अनौठो परम्परा : जहाँ हुन्छ घरको विवाह

अनौठो परम्परा : जहाँ हुन्छ घरको विवाह

मानिसको विवाह हुनु सामान्य र एकहदसम्म अनिवार्य विषय पनि हो । तर, दैलेखमा घरको विवाह गरिएको छ । स्थानीय संस्कृतिअनुसार दैलेखको ठाटीकाँध गाउँपालिका-१ स्थित एउटा घरको विवाह भएको हो । घरको विवाह गरिएको तस्बिर सामाजिक सञ्जालमा छताछुल्ल छ ।

मानिसको जस्तै विधि पुर्याएर घरको बिहे गरिएको छ । आँगनमा राखिएको मण्डपलाई घरका सबै मानिसले पूजा गर्नुपर्ने चलनअनुसार धागोमा आँप र पिपलको पात घरको बीच भागमा राखेर विवाह गरिएको हो ।

घर अगाडिको आँगनदेखि धुरीसम्म सेतो कपडामुनि घर धनीलाई राखेर माथिबाट मिस्त्रीले पानी खन्याउँदै घरको विवाह गरिएको स्थानीयको भनाइ छ । घरको वरिपरि सेतो कमेरो र रातो माटोले पोत्न पनि यो परम्परा सम्पन्न हुनुपर्ने उनीहरुको बुझाई छ । यस प्रकारको विवाहलाई पछेटा भनिने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जनआस्थालाई बताउनुभयो ।

शाहीका अनुसार घरलाई शुद्ध बनाउन यो परम्परा अपनाइन्छ । ‘यस विषयमा म पनि त्यति पोख्त छैन तर, बोका काटेर सबैलाई भतेर लगाउने, बाहुन बोलाएर पूजा गर्ने, घरको धुरीमा सिउँडी र त्रिशुल राख्नेलगायतका कार्य गरिन्छ,’ अध्यक्ष शाहीको भनाइ हो यो ।

टिप्पणीहरू