भारतमा कोरोना संक्रमण बढ्यो, नेपालमा चिन्ता थपियो

भारतमा कोरोना संक्रमण बढ्यो, नेपालमा चिन्ता थपियो

छिमेकी मुलुक भारतमा केही दिनयता कोरोना संक्रमणदर बढेको छ । केही महिनादेखि मत्थर हुँदै आएको महामारीले भारतमा पुनः तहल्का मच्चाउने आशंका गर्न थालिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ एघार सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणको कारण चार जनाको निधन भएको छ । भारतमा अझै ११ हजार पाँच सय ८८ सक्रिय संक्रमित छन् । पछिल्ला केही दिनको तथ्याङ्कलाई केलाउँदा कोरोनाले भारतमा पुनः भयावह अवस्था ल्याउन सक्ने आकलन गर्न थालिएको छ ।

अस्ति नौ सय ७५ जनामा संक्रमण देखिएको थियो । भारतमा अप्रत्याशित तवरले बढेको संक्रमणले नेपालमा पनि असर पार्नसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । खुल्ला सीमानाका कारण फेरि पनि नेपालमा समेत कोरोना संक्रमण बढ्ने सम्भावना देखिएको हो ।

यसअघिका लहरमा पनि सीमानाबाट भएका बिना रोकतोक ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिएको थियो । हेल्थ डेस्कहरु प्रभावकारी हुन नसक्दा कोेरोनाले पहिलो र दोस्रो लहरमा भयावह अवस्था ल्याएको थियो । स्थानीयस्तरमा व्यवस्थित क्वारेन्टिन र आइसोलेसन नहुनु पनि त्यतिखेर हाम्रासामु ठूलो चुनौती बनेको थियो ।

भारतबाट भित्रिने सबैलाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरिए पनि त्यसले कुनै प्रभाव पार्न सकेको थिएन । सीमानामा द्रुत परीक्षण र भेरिएन्ट पहिचान प्रणालीको विकास गर्न नसक्दा कोरोना संक्रमणको अवस्था भयावह भएको हो ।

पहिले भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा तीव्रता बढाउन नसक्दा यहाँको अवस्था जटिल बनेको सबैको बुझाइ छ । अक्सिजन र अस्पतालमा बेड नपाएर भुईंमै उपचार गर्नुपर्ने बाध्यता आएको थियो । त्यतिबेला भारतबाट आएकासँगै भित्रिएको कोरोनाले उपत्यकालाई हटस्पट बनाइदिएको थियो । बेलैमा सचेतना नअपनाउने हो भने आगामी दिनमा पुनः त्यस्तै अवस्था भोग्न नपर्ला भन्न सकिँदैन ।

टिप्पणीहरू