिले पनि फरक बाटो हिँड्न चाहेँ वा रुचाएँ । ऊर्जाशील ९ वर्षको मिहिनेतले २२ औं प्रयासमा अधिकृत बन्न सफल भएको हुँ ।

निजामती अस्पतालमा करार सेवामा लामो समय काम गरेँ । ०६९ सालदेखि खुलेका जति र भ्याएसम्म अधिकृतका सबै फाराम भरेँ । लगातार ९ वर्षसम्म विभिन्न संस्थान र निकायमा परीक्षा दिएँ । कर्मचारी सञ्चयकोष, कृषि सामग्री केन्द्र लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, वायुसेवा निगम, काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड, कर्मचारी सञ्चयकोष, खाद्य संस्थान, गुठी संस्थानसम्म खुलेका जति विज्ञापन कुनै बाँकी राखिन, भ्याएसम्म सबै भिडेँ । ती अधिकांश परीक्षामा प्रारम्भिक परीक्षा उत्तीर्ण हुन्थें अनि दोस्रो चरणमा सधैँ फेल ।

सबथोक खानु तर हरेश नखानु भन्छन् अर्थात् जीवनमा खान नहुने चिज हरेश हो भन्ने वाक्यलाई मूल मन्त्र मानेँ । र, त खुलेजति परीक्षामा भिडिरहें र नौ वर्षपछि दिन फिरेको थियो । महिनाको झण्डै १ लाखबराबर तलब, भत्ता र सुविधा थिएँ । जीवन त गज्जबको थियो । तर, मेरोजस्तै गज्जबको जीवन सर्वसाधारण नेपालीहरूको छ त ? यो प्रश्नले चिमोटिरहन्थ्यो । नेपालमा प्रशासनलाई पनि गाइड गर्छ राजनीतिले । त्यसैले प्रशासक बन्न छाडेर मेरो पाइला राजनीतितिर मोडिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाबाट मेयर पदमा लड्ने उद्देश्यले सरकारी जागिरबाट राजीनामा ठोकेको हुँ । आफ्ना लागि मात्रै गाँस, बास, कपासको जोहो त साधारण मान्छेले पनि गर्दछ । पशुले गाँस आफैं जुटाउँछ । जागिरले मेरो सुविधा पुगेको छ । सामाजिक सुरक्षा सुनिश्चित गराएको छ ।

म चाहन्छु सबैले सरकारी जागिरेको झैं सुरक्षित जीवन महसुस गर्न सकुन् । बनेपामा जन्मिएँ, हुर्किएँ । विद्यालयदेखि विश्वविद्यालय तहसम्म अध्ययनको अनुभव सुखदै रह्यो । सानैदेखि या त प्रशासन कि त राजनीतिमा होमिन्छु र सामाजिक सेवा गर्छु भन्ने थियो । स्थानीय तह यो देशका जग हुन् । बलियो जगले नै घर बलियो बन्ने हो । हिजो परिवर्तनकै लागि लोकसेवा लडेको थिएँ । जतिखेर स्थानीय तह कर्मचारीले चलाउँथे ।

०७४ को स्थानीय निर्वाचनपछि ती तहका कमाण्डर जनप्रतिनिधि बन्न थाले । मेरो सपना र चाहना भनेको बनेपा बदल्ने हो । त्यसका लागि एक जना कर्मचारीभन्दा जनप्रतिनिधिले धेरै ठूलो प्रभाव पार्नसक्छ भन्ने बुझेरै सुरक्षित जागिर छाडेर राजनीतिमा लाग्ने अठोट गरेको हुँ । जोखिम मोलेको छु ।

यो जोखिमपूर्ण बाटो हिँडेर नयाँ ठाउँ, नयाँ गन्तव्य पुग्ने तयारी आजको होइन धेरै वर्षअगाडिको हो । घर परिवारसँग सल्लाह गरें, आफ्नो सपना नमार्नुस् भन्ने सल्लाह र हौसला मिलेपछि यात्रा मोडिएको हो । सपनालाई मारेर मन नलागीनलागी सरकारी जागिर खाएँ भने राम्रो गर्न सक्दिनँ र समयमा निर्णय पनि गर्न सक्दिनँ ।

जीवनभर यसमा खास मज्जा आउँदैन । अहिले उम्मेदवारी दिँदै गर्दा एउटा प्रयास त गरेको हो नि भन्ने त हुन्छ नि ! जिते जनताको सपना साकार पारिन्छ हारे कमाएर खान सकिन्छ, पेट पाल्न सकिन्छ भनेरै राजीनामा दिएको हुँ । अब फर्कने कुरै छैन ! कि फूल बनेर फक्रन्छु वा त वासना छरेर सिद्धिन्छु ।

बनेपा बदल्नका लागि एक अवसर, एकपटकको लागि मात्र । म आफू पनि लिन चाहन्छु । बनेपावासी जनताका लागि पनि दिन चाहन्छु । इमान्दारीले कमाएको पैसा कसैले पनि फजुल खर्च गर्न सक्दैन । फेरि उम्मेदवार कस्तो हुनुपर्छ भन्ने कुरा समाजलाई सिकाउनु पनि त छ । मसँग प्रचार प्रसार गर्ने पैसा छैन । रित्तो खल्ती बोकेर चुनाव लड्न निस्केको छु ।

– कञ्चनराज गिरी

टिप्पणीहरू