सम्राटलाई रिंगाउने कामुक सुन्दरी

सम्राटलाई रिंगाउने कामुक सुन्दरी

क्लाउडियस रोमन साम्राज्यका चौथो सम्राट हुन् । क्यालिगुलाको हत्यापछि गद्दीसिन बनेका थिए । नातामा क्यालिगुला क्लाउडियसका भतिज, दाजुको छोरा । क्लाउडियस युवती भनेपछि हुरुक्कै हुने । धेरैसँग यौन सम्बन्ध जोडे । सानैमा बहिनी पर्ने एमिलिया लेपीडासँग बिहे हुने भयो तर राजनीतिक कारणले उक्त सम्बन्ध जोडिन पाएन । १८ वर्षको उमेरमा प्लाउसिया उर्गुलानिल्लासँग बिहे गरे ।

प्लाउसिया एक छोराको आमा बनिन् तर उनको एक अर्कै सिपाहीसँग पनि सम्बन्ध रहेको जानकारी पाएपछि दाम्पत्य जीवन खल्लो बन्यो । क्लाउडियस नारीको सामीप्यबिना चल्नै नसक्ने स्वभावका थिए, त्यसैले लिभिया मेदुलिना क्यामिलासँग बिहे गर्ने भए । तर, सन् १० मा बिहेकै दिन क्यामिलाको मृत्यु भयो । उनी त्यो बेला मात्र १५ वर्षकी थिइन् । प्लाउसियाको सम्बन्धमा सुधार नआएपछि सन् २४ मा सम्बन्धविच्छेद गरेर एइलिया पेसिनासित बिहे गरे । एइलियाले उनलाई एउटी छोरीको बाबु बनाइदिइन् । तर, केही समयमै दुई परिवारबीच राजनीतिक खिचातानी चल्यो । र, अन्त्यमा सम्बन्धविच्छेद गरी क्लाउडियसले छुटकारा पाए ।

क्लाउडियस केहीसमय चुप लागेर बसे र एकैचोटि सन् ३८ मा वैलोरिया मेसेलिनासँग बिहे गर्न पुगे । नातामा बहिनी पर्ने मेसेलिना १८ वर्षकी थिइन् । रोमको बदनाम र पुरुषकामी महिला डोमिसिया लेपीडाकी पुत्री । लेपीडा समाजको कुनै आचारसंहितालाई मान्दैनथिन् । नैतिकतामाथि हाँसो गर्थिन् । सधैँ अभिनेता, खेलाडी, कलाकारसँग टाँसिएर बस्न रुचाउँथिन् । छोरीको कुनै परवाह नै गर्दिन थिइन् । यहाँसम्म कि तरुनी छोरीकै अगाडि परपुरुषलाई अंगालो हालेर शयनकक्षमा पस्थिन् । इतिहासकारहरूका अनुसार आफ्नै सहोदर दाजुसँग पनि खुलेआम सम्बन्ध राख्ने गरेकी थिइन् । मेसेलिना आमाको त्यसप्रकारको उठबसकैबीच हुर्केकी युवती हुन् ।

लेपीडालाई क्लाउडियस सम्राट्् बन्छन् भन्ने थाहा थियो । त्यसैले छोरीलाई क्लाउडियसको महारानी बनाई रजगज गर्ने सपना बुन्न थालिन् । त्यसैले मेसेलिनालाई दरबार लिएर गइन् । ४८ वर्षको भइसकेका क्लाउडियसले देख्नेबित्तिकै कामुक स्वभावकी मेसेलिनालाई मन पराए । र, बिहेको प्रस्ताव राखे । लेपीडा यही चाहन्थिन् । आमा लेपीडा जत्तिकै अत्यन्त कामुक मेसेलिनाले बिहे गरेको १० महिनामै छोरी, अक्टोभिया र अर्को वर्ष छोरा वृतानिकसलाई जन्माइन् । स्मरणीय छ, अक्टोभिया पछि रोम शहरमा आगलागी हुँदा आनन्दले बाँसुरी बजाई बस्ने सम्राट्् निरोको पत्नी बनिन् । निरो नातामा अक्टोभियाको सौतेनी भाइ पनि हुन् ।

लेपीडाले जे चाहेका थिए, त्यही भयो । क्लाउडियस र मेसेलिनाको बिहे भएको ठीक ३ वर्षपछि सम्राट्् क्यालिगुल्लाको हत्या भयो र क्लाउडियस नयाँ सम्राट् बने । क्लाउडियस विनम्र र डरछेरुवा स्वभावका थिए । पुरुषोचित गुणको अभाव थियो । मदिरापानमा लठ्ठिँदै रानी र दासीहरूसँग रमाउनु, पाहुना बोलाएर ख्वाउन र शिकार खेल्न शोख थियो उनको । उनले दैनिक ६ सयलाई बोलाएर ख्वाउँथे । रोमका राजनीतिज्ञ र कुलिन घरानाका व्यक्तिले क्यालिगुल्लाजस्तो मदिरामा चूर भई नागरिक अधिकार हनन् गर्ने अर्को राजाले शासन नगरुन् भन्ने हेतुले बिनम्र र दयालु स्वभावका क्लाउडियसलाई गद्दीमा बसालेका थिए ।

क्लाउडियसको यिनै बिनम्रता र दयालुपनाबाट लेपीडा र मेसेलिनाले भरपुर फाइदा उठाए । राज्यशक्ति हातमा लिए । एकातिर उनीहरूले जनतालाई अत्यधिक स्वतन्त्रता प्रदान गरे भने अर्कोतर्फ विरोधीलाई पन्छाउन थाले । मेसेलिनाले मुख्यत तीनतिर बढी ध्यान केन्द्रित पारिन्, राजपरिवारको सदस्यतर्फ, संसद्का सदस्यहरूतर्फ र आफ्नो विवाहत्तेर यौन सम्बन्धतर्फ । उनको अत्याचारको शिकार बढी राजपरिवारभित्रका महिला सदस्य र नातेदार बने ।

जुलिया लिभिया क्लाउडियसकी भाञ्जी थिइन् । क्यालिगुल्लाको देश निकालामा परेकी उनलाई क्लाउडियसले देशमा छिर्न दिए । तर, आफ्नो लोग्नेलाई चरित्रहीन बनाउने कोसिस गरेको आरोपमा मेसेलिनाले पुनः देश निकाला गरिदिइन् । र, सिमानामा पुग्नेबित्तिकै हत्या गर्न लगाइन् । यथार्थमा जुलिया आफ्नो सौता बन्ने डर उनमा थियो । त्यसैगरी, आफ्नै शिक्षकलाई पनि देश निकाला गरिदिइन् । यति गर्दा पनि कतैबाट विरोधको स्वर सुन्नु नपरेपछि उनमा हौसला बढ्यो । उनी झन् निरंकुश बन्दै गइन् । जथाभावी पक्राउ, जबर्जस्ती सम्पत्ति जफतको आदेश दिन थालिन् ।

बूढा क्लाउडियस मेसेलिनाको यौन भोक शान्त पार्न अक्षम भइसकेका थिए जबकि मेसेलिना सामान्य स्त्री थिइनन् । उनमा चरम यौनभोक लाग्थ्यो । सामान्य पुरुष त के दुई चार जनाबाट समेत यौनभोक शान्त हुन्नथ्यो । त्यसैले क्लाउडियसलाई थाहै नदिई योग्य र सक्षम पुरुष खोज्न थालिन् । यो मामिलामा दर्जाको कुनै भेदभाव गर्दैनथिन् । नोकर हुन् वा सामान्य सिपाही जोसुकैसित सम्बन्ध राख्न थालिन् । यतिसम्म कि दरबारभित्र उनले खोजेजस्तो पुरुषपात्र फेला नपरेपछि गरिब महिलाको भेष धारण गरी सुटुक्क बाहिर जान थालिन् । कुनै न कुनै मदिरालय पुग्थिन् । त्यसबेलाको रोमको मदिरालय एकप्रकारले वेश्यालय हुन्थ्यो ।

युवतीहरू होचो स्टुलमा नांगै लाइन बसेर ग्राहकको प्रतिक्षामा बसिराखेका हुन्थे । मेसेलिना पनि त्यहाँ पुगेपछि पुरानो र च्यातिएको लुगा फाल्थिन् र नग्न भई अरुसरह बस्थिन् । यौनभोक मेटाउन त्यहाँ पुग्ने पुरुषको अगाडि अश्लील इशारा गर्थिन्, जबर्जस्ती अँगालो हाल्न पुग्थिन् । ग्राहक उनको अश्लिल कार्यबाट उत्तेजित हुन्थे र उनलाई शयनकक्ष लान्थे । मेसेलिनाले रोम शहरमा लामो समयसम्म ’शिलिस्का’ नाउँबाट वेश्यावृत्तिमा प्रख्याति कमाइन् । पछि उनले दरबारभित्रै वेश्यालय खोलिन् र मुलुकको विभिन्न स्थानबाट वलिष्ठ पुरुष ल्याएर यौनभोक मेटाउन थालिन् ।

अचम्मको कुरा उनले दरबारभित्रै खोलेको वेश्यालयबाहिर उनको नेमप्लेट झुण्डिएको हुन्थ्यो, यसको बावजुद सम्राट् क्लाउडियसको कानमा भनकसम्म लागेन । किनभने वेश्यालय दरबार पछिल्तिरको भागमा थियो, त्यहाँ क्लाउडियस कहिल्यै जाँदैनथे । मेसेलिना जव गलत आदेशपत्रमा हस्ताक्षर गराउन चाहन्थिन्, दुई–चार दिन क्लाउडियसको वरिपरि घुम्थिन्, यौनभोक शान्त पार्न कोशिस गर्थिन् । र, सम्राट्ले राजादेशमा हस्ताक्षर गरिसकेपछि कैयौं दिनसम्म अगाडि देखासम्म पर्दैनथिन् ।

मेसेलिना अतिकामुक मात्र होइन, एकैरात धेरैभन्दा धेरै पुरुषसँग सम्बन्ध राख्न सक्षम छिन् भन्ने इतिहासकारले दिने गरेको एउटा उदाहरणतः एकदिन रोमको चर्चित वेश्या सिसिलियासँग बाजी थापिन् अर्थात् प्रतियोगिता गर्न चाहिन् । उनले सिसिलियालाई भनिन्, ‘२४ घण्टाभित्र कसले कतिजना पुरुषको यौनभोक मेटाउन सक्छ हेर् ।’ उक्त प्रतियोगिता उनैले जितिन् । त्यो दिन उनले २४ घण्टाभित्र २५ जना पुरुषलाई यौन सन्तुष्टि प्रदान गरेकी थिइन् ।

एकजना सिनेटर सिलेयिसले जनतामाथि अनियन्त्रित करको भार थोपरेको भन्दै यसको जिम्मेदार मेसेलिना भएको आरोप लगाए । मेसेलिनाले केही दिनभित्रै सिलेयिसलाई आफ्नो बसमा पारिन् । र, चरित्रहीन बनाएरै छाडिन् । यहाँसम्म कि क्लाउडियसको अनुपस्थितिमा उनीसित बिहेसमेत गरिन् । यसबीच नार्सिसस नाउँ गरेको एकजना मुक्तदास सम्राट्को परमर्शदातामा नियुक्त भए । उनले मेसेलिनाले हत्या गर्ने षड्यन्त्र बुनिरहेको खबर सम्राट्लाई दिए । त्यसैले नगरमा प्रवेश गर्नेबित्तिकै प्राणदण्ड दिन सल्लाह दिए । तर, क्लाउडियसको सबैभन्दा कमजोरी भनेको मेसेलिना नै थिइन् । उनी आफ्नी स्वास्नीलाई औधी माया र विश्वास गर्थे । त्यसैले मार्ने आदेश दिन आनाकानी गरे ।

मेसेलिनाले आफ्नै सौतेनो पिता एप्पिउस सिलानुससँग पनि सम्बन्ध राख्न चाहेकी थिइन् । सिलानुस हृष्टपुष्ट आकर्षक पुरुष थिए । तर, सिलानुस मेसेलिनालाई छोरी सम्झन्थे । यो कुरोबाट मेसेलिना क्रुद्ध बनिन् । सम्राट्को तर्फबाट राजाज्ञा जारी गरी प्राणदण्ड दिन लगाइन् । सिलानुस लेपीडाकी तेस्रो लोग्ने र हिस्पानिया ताराकोन्सिस प्रान्तका गभर्नर थिए । रोमका चर्चित नर्तक नेस्टरमाथि पनि आँखा लगाएकी थिइन् ।

नेस्टरको डर थियो कि सम्राट्ले महारानीको शयनकक्षमा आफूलाई देख्यो भने के गर्ने ! मेसेलिनाले नेस्टरको यो अप्ठ्यारोलाई पनि फुकाइदिइन् । सम्राट्बाट उनै नेस्टरको नाउँमा एउटा आदेश जारी गर्न लगाइन् कि हरेक दिन बिहान महारानीको शयनकक्षमा पुगेर आफ्नो कला प्रदर्शन गरुन् । मेसेलिनाले जे चाहन्थिन् त्यही भयो ।

सन् ४८ मा क्लाउडियस रोम बाहिर थिए । नयाँ बन्दरगाह निर्माण हुँदै गरेको अवलोकन गर्न ओस्टिया पुगेका थिए । सत्ता र यौन उन्मादले मदमस्त भएकी मेसेलिनाले मौकाको लाभ उठाएर आफ्ना पुराना प्रेमी गाइस सिलिउससँग बिहे गरिन् त्यो पनि सार्वजनिक समारोहमै । उनी क्लाउडियसको हत्या गरी सिलिउसलाई राजा बनाउने र आफ्ना छोरा बृतानिकसलाई गद्दीको उत्तराधिकारी घोषणा गर्न चाहन्थिन् । सिलिउस पनि बृतानिकसलाई छोरा मान्न तयार भैसकेका थिए । तर, षड्यन्त्र सफल भएन । क्लाउडियस षड्यन्त्रको गन्ध पाउनेबित्तिकै रोम फर्के, मेसेलिना र सिलिउस दुबैलाई खोजेर मार्न आदेश दिए ।

मेसेलिना भागेर आमाको घरमा शरण लिन पुगिन् । इतिहासकारहरू मेसेलिनाको मृत्युबारे फरकफरक धारणा राख्छन् । कसैकसैले आफूलाई मार्न आएका सेना नजिक पुगेपछि आफैँले आफ्नो गर्धन छिनालेर आत्महत्या गरेको दाबी गर्छन् भने कसैकसैले सेनाको हातबाट मारिएको भन्ने गर्छन् । यसअघि सेनाले लिलिउसको पनि हत्या गरिसकेका थिए । क्लाउडियसले मेसेलिनापछि जुलिया एगृपिनासँग बिहे गरे । उनको हत्या सन् ५४ मा विष सेवनबाट हुँदा ६४ वर्षका थिए ।

टिप्पणीहरू